साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चापागाईंकाे ‘वक्रपुराण’ – पाठकीय अध्ययन

वक्रपुराणको गहिरो शक्ति नै राजनीतिक व्यङ्ग्यमा निहित छ । विकृत राजनीति, कुव्यवस्था, दुष्प्रवृत्ति, स्वेच्छाचार र अलोकतान्त्रिक आचरणमाथि लेखकले गरेका प्रहारहरू कोमल हास्यभित्र लुकेका कठोर आलोचना हुन् ।

Nepal Telecom ad

सूर्य चापागाईं :

१. पुस्तक परिचय
देवीप्रसाद चापागाईंको ‘वक्रपुराण’ नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो, जसलाई फित्कौली अनलाइन मिडियाले २०८२ भदौमा कलङ्की, काठमाडौँबाट प्रकाशित गरेको हो । चापागाईंका यसअघि प्रकाशित कृतिहरू— बुर्कुसी (२०६६), उपरखुट्टी (२०७४), कुम्भकर्णको डायरी (२०७८), बड्कौँला (२०७८) ले उनलाई समकालीन हास्यव्यङ्ग्यको क्षेत्रमा सशक्त पहिचान दिलाइसकेका छन् । २०८१ मा प्राप्त ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कार’ ले उनको सिर्जनात्मक यात्रा थप दृढ बनाएको देखिन्छ ।

२. लेखक र कृतिको पृष्ठभूमि
साहित्यकार देवीप्रसाद चापागाईंको जन्म सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप भन्ने गाउँमा भएको हो । वि.सं. २०२९ साल कात्तिक १८ गते जन्मिएर दुरुह यात्रा पार गर्दै आजका मितिसम्म आइपुग्दा उनले नेपाली साहित्यका फाँटमा राम्रो परिचय बनाउन सफल भएको देखिन्छ । उनको साहित्यिक कृति ‘वक्रपुराण’ ले हालका व्यङ्ग्य प्रवृत्तिहरू, सामाजिक रूपान्तरण, राजनीतिक असन्तुलन र मानवीय स्वभावका अनेक तहलाई नयाँ दृष्टिमा अवलोकन गर्न मार्ग प्रदर्शन गरेको छ । वि.सं. २०६६ देखि अनवरत रूपमा कृतिहरू प्रकाशित गर्दै पाँचौँ कृतिका रूपमा ‘वक्रपुराण’ सम्म आइपुग्दा उनको सिर्जनशीलताले उनलाई पाठकहरू सामु घनिष्ट सम्बन्ध स्थापित गर्दै ल्याएको प्रस्ट हुन्छ । यस निरन्तरताले सम्मान मात्र होइन, उनलाई राम्रै प्रेरणा पनि दिएको छ भन्न सकिन्छ ।

३. प्रस्तुतिका विशेषता
पुस्तकको आरम्भमा प्रकाशक्यौली अन्तर्गत नरनाथ लुइँटेलको टिप्पणी— “चापागाईंको चकचकले चमत्कार सिर्जना गर्न सकोस्‌”ले पुस्तकको प्रारम्भिक वातावरण तयार पारेको छ । यस्ता प्रशंसात्मक पङ्क्तिबाट पुस्तकको संस्थागत र सांस्कृतिक छवि निर्माणमा सहयोग पुगेको कुरा प्रष्ट हुन्छ ।

४. मानव स्वभावका तहहरूको व्यङ्ग्यात्मक अवलोकन
कृतिको प्रारम्भमै लेखकले मान्छेका अन्तर्य र बाह्य व्यक्तित्वबीचको विरोधाभासलाई तीक्ष्ण रूपकद्वारा प्रस्तुत गरेका छन्‌— “कोही प्याजजस्ता, कोही तरुलजस्ता ।” प्याज काट्दा आँखा पोल्ने, तरुल बाहिर कर्कश र भित्र मुलायम— यी उपमाहरू हास्यभन्दा धेरै मनोवैज्ञानिक तथ्यहरू हुन् । मानवीय व्यवहार र समाजमा व्याप्त द्वैध चरित्रलाई उजागर गर्नु निबन्धको सफलता हो ।

