साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फ्रान्सिस्काको इमोजी

"तब तो मेरे को आपसे मिल्ना और भी जरुरी हो गया ।" "वो क्योँ नवराजजी ?" "लाईन मारने के लिए । कलेज जानेवाली लड्कीको कोई लड्का लाइन न मारे, ये कैसे होगा ।"

Nepal Telecom ad

डा. नवराज खतिवडा :

निद्राले चाँडै छोड्यो । फेरि सुत्नु भन्दा सामाजिक सन्जालमा रमाउने सुर आयो । किनभने यो सँसारमा रात हुँदैन सधैँ दिन हुन्छ । कोही न कोही उठेकै हुन्छ । कसै न कसैले हरियो बत्ती बालेकै हुन्छ । शून्य भौगोलिक दुरी । सबै साथीभाइ स्क्रिनमा । अहिले म ल्यापटपकै अघि बसेर दुईवटा काम गर्दैछु । पहिलो, यो प्रत्यक्ष अर्थात् साजी नियात्रा टाईप गर्ने । दोस्रो, फेसबूक खोलेर कसैसँग कुरा गर्ने । अनि, ‘हिँड्दैछ पाइला राख्दैछ’ भने जस्तो गर्ने । आधुनिक संसारले त्यसलाई ‘वास्तविक समय’ अर्थात रियल टाइम भन्छ ।

मेरी इटलियन साथी फ्रान्सिस्का देखा परी ।
“ए ! मोहिनी देवी ! तिमीलाई कोरियाको यो मिर्मिरे उषावाट न्यानो अभिवादन !”
मैले अँग्रेजीमा यहि भावको वाक्य लेखेँ । हाम्रो संवाद अघि बढ्यो ।
“गुड मर्निङ, प्रोफेसर !”
कति आनन्द लाग्छ यो मोरीका यस्ता शब्द पढ्दा । अरुले लेख्ने पनि यिनै ए बी सी डी त हुन् । तर उस्का शब्दको ओज नै उच्च हुन्छ । उसले अघि लेखी ।
“दक्षिण कोरिया ! त्यो त अद्वित्तिय नै भयो । म त्यहाँ पुगेकी छु र धेरै आनन्द पनि लिएकी छु । वाह ! त्यहाँको किम्ची ! तपाईँ छुट्टिमा हो ?”
मैले जवाफ दिनु अघि फेरि उसले अर्को हरफ थपी- “अस्तिको दिन मेरो पीएचडी पनि सकियो ।”
उसले दुईवटा ईमोजी पनि पठाई । पहिलोले विजयको सँकेत दियो भने दोस्रोले, मुस्कानको ।
म पनि के कम बधाई सङ्केत गर्ने ५० वटा ईमोजी पठाइदिएँ ।

“बधाई छ, तिम्रो सफलता र उपलब्धीको लागि । यो मेरो लागि आजको पहिलो र महत्वपूर्ण खुशीको समाचार भयो ।”
उसले मलाई ‘केटीले हत्केला आकाशतिर फर्काएको’ इमोजी र थ्याङ्क यू लेखेको विरालोको चित्र भएको स्टिकर पठाई । यो इटलियन सुन्दरीले पठाएका इमोजीले मलाई यस विषयमा थप जानकारी खोज्ने कौतुहल जगाइदियो । अहिले सामाजिक सन्जालमा इमोजी र ह्यासट्याग जस्ता चित्र सँवादको प्रचलन ह्वात्तै बढेको छ । इमोजीको उत्पति जापानबाट नै भएको हो अरे । चीन र जापानमा शब्दका चित्रले अक्षर जनाउँछन् । अक्षरको संवाद भन्दा चित्रको संवादमा अर्थ बुझ्न सजिलो हुन्छ । चित्र बुझ्न भाषा होइन जीवन वा परिवेश बुझे पुग्छ ।

