सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फाल्तु नाफा

एक लाख फौजलाई एक करोडका दरले अरिङ्गाल छोडिदिनुपर्छ अनि त हेरूँ त तिनले कता फर्काएर हान्दारहेछन् गोली ? तिनका गन, मेसिन गन, स्टेन गन, ब्रेन गन जम्मै नर्कटका घोचा बराबर हुनेछन् ।

Nepal Telecom ad

गोपालराज मैनाली :

यस युगलाई कसैले ‘फाल्तु नाफाको युग’ पनि भनेका छन् ।

यो आर्थिक खिचातानीको चरम दौडमा नाफा भनेपछि भुतुक्क नहुने मान्छे कमै होलान् । ‘पशुपतिको जात्रा सिद्राको बेपार’ अथवा ‘एक पन्थ दो काज’ को मजा सबैलाई चाहिएकै छ । साधारण नाफा त साधारण नै हो । त्यसैले यसैले मात्र सन्तुष्ट हुने प्रवृत्ति घट्दै गएको र फाल्तु नाफाप्रति प्रेमभाव बढ्दै गएको जताततै देखिन थालेको छ र यो ठीकै जस्तो पनि भएको छ, किनभने मिठाई मीठो लाग्नु मीठै कुरो हो । फरक के भने कोही चर्पी भित्रै लम्पसार परेर भए पनि मिठाई खान पाए पुग्छ भनिठान्छन् कोहीचाहिँ सफासुग्घरमा ढङ्ग र भाग पुर्‍याएर खान्छन् ।

नाफाका निम्ति खुब सतर्कताका साथ योजना बनाउने, त्यसमा पुनः विचार गर्ने, गराउने, दयामाया छोडेर लाज पचाएर होसियारीका साथ कान ठाडो पार्ने र न्याय-अन्यायको छ्यान विचार नराख्ने चलन आएको पनि यही फाल्तु नाफाकै पक्षमा मान्न सकिन्छ। यही प्रवृत्तिको विकास दौडको परिणामस्वरूप हामीले एकातिर भिकारीहरू र अर्कातिर अबरपति सँगसँगै देख्न पाएका हौँ । बाठो नाफावालाले डङ्गुरका डङ्गुर बङ्गुर हुर्काएर बेन्चकार उठाइसक्दा पनि लाटोचाहिँ भर्खरै मकैको बीउ सापट गर्न हिँडेको हुन्छ, ऊ आफैं फाल्तु मान्छेको गन्तीमा पर्ने परिस्थितिमा हुन्छ भने उसले नाफा र फाल्तु नाफा सोच्न भ्याउने त प्रश्नै उठ्दैन । बाठो पुँजीपतिले देखौटी ठूलो पसल खोलेर भित्री हजारौँ अवैधानिक कार्यद्वारा करोडौँ कमाइसक्दा पनि लाटो गरिब नाङ्लो पसलेले ओसिएको आशा चुरोट बेचेबापत सडकको छेउमा झापट खाइरहेकै हुन्छ । छोटकरीमा भन्ने हो भने यस सन्दर्भमा धनले बठ्याईं रे फाल्तु नाफा दिन्छ भन्न सकिन्छ । अलिकति फूर्ति बढेपछि एउटा मट्याङ्ग्राले दुईवटा चरा मार्न नखोज्ने कमै पाइएला ।