५. निबन्धहरूको पाठकीय विश्लेषण
‘बिर्सने रोग’ र ‘कन्जुस्याइँ’ दुवै निबन्धहरूले लेखकको सूक्ष्म सामाजिक अवलोकन र व्यङ्ग्यात्मक दृष्टिलाई एकसाथ उजागर गर्छन् । “ट्वाँ परेर मुख बाउने” टुक्काले गफ सुन्दा मुखमा झिँगा पसेर निस्केको पनि थाहा नपाउनेहरूको बानी सम्झाउँछ । बिर्सने प्रवृत्तिलाई कार रोग मात्र होइन, कहिलेकाहीँ जिम्मेवारीबाट भाग्ने ‘डिस्काउन्ट’ जस्तो व्यवहारका रूपमा पनि चित्रित गर्छन् । त्यस्तै, “टिसर्टहरू नि भ्याङ्लाङ्ग परेका हुन्थ्यो” जस्ता केही पदका प्रयोगले व्याकरणको दृष्टिमा केही असङ्गत बनाएको भान हुन्छ भने “सिरान तान्दा पुछार खाली” जस्ता परम्परागत बिम्बले समाजमा व्याप्त अभावको मनोविज्ञान, अव्यवस्थाको व्यङ्ग्यात्मक प्रतिनिधित्व गर्छ । यी दुई निबन्धमा देखिन आएको भाषिक खेल, दृश्यात्मकता र व्यवहारिक सङ्केतहरूले दैनिकीका कमजोरी र मानवीय स्वभावका विरोधाभासलाई एकैसाथ प्रभावकारी रूपमा सतहमा ल्याइदिएको पाइन्छ ।

केही ‘याइँ’हरू यस निबन्धले हास्यव्यङ्ग्य शैलीमा प्रयोग हुने ‘याइँ’ प्रत्ययको प्रयोग र त्यसको प्रभावलाई व्यक्त गरेको छ । ‘चतुर्‍याईँ’, ‘अल्छ्याईँ’, ‘अहमत्याईँ’, ‘छुच्चाईँ’, ‘घमण्ड्याईँ’ जस्ता शब्दहरू पठनमा अलि छुच्चो लाग्न सक्दछन् ।

“दर्शकदीर्घा खाली हुने गरी मञ्चमा अतिथि बोलाउने कार्यक्रम सञ्चालकको प्रवृत्ति देख्दा भित्रभित्रै जङ् चल्छ अनि जुरुक्क उठेर हिँडौँजस्तो लाग्छ ।” पृष्ठ ३८ मा उल्लेख गरिएको प्रसङ्गले दर्शकलाई आन्तरिक रूपमा असन्तुष्ट बनाउने र कहिलेकाहीँ कार्यक्रम छोड्न प्रेरित गर्ने भावलाई मिश्रित शैलीमा प्रस्तुत गरेको छ । यहाँ हास्यको स्रोत केवल शब्दको खेल मात्र नभई व्यवहार र सामाजिक अवस्थाको असंवेदनशीलता हो ।

‘नहिँड्ने ?’ शीर्षकमा जति नै बसेर समाधान खोज्छु भन्नेहरू पनि शौचालयदेखि प्रतीक्षालयसम्म बागदरबारदेखि स्यालदरबारसम्म, सिंहदरबारदेखि बाख्रीदरबारसम्म, ह्यातुङ्देखि नायगरासम्म जीवनको स्वाद पाउन हिँडेकै छन् । शरीरका सबै अङ्गले हिँडेरै कार्यसम्पादन गर्दै शरीरभरिको व्यवस्थापन गरेकै छन् । मन कति छिटो कुदेको होला ! एकछिनमा कहाँ कहाँ । माइत जाने बुहारी र ससुरालबाट फर्केको ज्वाइँको हिँडाइ पनि विश्लेषणयोग्य छ ।