म दानकुक विश्वविद्यालयका प्राध्यापक दोक्कोको निमन्त्रणामा पाँचदिने भ्रमणार्थ दक्षिण कोरियाको राजधानी सोल आएको छु । दक्षिण कोरिया र नेपालको समयान्तर तीन घण्टाको छ । अर्थात नेपालमा रात नबित्दै कोरियनहरुको बिहान भै सकेको हुन्छ । हाम्रो एकदिने सम्मेलन थियो । चिनबाट आउनु भएका प्राध्यापक ग्वान र म मात्र दुई विदेशी थियौँ । राष्ट्रका हिसाबमा मैले चिन बराबरको सम्मान पाएको थिएँ । नेपालमा पेशागत कर्म गर्नुको आनन्द यस्तो वेलामा पाइन्छ । मेरो प्रस्तुति दिवाभोज भन्दा अघि थियो । अपरान्हमा हामी दानकुक विश्वविद्यालय परिसरमा गयौँ । दोक्को आग्रह र मेरो सिफारिशमा कालिकोट घर भएका मेरा पूर्व विद्यार्थी निर्मल शाहीले वातावरण इन्जिनियरिङमा स्नातकोत्तर गर्ने अवसर पाए । प्राध्यापक मित्रले हामीलाई ‘के-वाटर’ पानी प्रशाेधन केन्द्रमा प्रशोधन गर्ने संरचनामा लिएर गए । सोलको एक तिहाई जनसंख्या र सामसुङ कम्पनीको कारखानालाई आवश्यक पर्ने उच्च गुणस्तरीय पानीको आपूर्ति यहाँबाट हुँदो रहेछ । प्रशोधन केन्द्रपछि हामी १२८ तले गगनचुम्बी भवनको मजा लिन गयौँ । ‘सोल टावर’को नामले प्रसिद्ध यो धरहरारुपी संरचनाको उचाई झण्डै ५०० मिटर रहेछ । दृष्यावलोकन गर्ने १२१ औँ तलामा ४८६ मिटर लेखिएको थियो । भुईंमा हिँडेका कमिलाको ताँती जस्तो सडकमा गुडेका सवारीसाधन । यस्तो रोमान्चकारी अनुभूति मैले यस अघि बैँङ्ककको बायोके टावरमा पनि लिएको थिएँ । तर यो त टावरको ठूल्दाइ नै लाग्यो । भुईंको सिसाबाट आफूले टेकेको जुत्ताको तल कन्चन पानी भएको गहिरो तालमा पीँध देखिए जस्तो धर्ती हेर्दा मन रोमान्चित भयो । कतिको त डरले सातो जाँदो रहेछ ।

मलाई सोल स्टेशन नजिकैको ‘फोर प्वान्ट्स बाई सेराटन’ होटलमा बस्ने प्रबन्ध मिलाइएको थियो । ईन्चोन विमानस्थलमा पुग्दा विहानको ५:३० भएको थियो । सोमवार विश्वविद्यालयमा काम सकेर रात्रीको उडान भरी म विहान सखारै कोरिया आइपुगेको थिएँ ।

मैले ६००१ नं.को लिमोजिन बस लिनु पर्छ भने थाहा भए पनि एकपटक निश्चित गर्न मन लाग्यो । सूचना केन्द्रमा गएर निश्चित गरेँ । बस बिसौनीमा गएर समय हेर्दा अर्को बस ७:१२ बजे मात्र रहेछ । मसँग १५ मिनट केही गर्ने फूर्सद थियो । पर्यटक सूचना केन्द्रमा गएर होटेल परिसर वरपरको नक्शा संकलन गर्ने सुर चढ्यो । सूचना केन्द्र खोज्न थालेँ । तर अफसोच त्यहाँ कोही पनि थिएन । यताउता आँखा डुलाएँ । खुल्ने समय ७:०० भनेर लेखेको बोर्ड देखियो । सात बज्न केही मिनट बाँकी थियो । मैले आज कोरियन कर्मचारीको राम्रो जाँच लिन पाउने भएँ भन्ने लाग्यो । तर मलाई आश्चर्य पस्कदैँ सात बज्न ३० सेकेन्ड बाँकी हुँदा एक सेविका आइन् र मैले मागे जति नक्शा दिइन् ।