सिनेमाघरमा टिकट बिक्रीबाट नाफा मात्रले चित्त नबुझेर ब्ल्याकसँग समेत हिस्सा लिएर नाफा गर्ने चलन छ, यसरी छाडा स्वतन्त्रताबाट फाल्तु नाफालाई प्रोत्साहन हुन सक्छ । धार्मिक क्षेत्र पनि यसको प्रलोभनबाट जोगिन सकेको छैन, यस सम्बन्धमा काठमाडौँको साँढे छोड्ने चलन र जताततै बलि दिने चलनलाई उदाहरणको रूपमा लिन सकिन्छ । शहरमा गाई पाल्नु के छ ? बिहानै दूध दुहेर छोडिदियो दिनभरि ज्यापुको तरकारी खाएर गाई अघाएपछि खोजेर ल्यायो अनि बेलुकी फेरि भएभरको दूध दुहेर छोडिदियो आनन्द । गाई ब्याउँदा बाछी पायो भने मोजै भो । कथङ्काल बाछोबाछो पाइदिएछ रे भने मरेका बाबुबाजेलाई स्वर्ग पुयाउने नाउँमा कलिलैमा डामेपछि खेलै खत्तम । यता साँढे जोत्न पाल्नुपरेन त्यो नाफा, उता आफ्ना नातेदार स्वर्ग पुग्ने फाल्तु नाफा ।

बलि दिनेहरूले पनि फाइदैफाइदा हेरेका हुन्छन् । यसमा आफूले जहानजस्तै मायाले पालेको पशुले देवीको मन्दिरमा प्राण त्याग गर्न पाउँदा एक्कै वेगमा ठाडै भवसागर तर्ने, भक्त पूजारीलाई पनि प्रसादको भाग गर्ने, बलि दिएको नाताले आफ्नो पनि परलोक सुधारिने, पशु मारेको पापचाहिँ देवीको थाप्लोमा जिम्मा हुँदा आफू बचिने र देवीले वास्तवमा तातो भुत्लो केही पनि नखाने हुनाले कवाफ जति आफैंले मुख मिठ्याउन पाइने खालका नाफा उपनाफाहरू निहित देखिन्छन् ।

यसबाहेक वनभोज अथवा पिकनिकको रमाइलो पनि साथै हुने र आफ्नो खुसीले सानोका फिस्टोदेखि लिएर ठूलोमा राँगोसम्म काटे पनि छुट अथवा अधिकार त छँदैछ । युग सुहाउँदो किसिमले नाफा हेर्नुपर्ने बाध्यतालाई स्वीकार्नेहरूको सङ्ख्या अवश्य नै बढेको छ । अब हेर्नोस् न बाह्र वर्ष तपस्या गर्ने सिकान्तलाई त्याग्ने एकथरीले युग सुहाउँदो ‘कलौ केशव कित्नित’ लाई शिरोधार्य पारेका छन् । त्यसमाथि पनि कसैले त ज्याला दिएर कीर्तन गराउँदै दुवैतिरको नाफा लुट्न जानिस् के ।

नयाँ मुलुकी ऐन लागू नभएसम्म बहुविवाहलाई केवल नाफाको रूपमा लिन सकिन्थ्यो तर अब त्यो बाठोले गर्ने थप नाफाको परिधिभित्र परेको छ र खासगरी पहाड र तराईमा त्यसको महत्त्व बढेको र नयाँ-नयाँ माखेसाङ्लाको सिलसिला बढेको सबैलाई थाहै छ । जस्तै भए पनि फोसा मीठै हुन जाँदोरहेछ। नत्र दश पैसाको सुपारी किन्नेले एकफूल ल्वाङफोसा मागेर पसलेलाई धुरुक्क पार्नुको अर्थ के हुन सक्छ ! त्यै मिठास चाख्ने लोभले पसले पनि एक पैसा फिर्ता छैन भनेर कक्रक्क परिदिन्छ । तैपनि डेग नचल्ने ग्राहक परिहालेछ भने एक पैसे ढ्याक खोज्या नपाएजस्तो गरेर एउटा कुहिएको तितौरा अथवा हेर्दै वान्ता आउँलाजस्तो झिँगा भन्केको माडा दिएर बिदा गरिदेला । यस्तै धारामा हेर्दा जागिरबाट पेन्सन खाइसकेका बूढाबूढीले बस चढ्दा विद्यार्थी सहुलियत दरमा टिकट लिएको नाफा पनि बिर्सन नसकिँदो कुरा हो । व्यक्तिहरूको मात्र किन कुरा ? ठूला-ठूला मुलुकहरूले पनि त नाकै जाने गरी नाउँ बिकाएर फाल्तु नाफामा दाँत गाडेको कैयौं उदाहरण पाइन्छन् । अङ्ग्रेजले भारतीय शक्तिद्वारा नै भारतलाई सोसेर गरेको नाफालाई पनि यसै अध्यायमा तान्न सकिंदैन र ? अनि फेरि अमेरिका र भियतनामको कथालाई के त्यसै छोड्न सकिएला ?