‘मूर्खको औषधि छैन’ भन्ने उक्ति चरितार्थ गर्दै ‘मूर्खोपचार’ शीर्षक गुणरत्नमालाको श्लोक उद्धृत गर्दै भन्छ– ‘सब्को औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको’ । कुनै ग्रन्थले छोडेन मूर्खलाई । मान्छेले आफूबाहेक कतिलाई मूर्ख बनायो ! ग्यालिलियो, आइन्स्टिन, डार्विन, कालिदास कोही अछुतो रहेनन् । अरूलाई मूर्ख बनाउनेहरू पनि एक न एक दिन मूर्खको उपाधि लिन सफल भएकै छन् । हितोपदेशको ‘पयःपानं…’ श्लोक किन अपूर्ण ? आफूबाहेक अरूलाई मूर्ख भन्नेले गीताको कर्मयोगलाई पनि मूर्ख्याइँ शास्त्र भन्लान् भन्ने पीर लेखकको छ ।

‘कुरा खेलाउने बानी’ ले एसपको कथामा एउटा किसानकी छोरीको कथा झल्झली सम्झाउँछ । त्यस केटीले पनि अचम्मै कुरा खेलाई र अन्त्यमा ढुङ्गामा अझाटिएर दूधसहितको भाँडै चकनाचूर पारी । भन्नाले कुरा खेलाउनु प्रत्युत्पादक पनि छ तर कुरा खेलाएरै नेपालीहरु अरू देशका भन्दा बाठा भए भन्दै लेखक पनि के कम, आधुनिकदेखि उत्तरआधुनिक युगसम्म पुग्छन् । लेखक सुकरातदेखि यक्ष युधिष्ठिर संवादसम्म पुग्छन् । जर्मनी, फ्रान्स, यूके, जापान सप्पै घुम्छन् र कुरा खेलाएरै आनन्दित हुन्छन् । पृथ्वीमाथिका सातलोक र तलका सातलोक सबै विचरण गर्छन् । पाथीराम, चम्चाराम बुइँगलकृष्णजस्ता पात्रका मनसम्म पुग्छन् र तिनको नामसँग कामको तादात्म्य भेट्टाउँछन् । यसरी कुरा खेलाउनु आफैँमा ऊर्ध्वगामी चेत भएको उनको ठहर छ ।

भैरव अर्यालको व्यङ्ग्यशैलीले भरिएको ‘गफ प्रयत्न कि यथार्थ ?’ शीर्षकको पाठमा समय, प्रयत्न, नेतृत्व र सामाजिक चेतनाका विविध तहलाई व्यङ्ग्यात्मक र दार्शनिक दृष्टिले उद्घाटित गरिएको छ । यस लेखमा ‘आज–हिजो–अस्ति–भोलि’ को साङ्गोपाङ्ग सम्बन्ध प्रस्तुतिसँगै समयको मिहिन चलायमानता देखाइन्छ । लेखकका दृष्टिमा आज जन्मिन हिजोले वेदना भोगेको छ, हिजो अस्तिका कर्तव्य पूरा गरेर जन्मिएको हो, र आज फेरि भोलिलाई जन्माउन अहोरात्र प्रयत्नरत छ । यस्तो समयशृङ्खलाको व्याख्याले पाठ व्यङ्ग्यभन्दा बढी निबन्धीय र दार्शनिक गहिराइतर्फ मोडिएको देखिन्छ । तर कर्म गर फलको आशा नगर भन्नु भन्दा निराशापूर्वक कर्म नगर, बरु फलमा तिम्रो अधिकार छैन भन्न पाए हुन्थ्यो ।

निबन्धकार स्पष्टै भन्छन्‌— प्रयत्नविहीन गफ सम्भव छैन । गफमै पनि सत्य हुन्छ, किनकि पृथ्वी र समय त निरन्तर घुमिरहेकै तथ्य हाम्रा सामु छन् । महिना, ऋतु, वर्ष, युग हुँदै ब्रह्माको दिनसम्म फैलिँदै जाने समयचक्रलाई लेखकले प्रश्नका रूपमै रोकेका छन् । यस यात्राको अन्त्य वा अर्थ के हो ? रेशमकिराको कोकुन तोडेर निस्कनैपर्ने वैज्ञानिक दृष्टान्तले पाठको मूल शिक्षा झनै स्थापित गर्छ— “परिश्रम नगरी कुनै रूपान्तरण सम्भव छैन ।” कोकुन नफोडे मर्छ, जीवन पाउँदैन; त्यसैले आत्मविकासका सबै ढोका प्रयासले मात्र खुल्छन् । यही सन्दर्भमा लेखकले आधुनिक प्रविधिको यात्रा— टुकटुके मोबाइलदेखि ‘प्रोम्याक्स’ सम्म— मानव प्रयत्नको प्रतीकका रूपमा उभ्याउँछन् । देवकोटाको ‘के नेपाल सानो छ ?’ जस्तो निबन्ध, न्युटनको ९९ प्रतिशत परिश्रमपछि बाँकी एक प्रतिशतका लागि गरेको अथक प्रयास— यी सबै उदाहरणहरूले प्रयासविहीन महानता जन्मिदैन भन्ने निष्कर्षलाई पुष्टि गर्छन् ।

नेताका कुरा के गर्नु ? नेतृत्वको पक्षका लागि लेखकको व्यङ्ग्य झनै धारिलो बन्छ— पिँडालु रोपेर आलु खोज्ने मूर्खता, लक्ष्यविहीन ‘वाद’ का कोलाहलले अरण्ययात्रा गर्न मन लागे पनि समस्यासँग जुध्ने दृढता छ लेखकमा । भैरव अर्यालका ‘नेता नं. १०१’ का व्यङ्ग्यचित्र यहाँ समानान्तर रूपमा गुञ्जन्छन् । समाजको एक पुरानो रोग “अरूका आङको भैँसी देख्ने” प्रवृत्ति पनि लेखकले तीक्ष्ण रूपमा देखाएका छन् । आइन्सटाइनको सापेक्षतावादलाई मार्क्सवादको धरातलमा उभ्याउन खोज्नु वा विचारधारालाई अन्धो रूपमा देख्नु जस्ता अभ्यासले समाजलाई आफ्नै पासोमा पारिरहेको टिप्पणी अत्यन्त मार्मिक छ । मतान्तर त सबैमा हुन्छ जुन महेन्द्र र बीपीमा पनि थियो तर मतान्तरलाई वैचारिक उचाइमा होइन, व्यक्तिगत आक्रोशमा परिणत गर्ने कमजोरी प्रस्टै देखाइएको छ । निबन्धकारको अनुमान छ— देशवासीहरूले आफ्ना गल्तीहरू शिलामा लेखेर मन्दिरमा चढाउने दिन आएपछि मात्र उनीहरूमा सायद सद्बुद्धि फर्किन्छ ।

‘उखान कि पद्यलय ?’ शीर्षकको निबन्धमा अर्थ न वर्थ गोविन्दे गाई, टाउको दुख्या औषधि नाइटामा लाई, ठाउँ न ठहर बुढीको रहर, सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको, न भूतो न भविष्यति, विनाशब्द कुकुर भुक्दैन मूलाको फेदमा हात्ती लुक्दैन, उहिलेका कुरा खुइले जस्ता दर्जनौँ उखान पढ्दा मनै फुरुङ्ग बनाउँछ । जीवनमा आफूलाई सफल बनाउने ध्येय छ भने उखानलाई झर्को नमानी प्रयोग गर्नुपर्ने सल्लाह छ ।

‘पशुपतिको निर्णय’ बेजोडकै व्यङ्ग्य वर्षा गराउन सफल पाइन्छ । नन्दीले पशुपतिसँग वैमनस्य गर्दा स्वाभाविकै हो आफूले सृष्टि गरेका प्राणीले मैमत्याइँ गरेकामा पशुपतिलाई रिस उठ्छ । उनी मन्दिरबाट बाहिर के निस्कन्छन् अनि देखिन्छ चर्तिकला ! आर्यघाट गँजडी र पियक्कडहरूको अवसान केन्द्र बनेको, कोट र सुट्मा सजिएर कपाल मुण्डन नगरी तर्पन गर्नेहरुले कर्मकाण्डको धज्जी उडाएको, मन्त्रोच्चारणमा पुरोहितहरूको मनोमानी, पुस्तक विमोचनमा नचिनेका मान्छेलाई पुस्तक भिडाउने परम्परा, पसलेहरुको अवस्था र दुर्दशा, पार्टीप्यालेस र जग्गा दलाली गर्नेहरूको अकुत सम्पत्ति आदि सबैमा पशुपतिको एकपात्रका रूपमा दृष्टिगोचर भएको छ । नेतृत्व नभएको देशमा कसरी अराजकता छाउँदोरहेछ भन्ने गहिरो उदाहरण नन्दीको मनोमालिन्यबाट प्रस्ट हुन्छ भने अन्तमा पशुपतिको मन्दिरमा प्रवेशबाट अब शान्ति आउला भन्नेमा आशावादिता पाइन्छ ।

‘इतिवृत्ति’ मा इतिवृत्तिलाई इतिहासभन्दा जेठो सावित गरिएको छ । समलिङ्गी विवाह, अर्थोपार्जनमा अपनाइने सम्बन्ध विच्छेद, तडकभडक जीवनशैली आदिलाई इतिहासमा समेट्न नसकेर यी सबै विषयलाई इतिवृत्तिको ठूलो धोक्रोमा हालिएको छ । इतिहासले समेट्न नसकेका घटना दुर्घटनालाई इतिवृत्तिको पोल्टामा हाल्दा न्याय होला भन्ने निबन्धकारको अनुमान छ । कोकशास्त्र र पश्चिमा मनोविज्ञान सबै इतिवृत्तिमै ठोकिन्छन् । इतिहास त केवल एक ठाडो वर्णनात्मक निबन्ध मात्रै हो । अर्थात् लेखन विधा सबै इतिहास, बाँकी अपठित, निरक्षर, विकलाङ्ग आदि सीमान्तकृतको भोगाइ चाहिँ इतिवृत्तिमा समेट्नाले यो इतिहासको पनि दाजु पुष्टि भएको छ । जिउँदाको बेलिबिस्तार इतिहास र पूर्वजन्म, पुनर्जन्म समेटिएको इतिवृत्ति भन्ने उनको ठहर छ । इतिहासले इतिवृत्तिसँग जोरी खोज्नु हात्तीको मुखमा जीरा जस्तै हो भन्दै उनी गिद्ध र मान्छेको दृष्टान्त ल्याएर मान्छेको अन्तर्य केलाउन एकदम खप्पिस पुष्टि हुन्छन् ।

दैले ‘द’ को डुक्र्र्याइँमा उमेरसँगै मानिसले क्लिष्ट भाषिक चयन गरेकोबाट सुरु भई ‘द’ अक्षरको आलङ्कारिक बान्की प्रस्तुत गरिएको छ । उपनिषद्मा पनि प्रजापतिले ‘द’ को अनेकार्थी प्रयोग गरेजस्तै शब्दहरू केवल वाक्य बन्दैनन् अक्षरहरू समेत हास्यव्यङ्ग्यात्मक शैलीमा सिन्के नृत्य गर्छन् ।

‘गफको बान्की’ मा गफको न पूर्ण विरोध छ, न पूर्ण समर्थन नै । सत्यको नजिक पुर्‍याउने गफलाई गोदावरीको माला लगाई सिन्दुर घसिदिने उनको कुराले बुद्धले पनि सत्य बोल्न नसकेर मौन भएका थिए भन्ने कथाको स्मरण गराउँछ । गफलाई रोचक, आकर्षक र प्रभावकारी बनाउन शैली, प्रस्तुति र विषयवस्तुले भूमिका खेल्छ । अझ लक्षणिक गफले त मानवसमाजमा उत्प्रेरणा नै ल्याउँछ । हिजो जिम्मल मरे, आज म मरेँ भन्दा गफ गर्ने मान्छे त जिउँदै छ भनेर गफ सुन्नेले प्रतिक्रिया गरेछ । कुरो हिजो बाँदरले जिम्मलको र आज उसको मकै खाएछ । दुध पातलो हुँदा गाई, भैँसीले बढी पानी खाएछ भन्ने वक्रोक्ति, ९९ मा एउटा मरे २० हुन्छ भन्ने पुरोहित्याइँको पाखण्डको राम्रै चिरफार छ । गफ केवल गफ हुन्न, समाजप्रतिको यथार्थ र कटु आलोचना समेत हुन्छ । गफ गर्न पनि शैली चाहिन्छ । गफका अनेक वर्गीकरण छन् । चियागफ, दौँतरीगफ, नेतागफ, नातागफ आदि । हिजो आज त गफ सुन्नेले चियाको पैसा तिनुपर्ने हुनाले गफ निकै महँगा सावित भएका छन् ।