होटेलमा पनि म सजिलै पुगेँ । स्वागत कक्षमा मलाई अभिवादन गर्दै मेरो सुरक्षा धरौटीका लागि भिसा कार्ड मागे । उनीहरुलाई मेरो सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने सूचना रहेनछ । मैले २१ तलाको कोठा पाएँ । चेक-ईनको काम सकिएपछि कोठाको कार्ड-चाबी दिँदै सेविकाले सोधिन्- “डु यु निड एक्स्ट्रा रुम कार्ड ?”
मैले ‘पर्दैन’ भने तर यो प्रश्न भने मथिङ्गलमा अहिलेसम्म पनि घुमिरहेको छ।

“कोठामा एकजना मात्रै बस्ने निश्चित हुँदाहुँदै किन दोस्रो कार्ड चाहिन्छ ?”
त्यो होटलमा स्वागत कक्ष, कफी कर्नर र रेष्टुरेन्ट आदि १९ तलामा थिए । कफि कर्नरको अग्रभागमा राखिएको एक बोर्डले मेरो ध्यान खिचेको थियो ।
“वी ह्याभ बियर एज कोल्ड एज युअर एक्स गर्ल फ्रेन्ड्स हार्ट।”
अर्थात हामीसँग तिम्रो पूर्व प्रेमिकाको मुटु भन्दा पनि चिसो बियर पाइन्छ । यो सन्देश रोचक लाग्नु स्वभाविक थियो । मैले नजिक पुगेर मन्त्र पाठ गरे जस्तै गरी अलि ठूलो स्वरले सन्देश पढेँ । मसँगै उभिएका मेरा चिनियाँ प्राध्यापक मुस्कुराए । हाम्रो गतिविधिले कफि कर्नरकी सेविकाको ध्यानाकर्षण भयो । उनी पनि हामीतिर हेरेर मुस्कुराइन् ।
मैले सेविकासँग आँखा जुधाउँदै सोधेँ ।
“दिस ईज क्वाईट कन्भिन्सिङ् । बट आई ह्याभ अ क्वेश्चन ।”
“यस प्लीज ।”
“हाउ एबाउट दि हट कफी ?”
उनी लगायत अन्य वरिपरिका श्रोता समेत हाँसे । सेविकाले मौन मुस्कानको मात्र जवाफ दिइन् ।
“आई थिङ्क कफी क्यान बी एज हट एज दि एङ्गर अफ युर वाइफ ।”
अब हाँसोको आयतन अझ बढ्यो । मैले त्यो सन्देशको फोटो खिँचे ।

सन २००६ मा म जापानको आइजिइयस भन्ने संस्थामा काम गर्थेँ । भारतको पन्जाबमा घर भएकी एक युवती मेरो परिवारकी साथी थिइन् । अहिले उनी सोलमा नै कोरियन भाषाको पढाइमा लागेकी रहिछन् । उमेर ढल्किसके पनि उनको वैवाहिक जीवनको ढोका भने खुल्न सकेन । मैले उनलाई भेट्ने प्रस्ताव राखेँ ।
“मेरा तो कलेजका प्रोग्राम है शायद मुश्किल होगा ।”
“पूजाजी, तो आप कलेज जाती हो ?”
“जी हाँ ।”
“तब तो मेरे को आपसे मिल्ना और भी जरुरी हो गया ।”
“वो क्योँ नवराजजी ?”
“लाईन मारने के लिए । कलेज जानेवाली लड्कीको कोई लड्का लाइन न मारे, ये कैसे होगा ।”
मेरो तर्क सुनेर उनी मोबाइल नै फुट्ला जस्तो गरी हाँसिन् । तर अफसोस ! पूजासँग स्टारबकमा कफी पिउने मात्र पनि शौभाग्य जुर्न सकेन ।

अहिले भने म ईन्चोन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नं २१ को प्रतिक्षालयमा छु । देब्रेतिर सीसाको पर्खाल छ बाहिरको दृष्य हेर्न मजैले पाइएको छ । भर्खरै उज्वेकिस्थानको जहाज गुडेको देखियो । कोरियन एयरको जहाजलाई तान्ने यन्त्रले विपरित दिशामा लिएर गयो । मजाले घाम लागेको छ । होटलबाट हिँड्दा त पानी पनि छिट्याएको थियो ।
मेरो देब्रेतिर एक मोटी महिला सानो किताव पढ्दै छिन् । सिधै अगाडि एक फाटेको पाइन्ट लगाएकी युवती छिन् । शायद उनी नेपाली मूलकी हुन् । युवती बसेकै लहरमा एक जना छालाको जुत्ता र ज्याकेट लगाएका नेपाली पुरुष छन् । उनी भने सिटको छेउमा राखेको सामान राख्न बनाइएको बेन्चमा बसे । उनी केही अघि अर्को एक युवासँग नेपालीमा बोल्दै थिए । दाहिने पट्टि एक जना मंगोलिन पुस्तक नै पढ्दै छन् । उनी शायद कोरियन हुन् ।
अहिले भने ती युवक पनि आएर मिसिए । उनीहरु एक अर्कालाई चिन्दा रहेछन् । युवकले भने एउटा झोला काँधमा तेर्सो पारेर भिरेका छन् ।
युवकले बोलेको सुनियो । “चाँडै आएसि समस्या हुने ।”
उनको मोवाइल बज्यो । उनी एकान्तमा गएनन् । सबैका अघि नै बोल्न थाले । सबै कुराकानी बुझिएन । तर एउटा वाक्य भने बुझियो ।
“आफ्नो खातामा आउँछ ।”
अव युवतीको मोबाइल बज्यो । तिनले भने बोलेको बुझिएन । मसिनो बोलिन् ।

सिधै अगाडि सामसुङको टेलिभिजन राखिएको छ । लोटे भन्ने कम्पनीको विज्ञापन आइरहेछ । हिजोको कुरा अनुसार डा. पदमप्रसाद खतिवडा आउनु पर्ने । संयोगवश हाम्रो एउटै उडानमा टिकट परेछ । तर उहाँ अहिलेसम्म भेटिनु भएको छैन । तर अस्ति म आउँदा सँगै आएका आमाछोरी भने भेट भए । उनीहरु देब्रेतिर अगाडि बसेका छन् । नियात्राको थप कथा बुन्ने उन भेटिँदैन । म आमा र छोरी बसेकै सिटमा जान्छु । छोरीको छेउमा बस्छु ।
“मालाई एउटा कुरा सोध्न मन लागेर आएको ।”
मा कान सुन्दिनन् । बाेल्न पनि सक्दिनन् । यसैले छोरीको साथ लागेर बहिराहरुको कुनै कार्यक्रममा भाग लिन कोरिया आएकी । माले आफ्नो परिचय पत्र मतिर बढाइन् ।
‘लक्ष्मी देवकोटा, अध्यक्ष, बहिरा तथा सुस्त श्रवण राष्ट्रिय समाज ।’

कार्डमा लेखिएको पद र संस्थाले भन्दा उनको थरले मलाई आश्चर्यचकित बनायो । मैले उनीहरुको समुदाय नेवार होला भन्ने ठोकुवा नै गरेको थिएँ ।
“आम्मै नि ! तपाईंहरुको थर देवकोटा पो हो ?”
दुवै हाँसे । छोरीले दोभाषेको काम गरेकी थिइन् । मैले जति आमा छोरीको कुरामा चाख मानेको थिएँ, त्यो भन्दा पनि धेरै माले मेरो कुरामा मानेकी थिइन् भन्ने मलाई लाग्यो । मैले पनि मेरो परिचय पत्र छोरीलाई दिएँ । छोरीले आमातिर बढाइन । आमाले केही संकेत गरिन् ।
“हजुरको डिग्री र पद देखेर मालाई पनि आम्ममा ! भयो रे ।”

अब हामी तीनै जना एउटै लयमा हास्यौँ । लक्ष्मीले प्रवेशिका सम्मको अध्ययन गरेको रहेछ । नौ वर्षको उमेरमा विफर भएर विरामी परेपछि उनको श्रवण शक्ति गुमेछ । त्यसपछि आफू जस्तै कान नसुन्ने बाहुन केटासँग प्रेम विवाह भएछ । केटा भने जन्मजातै श्रवणशक्तिविहीन रहेछन् । मेरो दिमागमा बिजुली तोडमा दुई प्रश्न सिर्जना भए ।
“तपाईं नेवारकी छोरी र बाहुनकी बुहारी । दुवै समुदायको संस्कारको राम्रो अनुभव छ । यी दुई संस्कृतिमा एक अर्कामा नपाइने राम्रा कुरा के हुन् ?”
“जन्मजातै श्रवणशक्ति नभएका र पछि कुनै दुर्घटनामा परी नसुन्ने स्थितिमा पुगेकाहरुमा के फरक हुन्छ ?”