जागिरदारले लिने घूस, नकचरा राजनैतिक दलले लिने चन्दा, रुद्री पाठ गर्नेले लिने ज्याला, दक्षिणा, गोदान आदिलाई पनि फाल्तु नाफा भन्नु अत्युक्ति होइन । जासुस (सि.आइ.डि.) ले विभिन्न मान्छेका कुरा सुनेर केही न केही तातो न छोरो पत्ता लगाउन पसलमा रक्स्याहाहरूको माझमा रक्सी पिएर बसेको बेला उसले पिउन पाएको भत्तालाई नाफा मात्र भन्ने हो भने पनि खाएको कवाफ र सुकुटी आदिलाई त अवश्य नै थप नाफा मान्न पुगिन्छ । मान्छेले नपुगेर कुकुरलाई जासुस इन्स्पेक्टर बनाउने, बाँदर, भालु तालिम गर्ने आदि प्रचलन छ । साँच्चै भन्ने हो भने यसै सिलसिलामा हामीले पनि लामखुट्टे र अरिङ्गाल पालेर फाल्तु फाइदा लिन सकेको खण्डमा अनुचित हुनेछैन । करोडौँ सङ्ख्यामा लामखुट्टे झ्वाइँ-झ्वाइँ र च्वाइँ-च्वाइँ सङ्गीतको प्रयोग गर्न सक्नेछौ, निर्माताहरू दङ्ग पर्नेछन्, चलचित्र संस्थानको नाक घिरौंला जत्रो हुनेछ ।

यसैगरी अरबौँको सङ्ख्यामा अरिङ्गाल पालेर हातहतियार र सैनिक शक्तिको बचत गर्न सकिन्छm। भएभरका ब्यारेकका सेनालाई खेतीको काममा लगाएर देश धनी पार्न सकिन्छ । स्वदेशी नियन्त्रणका लागि प्रहरीको डण्डा छँदैछ, विदेशी फौज भिड्न आए भने एक लाख फौजलाई एक करोडका दरले अरिङ्गाल छोडिदिनुपर्छ अनि त हेरूँ त तिनले कता फर्काएर हान्दारहेछन् गोली ? तिनका गन, मेसिन गन, स्टेन गन, ब्रेन गन जम्मै नर्कटका घोचा बराबर हुनेछन् । ट्याङ्क चलाउने ड्राइभरलाई अरिङ्गालले टोकेर बिल्लीबाठमा पारिदिनेछ । लडाकु विमान चालकहरू तीन छक पर्नेछन् । अब लौ विचार गर्नुस् त के मैले बर्ता बोलेँ !

०००
चन्द्रलोक/वर्ष १/श्रावण-भाद्र/अङ्क ५/ २०२९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका चार ठट्टा

चङ्खेका चार ठट्टा

गोपालराज मैनाली (चङ्खे)
चन्द्रलोक

चन्द्रलोक

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका दुई ठट्टा

चङ्खेका दुई ठट्टा

गोपालराज मैनाली (चङ्खे)
चङ्खेको दसैँ ठट्टा

चङ्खेको दसैँ ठट्टा

गोपालराज मैनाली (चङ्खे)
रक्सी पिएर फर्कँदा

रक्सी पिएर फर्कँदा

गोपालराज मैनाली (चङ्खे)
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे