डा. बमबहादुर जितालीहनुमान गाथा
अपार गाथा गाउन सक्ने पुजारी तिमी हौ चौबीसै घन्टा चाकडी गर्न तयारी तिमी छौ । चालीसभन्दा बढी छन् तिमा घतिला उखान हे हनुमान सकिन्न तिम्रो गरेर बखान ॥
डा. बमबहादुर जिताली :
गर्दथ्याै सेवा है हनुमान, राम र सीताको
तिमीले सेवा गर्दछौ ऐले वा-नर नेताको ।
छत्तीसपल्ट छानामा चढी आवाज उठायौ
वानर भेला विशाल पार्याै दानव जुटायौ ॥
सुग्रीव-सेना भएर जम्मा त्यो लाखुटारमा
विचित्र लीला देखाइदियौ त्यो शुक्रवारमा-
लौ भन कति पायौ त भत्ता सुग्रीव- हातको
लौ भन कति धोक्यौ त सुरा जर्मन-जातको ?
राणाको अघि चाकडी गर्थ्यौ धनुझैं नुगेर
पञ्चको पनि चाप्लुसी गर्यै घरैमा पुगेर ।
कृष्णको सेवा- ससार गर्थ्यौ भक्तिका रसमा
सुग्रीव सेवा गर्दछौ ऐले शक्तिका वशमा ॥
चाकडीमाथि चाप्लुसी गर्न परेनौ पछाडि
जुनसुकै तन्त्र आउँदा पनि तिमी छौ अगाडि ।
सशीलदेखि विद्रोहीसम्म चरित्र हजार
हे हनुमान । तिसै छन् दिन, तिम्रै छ बजार ॥
काँचुली फेर्दै खेल्दछौ तिमी नौटङ्की नाटक
तीनछक पर्छन् नाटक हेर्ने, नेपाली पाठक ।
महिमा तिम्रो को लेख्न सक्ने महङ्गी बढ्दो छ
नेपाली जन जीवन-धन, महिमा गड्दो छ ॥
अपार गाथा गाउन सक्ने पुजारी तिमी हौ
चौबीसै घन्टा चाकडी गर्न तयारी तिमी छौ ।
चालीसभन्दा बढी छन् तिमा घतिला उखान
हे हनुमान सकिन्न तिम्रो गरेर बखान ॥
०००
मधुपर्क (२०६४ जेठ)
Subscribe
Login
0 Comments
Oldest






