पहिलो प्रश्नको सामान्य उत्तर आयो । तर दोस्रो प्रश्नको उत्तरले भने अहिलेसम्म मैले कल्पना नगरेको तथ्य उजागर गरिदियो । एक पटक एक दृष्टिविहीन सहयात्रीले पनि यस्तै कहिल्यै नबिर्सने उत्तर दिएका थिए । मेरा अन्यन्य मित्र स्वर्गीय हिमप्रसाद गौतमले यो ‘अन्धा’ को सट्टा प्रयोग गरिने आदरार्थी मानिएको शब्द ‘दृष्टिविहिन’ पनि उपयुक्त  नभएको तर्क राखेका थिए । उनको विचारमा “दृश्यविहिन” शब्द उपर्युक्त हो अरे ।
“जन्मजातै श्रवणशक्ति गुमाएकालाई बोल्दा ओठ कसरी चलाउने भन्ने सिकाउन कठिन हुन्छ ।”
लक्ष्मीले यो भन्दै गर्दा मैले उनको अनुहारमा हेरेँ । उनको हाउभाउ र ओठको चाल बोल्नेको जस्तै थियो । उनी खाली आवाजविहिन थिइन् । मैले हाम्रो कालखण्डकै प्रख्यात सरस्वती साधिका झमक घिमिरेको वारेमा लेखेको ‘पराजित अशक्तता’ शीर्षकको लेखको चर्चा गरेँ ।

यत्तिकैमा जहाजमा प्रवेश गर्ने समय भयो । मैले उठेर सामान मिलाएँ । वरिपरि घुमिघुमी हेर्न थालेँ- पदम काकाको उपस्थिति थिएन । लामबद्ध यात्रुको नजिकै गएर नियालेर हेरेँ । देखिन । अचम्म लाग्यो ।
तर मेरो अन्यौललाई चिर्दै उहाँ झुल्किनुभयो । विविध कारणले गर्दा ढिलाई हुन गएछ । मेरो दुई वर्ष अघि यहि विमानस्थलमा आफ्नै हुस्सुपनले गर्दा झण्डै जहाज छुटेको घटना काकालाई सुनाउँदै हामी जहाजमा प्रवेश गर्यौँ ।
मैले प्रवेशद्वारमा भेटिएकी हवाई सुन्दरीलाई सोधि हालेँ- “डु यु ह्याभ दि ईकोनोमिस्ट म्यागाजिन ?”
“लेट मि चेक । ह्वाटस यूर सीट नम्बर ?”
अन्तर्राष्ट्रिय उडानमा धेरै यस्ता सुविधा हुन्छन् । थाइ विमान सेवामा कोट पनि राखिदिन्छन् । तर धेरै यात्रुले यस्तो विषयमा चासो लिँदैनन् । कतिपयलाई यस्तो ज्ञान र बुद्धिले यात्रा सहज हुन्छ भन्ने थाहा हुँदैन ।
गज्जब भयो । त्यसले मलाई ईकोनोमिस्ट र टाइम पत्रिकाका हालैका दुई अंक ल्याएर भनी ।
“थ्याङ्क यु फर रिडिङ् सर ! हियर ईज यूर म्यागाजिन ।”
म दङ्ग परेँ । मैले दाहिनेतिरको झ्यालको आडैको आसनमा थिएँ । पदम काका पनि संयोगले त्यही लहरमा तर देब्रेतिर पर्नु भएछ । मेरा देब्रेतिरको सँगैको पहिलो सिट भने खाली नै थियो । तर दोस्रोमा एक भद्र देखिने कोरियन थिए ।
जहाज लगभग भरिएको थियो । अधिकांश जत्था कोरियनहरुकै थियो । देश आर्थिक रुपले सम्पन्न हुँदै गएपछि डुल्ने उदेश्य लिएर विदेश जानेको पनि सङ्ख्या बढ्छ । कम्बोडिया जाँदा पुरै पर्यटकीयस्थल कोरियनहरुले भरिएको पाएको थिएँ । इन्चोनबाट काठमाण्डौको सिधा उडान भएको र आँखा अघिको हुल देख्दा अब नेपाल पनि कोरियनहरुको गन्तव्य सूचीमा परेको रहेछ भन्ने लाग्यो ।

