साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो दलको घोषणापत्र

भ्रष्टाचार जस्तो उत्तम अचारले देशलाई नै मूर्दा बनाउन सक्ने देश, देश बेचेर नागरिक धनी हुने देश ….यी र यस्तै बारेमा देशको पहिचान बढाउनेछ ।

Nepal Telecom ad

गायत्री लम्साल :

माफ गर्नुहोला महाशय यहाँ मेरो दल भन्नाले तिम्रो दल, तपाइँको दल, हजुरको दल, उहाँहरूको दल हामीहरूको दल सबैको दल हो भनेर बुझ्‌नुहोला । अझै स्पष्ट भन्नुपर्दा घामको, दामको, जूनको, ताराको, रुखको, दुःखको, घण्टीको, शंखको, पुराना र नयाँ पाराको, अनि हामी साराको दल हो । नपत्याएर दाँयाबाँया बुझ्‌न थाल्नुभयो भने त तपाइँहरूलाई नै घाटा भएर थे्रस होल्ड कटाउन गाह्रो हुन्छ है बेलैमा भन्द्याछु नि ।

आयातित खाद्यान्नले मलक्क मल्किएको मस्तिष्कले यतिबेला भने हामी घोषणापत्रको दाइँ हालेर नेपालीहरूको उत्कृष्ट चाड चुनाव मनाउने तयारीमा जुटेका छौँ । पाँच वर्षमा आउने चाड आधा पाँच वर्षमै आउँदा खुशी भन्ने कुरो पानी नपाएर माछो उफ्रिएको जस्तै गरि उफ्रिएको छ । आहा चुनावी चाड मनाउने तरिका जानेका पुराना पण्डितहरू साइड लागेका छन् एकातिर भने अर्कोतिर ती पुरानाले भन्दा दश गुणा कर्मकाण्ड भट्याउने नयाँ पण्डितहरूको मोजमस्ति छ । मात्र दुइटा आँखा छ कति हेर्नु, मात्र दुईटा कान छ कति सुन्नु, मात्र एउटा मुख छ कति बोल्नु ?

हजुरहरू त झन् फत्तेजङ्गकाे पालादेखि अहिलेको हत्तेजङ्गकाे पालासम्म भोट हाल्नुभएका मान्छे र मुन्छिनीहरूलाई म भर्खर जन्मेर बल्ल सिङ् पलाउन थालेको मान्छेले मतदानको महिमा कसरी बताउनु ? तैपनि मावल चुनावको छ घोषणापत्र फालिएन भने त सित्तैमा पाइने मतदान भन्ने कुरो आउँदैन कि भन्ने कत्रो पिर लाइराछ । अँ साच्ची यो महाचाडको बेलामा हजुरहरूलाई ढाँटेर कहाँ पो जान सक्छु र त्यसैले मेरो दलको घोषणापत्रलाई जस्ताको तस्तै पस्कने अनुमति माग्दछु हस् ।

मेरो दलको नाम मेरो दल भए तापनि यो सबैको दल हो । दल नै सबैको भए पछाडि यो घोषणापत्र समेत सबैको साझा घोषणापत्र भएको व्यहोरा अनुरोध गर्न चाहन्छु । अँ हाम्रो दलको प्रमुख एक नम्बरको काम भनेको हामीले गरेका काम जति केही पनि भन्न सक्दैनौ अनि भनेका काम जति सबै केहि पनि गर्न सक्दैनौ । घोषणापत्रको दुई नम्बरको बुँदा निकै महत्वपूर्ण छ । यो मानेमा भने हाम्रो दल निकै खुशी छ । हाम्रो दलले गर्ने भनेको सबै दुई नम्बरी काम हो । त्यसैले यो कामलाई हामीले बुँदा नम्बर दुईमा नै राखेका छौँ । हाम्रा दलका कार्यकर्ता देखि नेतासम्म सबैलाई दुई नम्बरी काम गर्नलाई कसैले सिकाउनु, अर्तिबुद्धि दिन पर्दैपर्दैन । यही कामबाट हामीले आफू र आफ्नाहरूको काम नै नगरि दुःख फालेका छौँ । मस्तसँग मिठोमसिनो खानलाई इन्डक्सन चुलो बालेका छौँ । हामी भन्दा अरु कोही म ठूलो हुँ भन्न आए भने ठाउँका ठाउँ धुलो पार्ने सामर्थ्य हामीसँग छ ।

घोषणापत्रको तीन नम्बर बुँदा समेत निकै महत्वपूर्ण छ । यहाँहरूलाई थाहा नै छ दान भन्ने कुरो केही आशा नराखी दिने गरिन्छ । दानहरूमा सबैभन्दा महत्वपूर्ण दान भनेको मतदान हो । यहाँहरूले हाम्रो दलसँग केही आशा नराखेर, खुला दिलले, पछि कुनै प्रश्न नगर्ने गरी हाम्रो दललाई मतदान गर्नुहोला । यस्तो दान दिएपछि तपाइँहरूको उन्नति, प्रगति स्वदेशमा होइन विदेशमा हुनेछ । पूर्व, पश्चिम, उत्तर, दक्षिण जता मनलाग्छ उतैतिर लाग्दा राम्रो हुन्छ । तपाइँहरूमात्र होइन आफ्ना सन्ततीहरूलाई समेत नेपालमा दश कक्षा भन्दा बढी नपढाउँदा नै उत्तम हुनेछ । जति पढे पनि जति पढाए पनि हाम्रो दलले नेपाललाई स्वीजरल्याण्ड, अमेरिका, सिँगापुर बनाउँछु भनेर ढाँट्दैन तर सबै नेपालीलाई भागबण्डा लगाएर मनपर्ने देशमा पठाइदिने कुरामा ढुक्क हुनुभए हुन्छ ।

