साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

तर म भने बृहस्पति (गुरु) बारको गुरुरस गुरुप्रसाद मैनालीले सखाप पारिदिएको झोंकमा बाँकी रहेको शनिबार अगाडिको शुक्ररस पिएर मस्त हुँदै खर्पन बोकेर स्वयम्भूतिर भोज खान हिँडिसकेको बेला परेछ।

Nepal Telecom ad

गोपालराज मैनाली (चङ्खे) :

प्रिय कलियुगज्यू,
नमस्ते !

हिजोआज त जताततै कलियुग व्याप्त भएको देख्नु खुसी लाग्यो । मैले पनि सत्ययुगको दाह्री काटेर त्यतै भरना हुने त भनी विचार गर्ने विचारले अचार (रचनाहरू) तयार पारेको छु, पठाउने नै छु। पाठक प्रतिक्रियाको स्तम्भ नराख्नु भएकोमा धिक्कार दिँदा मक्कार त म हैन तापनि अलिकति त दिऊँ कि ? व्यहोरा लेखी उचित निर्णय लिनुपर्ने देखी पेश गरेको छु, श्रीमान्। जो निगाहा, जो आदेश, जो हुकुम। कलियुग मैले किनेर हैन मागेर पढेको हुँ। जागेर पढेको हुँ, भागेर पढेको हुँ। हास्यव्यङ्ग्यतर्फ यसले निकै लछारपाटाे लाउने देखेको हुँ, त्यसैले यो दरखास्त लेखेको हुँ। हिजोआज लेखकहरू आफूलाई देखकहरूभन्दा निकै ठूला, काम गरी खानमा लूला सम्झेर मै हुँ भनेर हिँड्छन्, मत बरु तै हुँ भनेर दौडन्छु।

लेकिन, बटु किन्तु, परन्तु तर मेरा अचारहरूको पारिश्रमिक नदिने गर्नुहुन के रे भन्देखि चाइने सविनय लम्पसार परे साष्यङ्ग प्रणाम गर्दै रु.१/-को टिकट नटाँसी यो निवेदन पेश गर्न जाउलो खाएर जाउलाखेलसम्म आएको छु साछी फड्के किनारामा सदर, जो हुकुम। तर यो काम तुरुन्तै नगरी तारेख दिनुहोला। किनभने अदालती बन्दोबस्तको अइजन हो कि उइजन दफामा लेखियाअनुसार धुनीनेल ठोकी पुर्पच्छे गर्नुपर्नेबाहेक अरू झगडियालाई तारेखमा राखी कारबाई गर्नुपर्छ, तारेख नदिए बात लाग्छ। दाहिने औंलाको बूढी औंला भए बूढी औंलाले र सो नभए देने खुट्टाको कान्छी औंलाको लिखित सही छाप, दस्तखत, एघार तखत, बाइ तखत, एक हजार आठ महाप्रभुको महास्वर्गीय (मृत) तखत दायाँ-बायाँ गरी पूर्व, पच्छिम उत्तर जो हो केरे दक्खिन चारै दिशा ढाकेर कोदोबारीमा मकैको बोट समातेर दिसा गर्दै हाम्रो निदारमा भाग्यचक्र कोरेर दुःख दिने स्वर्गको तातो न  छारो महिनाको रु.८५/- (यो महँगीमा) तलब खाएर पनि आर्मस्ट्रङ (Arm Strong) ले पनि जुत्ता लाएर टेकेको चन्द्रमालाई सञ्चय कोष सापटी र तेजारथ झिकेर पुर्ने र नपुर्नेको पूजा लाउने बहिदारले पावरदार चश्मा किन्न हविगत नपुग्ने हुनाले एकादशीको बर्त बस उठ गरी गाईजात्रा र अप्रिलफुलमा कुखुराको फुल र दूध मात्र खाएर, भगटेको बोक्रा प्वाल पारेको चश्मा लाएर, एक्कासि झल्याँस्स भएर बयासी र बीस गजलको पस्तोक नगाएर, चारैसुर नगाएर, लसुन, प्याज, स्याज, ढ्याके व्याज, रक्सी, चाक्सी (नत्र बोक्सी लाग्छ) नखाएर साठीहरूको साठमा बस्यार हजुरको चाइने यो दरखास्त परी पधाउँनु होला नट्र मैले खप्पर फुल्ने गरी डप्पर डियेर ल्याउँछु।