मेरो छेउमा एक दुरुस्तै कोरियन देखिने एक यात्रु बस्न आए । उनीसँगै आएका विमान परिचारकले भनेको सुनियो ।
“आई विल ह्यान्डओभर योर पासपोर्ट इन काठमाण्डु ।”
मलाई चीसो पस्यो । “के यी व्यक्ति नेपाली नै हुन् त ?” मष्तिष्क प्रश्नले हुँडलियो । उनी केही नबोली बसेँ । मैले पत्रिकामै ध्यान दिएँ । प्रवेशद्वारमा मैले फाइनान्सियल टाईम्सको पनि एक प्रति उठाएको थिएँ । मसँग समय बिताउने प्रशस्त सामग्री थियो । सिटको भिडियोमा पनि श्रव्यदृष्यमा मन वहलाउने चिजविज थिए । राम्रो तयारी भए जहाजमा यो उडानको छ घण्टा त के दश घण्टा पनि सजिलै बिताउन सकिन्छ !
“यति सारो त नगर्नू नि ।”
उनी आँफैमा बर्बराए । मेरो शंकाको बादल हरायो ।
“ए ! तपाईं त नेपाली नै हुनोहुँदो रहेछ । म त दोधारमा पो थिएँ ।”

हाम्रो कुरा शुरु भयो । मलाई लाग्यो- अब कुरा समेत गर्न पाइने भयो । तर उनका एक पछि अर्को गर्दै उदेक लाग्दा अभिव्यक्ति र गतिविधि उजागर हुन थाले । उनका अनुसार तीन वर्ष अघि उनी कोरियामा श्रमिकको रुपमा प्रवेश गरेका थिए । तर कम्पनीले भिसा थपका लागि पहल गरेको रहेनछ । अध्यागमन प्रहरीले समातेर नेपाल फिर्ता पठाइदिएको रहेछ । सात दि सम्म थुनामा पनि राखिएछ ।

“सात दिन भयो चुरोट, खैनी केही पनि मुखमा राख्न नपाएको । कति वेला प्लेनबाट ओर्लेर चुरोट तानौ भएको छ ।”
उनले मलाई मेरो काम र कोरिया यात्राको वारेमा सोधे । मेरो जवाफ सुनेपछि उनले आक्रोशित अभिव्यक्ति दिए ।
“केही हुन्छ र नेपालमा ? कोरियनले दिएको सबथोक नेताले झ्वाम पार्छन् ।”
“तपाईँको भिसा किन थपिदिएन त कम्पनीले ?”
“मैले धेरै काम गरेको उनीहरुलाई मन परेनछ ।”
मेरो टाइम पत्रिका मलाई नसोधी मेरो अगाडिको पत्रिका राख्ने थैलोवाट केही नभनी लिएर हेर्न थाले । एक छिन हेरेर आफ्नोमा राखे । त्यसमा विमान परिचारकलाई फिर्ता गर्ने टिपोट थियो । मैले पत्रिका फिर्ता मागेँ ।
मैले उनका परिवारका बारेमा सोधेँ ।
“मेरो उमेर ४० भयो अहिलेसम्म विहे भएको छैन । अब नेपालमा गएर गर्ने विचार छ ।”