घोषणापत्रको बुँदा नंं. चार सभ्यता र संस्कृतिको बारेमा छ । अरु दलले जस्तै हाम्रो दलले पनि नैतिकता बेचेर सभ्यता किन्न, ब्राण्डेड जुत्ता दराजमा राखेर भोट माग्ने बेलामा खाली खुट्टा हिँड्न जानेको छ । नेपाली भाषा, कला, संस्कृतिको निकै प्रेमी हामीहरू मनिङ वाकमा डगको स्टुल कुचेको चप्पल आफ्नो किचनमा राखेर आफ्ना प्यारेन्सलाई ओण्डरफुल स्मेल हाउ नन्‌सेन्स भनेर माया गर्न जानेका छौँ । यति भएपछि, यति जानेपछि नेपालीलाई कसले पो विदेशी भन्लान् र ?

बुँदा नं. पाँचमा देशको स्वाभिमान, अखण्डताको बारेका छ । हाम्रो दलले देशको स्वाभिमान वीर गोर्खाली, सगरमाथाको देश, गौतम बुद्धको देशमा मात्र सिमित नराखेर विश्वमा नै दुई नम्बरी काम गर्ने एक नम्बरी देश, आफ्नो भौगोलिक साँध र सिमाना विर्सने देश, भ्रष्टाचार जस्तो उत्तम अचारले देशलाई नै मूर्दा बनाउन सक्ने देश, देश बेचेर नागरिक धनी हुने देश ….यी र यस्तै बारेमा देशको पहिचान बढाउनेछ ।

घोषणापत्रको बुँदा नं. छ हरित क्रान्ति, कृषि क्रान्तिको बारेमा हाम्रो साझा अभिमत जारी छ । खेतवारी जोतेर, मलबिऊ पोखेर, बोट उमारेर उब्जेको अनाजले अबको विकास हुन सक्दैन । त्यसैले झ्याप्पै मानव श्रमशक्तिलाई विदेशमा निर्यात गरि टनका टन रेडिमेड, अर्गानिक खाद्यान्न आयात गरी आधुनिक प्रविधिको माध्यमबाट कृषिमा सबैलाई आत्मनिर्भर बनाई भोकमरीको अन्त्य गरिनेछ । कार्यकर्ताहरू राजनीतिको पेशामा चौबिसै घण्टा विजी हुनेहरूको लागि विदेशबाट नै पलाष्टिकको प्याकेटमा प्याकिङ भएको अमृत खाना निशुल्क उपलब्ध गराइनेछ । स्वच्छ, हराभरा पर्यावरण निर्माणको लागि अलि अलि मात्र हरिया हुने बोटविरुवा सबै काटेर जताततै हरियो इनामेलले पोतेर ग्रिन सिटी हाम्रो अभियान भन्ने अत्याधुनिक अभियान सञ्चालनमा ल्याइनेछ ।

हाम्रो घोषणापत्रको बुँदा नं. सात भने असली वातको बारेमा छ । हामी भनेका भगवानका पनि भगवान हौँ । हामी जस्तो असल, राम्रो यो दुनियाँमा अर्को दल छँदैछैन । हाम्रो दलले यो मुलुकको सक्ने जति भलो गर्न भनेर अहिले हामी मानव अवतारको रुपमा यस धर्तीमा आएका हौँ । हाम्रो दललाई मतदान गरि जिताउनु भयो भने नेपाल एकैदिनमा स्वर्ग हुनेछ । यदि हाम्रो दल हार्‍यो भने भुकम्प र कोरोनाको झड्का भन्दा झन् ठूलो प्रलय आउनेछ ।

घोषणापत्रको बुँदा नं. आठमा आर्थिक वृद्धि, आर्थिक विकास र बेरोजगारीको बारेमा रहेको छ । दिनमा मात्र होइन रातारात कालो धनलाई सेतो बनाउने आर्थिक क्रियाकलापको माध्यमबाट आर्थिक वृद्धि गराई आर्थिक विकासको ढोका खुलाइनेछ । बेरोजगार युवायुवती, श्रीमानश्रीमती, असहाय, असक्त सबैलाई हाम्रो दलको कार्यकर्तामा स्थायी जागिरेको नियुक्तिपत्र दिइनेछ ।

घोषणापत्रको अन्तिम बुँदा नं. नौ जेन जी साझा एजेण्डा भ्रष्टाचार सम्बन्धि रहेको छ । भ्रष्टाचार गर्नेदेखि लिएर गर्न नजानेर रिसाउने सबैलाई हाम्रो दलले भ्रष्टाचार गर्ने नयाँ शैली, तौरतरिका सिकाइनेछ । भ्रष्टाचार गरेर आफ्‌नो र आफ्‌नाको भकारी भरिएपछि यो उत्तम अचार आपसेआफ नियन्त्रण हुनेछ । देशको मात्र नभएर विश्वकै उत्तम अचार भ्रष्टाचारको स्वाद जेन ए देखि जेन जेड सम्मका सबैले मज्जाले रुचाइने बनाइनेछ । हाम्रो साझा दलको घोषणापत्र अहिलेलाई यत्ति नै । रहलपहल बाँकी रहेको जति मौन अवधिमा खुसुक्क भनौँला हस् ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गायत्रीकुमार चापागाई
गायत्रीकुमार चापागाई
2 months ago

सान्दर्भिक समसामयिक विषयमा बेजोड व्यङ्ग्य सशक्त यथार्थ छ।

Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
1
0
Would love your thoughts, please comment.x
()
x