गृह मन्त्रालय, पानी अड्डा, तेजारथ सापती बनाउने अड्डा, कौसीतोपाखाना, बुइँगल कोसाखाना, भण्डार मासे तहवील, तहवील मासे भण्डार, कुमारीचोक, इन्द्रचोक, प्राइमरी स्कुल, नयाँ संसार कोठेपद पहेली शाखा, व्याकरण रेख असामयिक उल्लङ्घन, गतिशील, अगतिशील, दुर्गतिशील, प्रगतिशील, आलो माछाको शील, कालो माछाको शील, पञ्चशील, महालेखा, मुख्य लेखा, आन्तरिक लेखा परीक्षण शाखा, अणुबम गुप्त रूपले परीक्षण शाखा, इन्फ्लुएन्स र घमण्ड प्रसार विभाग, भोक र गरिबी प्रसार विभाग, यौन प्रचार विभाग, गुणात्मक वृद्धि हर्ष विश्वविद्यालय, जुडो र कराँते प्रशासन महाविद्यालय, खल्ती सायसाट वाणिज्य शास्त्रालय, धनवान् डाइबिटिज र मधुमेह निवारण अस्पताल, गरिबलाई सिट छैन शाखा, घुइँचो दुई घण्टे बस सर्भिस अधिकृत, पादको भारी अधिकारीको कार्यालय हिमालय, तार्ने अड्डा, झार्ने अड्डा, फुल पार्ने अड्डा, मार्ने अड्डा, कुकुरलाई मूर्छा मात्रै पार्ने अड्डा समेतमा भद्दा किसिमले जो हो हजुरको त्यै किसिमको के रे भन्देखि परिपत्र भैसकेको छ।

कलियुगको असामयिक सुस‌ङ्कलनले त्यत्रो दिग्विजयपछि जम्बुद्वीपमा समेत कब्जा गरेर पनि छैटौँ उल्लङ्घनको बेला वैशाख मासको लगनमा लगनखेलतिर घुम्न जाँदा ब्लक नम्बर २०२८ सालको कोतपर्वदेखि डराएर ढोका बाहिरै जस्केलामा विचित्रकार पाँडेज्यू (प्रिय, नरिसाउनुहोला, यो त हाँस्नका लागि मात्रै हो झगडा गर्न र रुन हैन) टुपीलाई टाेपीले छोपेर पुच्छर ठाडो पार्दै पिंजरामा लुक्नुभएछ। त्यो घोडेजात्रा देख्नासाथ कलियुग शाखाका थापाज्यूले झापातर्फ टेलिग्राम गर्नेबारे टाइप गराउन खोज्दा टाइप त टंकणलिपि भैसकेछ, हे नारान् । के फसाद यो । भनेर दुःख भुल्नका लागि एक पेग सोमरस, एक पेग मंगलरस र एक पेग बुधरस टोपी र खल्तीमा राखेको नेपाली कागतको पुरिया भनूँ डिस्टिलरीबाट फुत्त झिकेर लुत्त घुड्क्याउँन खोज्दा सुत्त लाएर हजुरको के रे भन्देखि जो हो चाइने नचाइने मंगल र बुधरस त चलानी शाखाका खत्री र श्रेष्ठले उडाइदिएछन्, भैरव अर्यालज्यूले ‘उडाइदिनुसँग’ रकेट उडाएजस्तै र लागेको सुरमा बेसुर भएर देवासुरले सत्य युगमा तेलमा पखालेर पानीमा तारेर खाने गरेको चमसुर सम्झदै थापागाउँ र चापागाउँतिर हावा खाऊँ भनेर ट्याक्सीमा चढेर हिँडेछन् । हुन त ट्याक्सीमा पैसा तिरेर ड्राइभर (आधुनिक यन्त्र वाहन शीघ्र गति प्रदाता) मा चढेपछि किन हिँड्नुपर्थ्यो ? तर रस लागेपछि कसैका बाजे अथवा बज्यैको केही लाग्दो रहेनछ भन्ने कुरा पाँडे-पुराणको चन्द्रावती र नवराजको अध्यायबाट बुझिन्छ । अनि बुझिलिएको भर्पाई पनि धरोधर्म तुरुन्तै दिइन्छ विना कामले भित्र पस्न मनाही छ।

अब बिचरा कलियुगका चरा थापाजीलाई पो आपत् छाँगाबाट खसेझै, मनहराले मन हराएर बगाउँदा कराएझै अथवा छानाबाट बार्दलीमा खसेजस्तो चै भएर ल्याएछ र पिंजराबाट पाँडेजीलाई दयनीय कानले हेर्दै, गुनासो आँखाले सुन्दै नाकले बोल्न थाल्नुभएछ सोमरसको सुरमा- “कान्छीको रेलिमै फेसनै राम्रो, पटुकीमा रेलिमै जुम्रा हिँडेको” कसै गरे पनि मनमा शान्ति भएनछ, थापाजीलाई बिचरा जे भए पनि भक्ति थापा, माथवर सिंह थापा, भीमसेन थापा, अर्जुन थापाजस्ता वीर बहादुर थापाका सन्तान आफ्नै छैटौँ उल्लङ्घनको कोतपर्वले आफैँ छक्क परेर छ पैसा, पक्क परेर पाँच पैसा र दङ्ग परेर दश पैसा तिर्ने अवस्थामा प्राप्त भए, धन्य कलियुगको विडम्बना !