खाना बाँड्दै हवाई सुन्दरीहरु आए । कोरियन परिकार बिबिम्पाप र कुखुराको मासु रहेछ ।
“बिबिम्पाप कम्स विथ द विफ, राईट ?”
“ओ ! यु नो दिस ।” तिनै मेरा सह-यात्रीलाई हतेरेर ल्याउने विमान परिचारक बाेले ।
मैले कुखुराको मासु भएको परिकार रोजेँ ।
मेरा मित्रको भने खाना भन्दा पनि पेय पदार्थमा ध्यान गयो । उनीहरुले ‘ह्वीच ड्रिन्क यु वान्ट ?’ भनेर सोध्नु अगावै उनले भने-अल्कोहल ।
उनले वियर, वाईन वा ह्विस्की भन्न सकेनन् । शायद उनीले यो पेय नभेटाएको पनि धेरै भएको थियो । परिचारकले वाईन राखिदियो हामी खानामा केन्द्रित भयौँ । उनले कुरै कुरामा भने- “एक चोटी मलाई धेरै रक्सी लागेछ । म त सिधै ककपिटमा पुगेँछु ।’
“के यही कोरियन एयरलाईन्समा हो त ?”
“होइन, दुबईबाट आउँदा ।”

खाना खाएर म सुतेँ । उठ्दा उनी स्क्रिनमा सोदोकु खेल्दै थिए । धन्य आफूलाई व्यस्त राख्ने केही सीप त रहेछ भन्ने लाग्यो । ऊसँग कुरा गर्नुको कुनै तुक थिएन । मैले आफूलाई ईकोनिमिष्टमा नै हराएँ । कार्यस्थलमा हुने यौन उत्पीडन अर्थात सेक्सुअल ह्यारासमेन्ट शीर्षकमा दुईवटा लेख रहेछन् । फ्रान्सिस्कले पठाएको इमोजी जस्तो यौन उत्पीडनको पनि सानो तर सांकेतिक चित्र लेखमा थियो । यस्तो चित्र मैले यसभन्दा अघि देखेको थिइनँ । अहिले सारा संसार यौन उत्पीडितहरुको ‘म पनि’ भन्ने अभिव्यक्तिको प्रसारले आन्दोलित भएको छ । ह्यासट्याग मिटुको सन्देश सामाजिक सन्जालमार्फत सार्वजनिक गरेर ‘म पनि यौन उत्पीडनको शिकार भएकी छु’ भन्ने खबर सारा दुनियाँले पत्तो पाउँछ । हलिउडका पुरुष हस्तीहरुले समेत यस्तो दुर्व्यवहार गरेर कुख्याती कमाएका प्रसङ्गहरु लेखमा पढेँ । मेरो समय मज्जाले बित्यो । दुईवटा ‘फ्रेन्डस’ शीर्षकका हास्य टेलिभिजनका सोहरु पनि हेरेँ ।
तर मेरो रमाइलोमा शत्रु पसे झै मेरा छिमेकी साथी बाधक बनेका थिए । घरी घरी केही न केही उदेकलाग्दा कुरा निकाल्थे ।
“यो ओढ्ने कम्बल लैजान पाए त एउटा राम्रो संझनाको चिनो हुन्थ्यो । लान मिल्ला नि हगि ?”
फौजदारी अभियोगमा परेर प्रहरीले अड्डासार गर्दै ल्याएको व्यक्तिको चेत अझै नखुल्नु मेरा लागि रहस्यमय विषय भएको थियो ।
मैले सबैभन्दा अन्तिममा आइसक्रिम खाएको थिएँ । चम्चा र आइसक्रिमको बट्टा भने हवाई सुन्दरीहरुले सङ्कलन गर्न बाँकी थियो । मित्रले त्यसमा पनि आँखा लगाए ।
“यो चम्चा खुसुक्क झोलामा हाल्ने कि ?”
घरिघरि मैले सोचेँ- हामी दुवै कोरिया पुगेर आएका नेपाली । सँगै बसेका छौँ । तर हैसियत फरक छ । यो के हो ? विधिको खेल ? या राज्यको दुराअवस्थाको परिणाम ? व्यक्तिको भाग्य ?