‘उप’हरूको अवतारमा विकल, पिँडाली र अर्यालको उपाख्यान चेतन प्रवाह शैलीमा रचित छ । लेखकले प्रस्तुत विचारमा मानवले ‘आज’ को महत्त्व नबुझ्ने आदतलाई तीक्ष्ण व्यङ्ग्यसहित समालोचनात्मक ढङ्गमा उजागर गरेका छन् । दिनुपर्दा आजलाई हेप्ने तर लिनुपर्दा यही आज सधैँ आए हुन्थ्यो भन्ने मानवीय विडम्बना, चार्वाकीय भोगवादी सोचसँग जोड्दै समयप्रतिको हाम्रो गैरजिम्मेवारी र ढिलासुस्तीलाई प्रहार गरेका छन् । भैरव अर्यालको ‘जय भोलि’ सम्झाउँदै उनले वर्तमानलाई हेला गर्ने प्रवृत्तिले विगत र भविष्य दुवैप्रति भ्रम सिर्जना गरेको देखाउँछन् ।

यतिमात्र नभई, अङ्ग प्रत्यारोपणको बढ्दो मोह र त्यसमा लुकेको मानवीय घमण्डमाथि पनि कटाक्ष गर्न लेखक चुक्दैनन् । ईश्वरपछि आफूलाई उच्च ठान्ने तर झुक्किने स्वभाव नछोडेका मानिस र विज्ञानका नाममा पुराना भाँडा बेचेर नयाँ किनेझैँ अङ्ग बदल्ने आवेगलाई उनले तीव्र आलोचनामा उतारेका छन् । अन्ततः अङ्ग मात्र होइन, अहिले बुद्धि नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको बताउँदै मानव सभ्यताको नैतिक र बौद्धिक सङ्कटतिर औँल्याइएको छ । अङ्ग फेर्दाफेर्दै अब बुद्धि नै फेर्नुपर्ने खाँचो डाक्टरलाई नै चुनौती बनेको छ ।

‘अपवाद’ शीर्षक निबन्धमा लेखकले साधारणपन भत्किँदा जन्मिने असाधारण स्वरूप ‘अपवाद’ लाई प्रभावशाली समालोचनात्मक ढङ्गमा व्याख्या गर्छन् । वाद, परम्परा र बहुमतको कठोर घेराभित्र एक कोण च्यातिँदा उत्पन्न हुने भिन्न चेतना नै अपवाद हो भन्ने भाव लेखमा प्रखर रूपमा उभिएको छ । माघमा गुराँस फुल्नुदेखि बहुमत छोडेर अल्पमत रोज्नुजस्ता उदाहरणले अपवाद कुनै मानिसले बनाउने होइन, परिस्थितिले जन्माउने शक्तिको रूपमा देखाइन्छ । देवकोटा, रिमाल, गोर्की, टल्स्टोय र झमकजस्ता स्रष्टाको उपस्थितिले अपवादले महानतालाई समेत रूपान्तरण गरिदिन सक्ने सत्यलाई स्पष्ट पार्छ । नेपाली भाषाको सतीत्वमाथि देवकोटाको व्यङ्ग्य, रिमालको नामोच्चारणविनै कविता सुनाउने शैलीजस्ता क्रियाले अपवादलाई विद्रोह होइन, सृजनशील रूपान्तरणको मूल स्रोतका रूपमा चित्रित गर्छन् । अन्ततः लेखकले अपवादलाई दोष होइन, भाषा, साहित्य र समाजलाई नयाँ ऊर्जा दिने अपरिहार्य उत्प्रेरकका रूपमा स्वीकार्न आग्रह गर्छन् ।