त्यसैबेला एउटा चटकी पनि आफ्नो चटक देखाएर राजनैतिक र कूटनैतिक प्रभाव जावलाखेलमा पार्न भीड खोज्दै त्यतै आइपुगेछ। चटकीहरूले मौका छोप्ने ढकनी र बिर्को लिएर हिँड्ने नै यस्तै पर्व पर्वमा न हो। उता पिंजरामा पाँडेज्यूको हालत झन् झन् खराब हुँदै थियो, यता थापाजी चटकमा मस्त…। चटकको अन्त्यमा झन् छक्क पार्न चटकीले ‘सिगरेटी खान्छौ कि थापा दाइ चाँदीको कुल्पीमा’ भन्ने मन्त्र पढ्दै फुकेर एउटा सिन्को जस्केलाको बायाँपट्टि पछारेछ र त्यहाँ एउटा बम्बई आँपको कोयो फुटेर टुसाउँदै दुई मिनेटभित्र हजुरको आँपको रुख तयार भएछ र भन्नु होला, तीनवटा पाकेको आँप पनि फलेछन्। यो देखेर पिंजराका पाँडे छटपटाउन थालिहाले, उनका आँखा तिनै आँपमा टिकेका थिए एकटक लगाएर । आफू पिंजरामा, भाग्य बाहिरपट्टि बोटमा …..। बिचरा लोभले मुखबाट राल चुहिएर लुमारले पुछ्‌नुपर्ने भैसकेको थियो। जे होस्, यता चटकीको पारिश्रमिक माग्ने पालो आयो। थापाजीले यसलाई टिडिक नलगाई भएन भन्ने ठानेर ‘पछि कलियुग बेचेर पैसा आइपुगेपछि लिन आउनु’ भनेर पठाइदिनुभएछ ।

म (चतुरे) र थापाजीको पुरानो चिनापर्ची छ भन्दा तपाईंहरूले नपत्याएकोमा मलाई आश्चर्य लाग्दैन किनभने यो धेरै पुरानो ऐतिहासिक कुरा हो । त्यसबेलाको कुरा सुन्यो भने अहिले तपाईंहरू बौलाउनुहुनेछ र यहाँ पागलखाना नभएकाले समस्या पर्नेछ। मैकहाँ राख्न पनि हिजोआज भरिभराउ भैराखेको हुँदा नै ठाउँ छैन। हाम्रा पालामा चार पैसाको सुपारी किन्दा दुई जनालाई भारी पुग्थ्यो, एक धार्नी घिउ किन्दा कपआधी तेल फोसा आउँथ्यो, बीसौटा रुपियाँ लिएर हिँड्‌यो भने इन्द्रचोक, असनजस्ता ठाउँमा दुईचार बिगाहा जग्गा किनिन्थ्यो। छ्यसट्ठी सालमा म अमिनीको हाकिम भएर बाँसखर्कको बाटो नर्कटियागन्ज जाँदा घोडा चढेर गएको थिएँ। हात बढाउनका निम्ति बागबजारको स्यालसिं नेपाली र डिल्लीबजारको दुइटा सिल्लीलाई साथ लिएर बानेश्वरको देवलेश्वर जैसीलाई सात दिनपछि आउनू भन्ने खबर छोडेर थापाजीलाई जागिर दिएर मैले लगेको थिएँजस्तो लाग्छ । थापाजी मधेशतिरबाट आउँदा मलाई यद्यपि वीरगन्जे-भ्यान्टा कोसेली ल्याइदिँदै हुनुहुन्छ।

उही पुरानो नाताले कुर्कुऱ्याएर थापाजीले मलाई आफ्नो विपत्‌को बेला सलाईको बट्टामा धागो बाँधेको टेलिफोनमा कुरा गर्न खोज्नुभएछ, तर म भने बृहस्पति (गुरु) बारको गुरुरस गुरुप्रसाद मैनालीले सखाप पारिदिएको झोंकमा बाँकी रहेको शनिबार अगाडिको शुक्ररस पिएर मस्त हुँदै खर्पन बोकेर स्वयम्भूतिर भोज खान हिँडिसकेको बेला परेछ। घर फर्केपछि मैले खबर पत्तो लगाएँ- यो पर्वको शीर्षक (नाउँ) राख्नेलाई बकुल्ला प्रकाशनले केही प्रेमलहरी र तोता मैनाका पोस्तकहरू भिडाउनेछ भन्ने सूचना कलियुगको सम्पादकीयमा टाइप गरेर छापिएको रहेछ । म पनि खर्पनमा जाँडको पैंटो र आलुको अचार हालेर रोपाईंमा जाँदा प्रेमलहरीको अलापविलाप गर्न पाउँला भन्ने आशाले शीर्षक लेख्न थालिहालें –

लुब्ध छ बबुरो, दुःख सुखनामा
भाग्य छ बाहिर, ऊ छ पिंजरामा

खर्पन/२०२८

०००
खुसुक्क भन्नुस् फच्च्या (२०५३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका चार ठट्टा

चङ्खेका चार ठट्टा

गोपालराज मैनाली (चङ्खे)
चन्द्रलोक

चन्द्रलोक

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका दुई ठट्टा

चङ्खेका दुई ठट्टा

गोपालराज मैनाली (चङ्खे)
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x