विदेशमा केही नेपाली कामदारले गर्ने यस्ता गैरकानुनी गतिविधि र यात्रा गर्दा समेत देखाउने अमर्यादित व्यवहारले गर्दा सामान्य यात्रुले समेत झन्झट र दु:खसास्ती व्योहोर्नु परेको छ । यसपटक त्रिभुवन विमानस्थलको कोरियन एयरलाइन्सको चेक-ईन काउन्टरमा मैले पनि तनाव झेल्नु पर्यो । मेरो राहदानी र टिकट हेरेपछि काउन्टरका कर्मचारीले मलाई सोधे-तपाईं किन जान लाग्नु भो कोरिया ?”
“तपाईंको प्रश्न गलत भयो । यो प्रश्नको उत्तर दिन म जरुरी ठान्दिनँ ।”
मेरो जवाफले तिनको कन्पारो तात्यो । उनले उनका हाकिमलाई बाेलाएर ल्याए ।
“हामीलाई यात्रु विवरण सूची बनाउनको लागि यो प्रश्नको जवाफ आवश्यक छ ।”
“मसँग म्याद नगुज्रेको राहदानी, वैध भिसा र राम्रो श्रेणीको ईकोनोमी क्लासको टिकट छ । यसको आधारमा मेरो चेक ईन हुँदैन भने म फिर्ता जान तयार छु । तर गलत प्रश्नको जवाफ म दिन्नँ ।”
मैले अडान कायम राखेँ । उनीहरु गले । पछि अध्यागमनका अधिकृतसँग बुझ्दा उनले पनि मेरो तर्कमा सहि थपे ।
यसरी यो यात्राको शुरुवात र अन्त्यमा केही विधर्मी संस्कारसँग जुझ्नु पर्यो । तर प्रत्येक कालो वादलमा चाँदीको घेरा हुन्छ भने झैं भयो । मेरा छिमेकीको ‘सामान झ्याप पार्ने’ कुबुद्धिले पनि मलाई भने एउटा विचार जन्माइदियो । मलाई इकोनोमिष्ट पत्रिका मागेर लैजान मिल्ला कि ? भन्ने प्रश्न गर्ने विचार आयो । तर मैले यसमा अलिकति बुद्धि खर्च गरेँ ।
मैले अरु यात्रुलाई अघि जान दिएँ । एक हवाई सुन्दरी नजिकै आइन् ।
“डु यु ह्याभ एनि सोभेनियर ?”
“वेट ए मिनट ।”
उनले एउटा एयरबस ३८० को पोष्टकार्ड दिइन् । मैले पत्रिका फिर्ता गर्ने आशयले उनीतिर बढाएँ । मैले टाइम चै फिर्ता गर्न र इकोनोमिष्ट चै साैजन्य सामग्रीको रुपमा माग्ने विचार गरेको थिएँ ।
“ईफ यु वान्ट यु क्यान अल्सो टेक देम ।”
“ओ ! यु आर सो काईन्ड, थ्याङ्क यु ।”

चेक इन काउन्टरको अप्रसन्नतालाई सोभेनियर र दुई पत्रिकाको प्राप्तिले पखालिदिएको अनुभुति भयो । घर आएर फ्रान्सिस्काले पठाएको इमोजीको वारेमा थप अनुसन्धान गरेँ । कम्प्युटर विषयका ज्ञाता साथीहरुलाई समेत सोधेँ । जसरी शौचालयमा राखिएको पुरुष र महिलाको संकेतचिन्ह जसले पनि बुझ्छ, इमोजी पनि त्यस्तै लाग्यो । त्यसलाई पढ्न अक्षर नचिने पनि हुने । चित्र चिने हुने । चिसो बियरलाई पूर्वप्रेमिकाको मुटुसँग दाँजेको सन्देशमा पनि पानको पातको एक संकेत चिन्ह राखेको थियो । रातो पानको पातले ‘प्रेम’ बुझाउँछ भन्ने अहिले प्राथमिक तहका नानीहरुले पनि बुझ्छन् । कोरिया यात्राले पूर्वप्रेमिकाको चिसो मन वा फन्किएकी श्रीमतीको तातेको मुड जनाउने इमोजी पनि हुन्छन् कि भनेर शोध गर्ने चाहना पलाएको छ ।

कार्तिक २२, २०७४
कोटेश्वर धुलिखेल बसयात्रा

०००
झोलाको बार’ नियात्रासंग्रह (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
महादेवीको उर्दी

महादेवीको उर्दी

डा. नवराज खतिवडा
मेरो बहर विद्यार्थी

मेरो बहर विद्यार्थी

डा. नवराज खतिवडा
ह्याप्पी ग्रीन डे

ह्याप्पी ग्रीन डे

डा. नवराज खतिवडा
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
घण्टा

घण्टा

दिप मंग्राती
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x