‘खेतीको आद्योपान्त’ मा अक्षरको खेती, राजनीतिक खेती, कर्मकाण्डीय खेती, अर्थोपार्जन खेती, इन्द्रियोपुरण खेती, मदमात्सर्योन्मुख खेती र नाटकोन्मुख खेती गरी सातखाले खेतीको बेलिबिस्तार लगाइएको छ ।

‘कालको विधान’ लेखमा लेखकले मान्छेको अमरता–लालसामाथि तीक्ष्ण व्यङ्ग्य गर्दै कालको अनिवार्यता उजागर गर्छन् । काल र बिर्सिने रोगको कुनै औषधि छैन भन्ने कथनले मानवीय सीमितताको कटु सत्य देखाउँछ । ब्रह्माले खरानीबाट बनाएको मान्छे सास पाए पनि श्रापबाट नबच्ने मिथक प्रयोग गरी लेखकले मानव अस्तित्वको दुर्बलता र क्षणभङ्गुरता रेखाङ्कित गर्छन् । मान्छेले विज्ञान र अहङ्कारका बलमा काललाई थुन्न खोजेको व्यङ्ग्यात्मक चित्रणले आधुनिक सभ्यताको भ्रममाथि चोट पुर्‍याउँछ । अन्ततः लेखकको निष्कर्ष छ— काललाई छलेर बाँच्न खोजे पनि सबैले यमपुरीको संविधान मान्नै पर्ने शाश्वत सत्यबाट कुनै मान्छे बच्न सक्दैन ।

६. राजनीति, विकृति र दुष्प्रवृत्तिमाथिको प्रहार
वक्रपुराणको गहिरो शक्ति नै राजनीतिक व्यङ्ग्यमा निहित छ । विकृत राजनीति, कुव्यवस्था, दुष्प्रवृत्ति, स्वेच्छाचार र अलोकतान्त्रिक आचरणमाथि लेखकले गरेका प्रहारहरू कोमल हास्यभित्र लुकेका कठोर आलोचना हुन् । यी व्यङ्ग्यहरू मनोरञ्जनका आवरण भए पनि मूलतः चेतनामूलक राजनीतिक हस्तक्षेप हुन्, जसले पाठकलाई वास्तविकता बुझ्न बाध्य बनाउँछ ।

७. शैली, अनुभव र दृष्टिको परिपक्वता
चापागाईंका व्यङ्ग्यहरू दैनिकीको वास्तविक धरातलबाट जन्मिएका छन्, तर तिनको अभिव्यक्ति गम्भीर अध्ययन, दीर्घ अनुभव र भाषिक चुस्तीमा आधारित छ । हाँसो यहाँ औषधि पनि हो, र शल्य–उपकरण पनि । यही विशेषताले ‘वक्रपुराण’लाई केवल ‘हँसाउने’ पुस्तक होइन, सामाजिक सतहको चिरफार गर्ने आलोचनात्मक साहित्यको स्तरमा उभ्याइदिएको छ ।

८. कमजोरी र सुधारका अपेक्षा
यद्यपि पुस्तक प्रभावकारी छ, तथापि प्रस्तुतिमा तथ्य र मूल्याङ्कनको सन्तुलन कमजोर, भाषिक चुस्ती कम, व्यङ्ग्यको सौन्दर्यशास्त्र र शिल्पविश्लेषण अल्प, प्रशंसात्मक शैलीको बढी प्रभुत्व जस्ता पक्ष नपाइएका होइनन् । स्थापित लेखकको कृतिमा अझ विश्लेषणात्मक प्रस्तुति, सैद्धान्तिक आधार र सशक्त तर्कको अपेक्षा स्वाभाविक हुन्छ ।

९. निष्कर्ष
वक्रपुराण नेपाली हास्यव्यङ्ग्य साहित्यमा समकालीन समाजको विडम्बना, राजनीति, मानवीय प्रकृति र दैनिकीका सूक्ष्म तहहरूलाई प्रस्ट्याउने एक महत्वपूर्ण कृति हो । हाँसोका माध्यमबाट गम्भीर यथार्थ उजागर गर्ने चापागाईंको शैलीले पाठकलाई हँसाउँदै सोच्न बाध्य बनाउँछ— एक सफल व्यङ्ग्यले जस्तै ।

०००
धनकुटा
srchapagain@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x