परशुराम पराजुलीअन्तिम इच्छा
याँ आफूलाई भने मन्त्रीको पदमा बसेरै मर्न मन छ । त्यतिमात्र कहाँ हो र, मेरो वश चल्ने हो भने म मरेपछि पनि मेरो अस्थिपञ्जरलाई मन्त्रीको कुर्सीमा राखेर भए पनि देश चलोस् भन्ने लाग्छ ।

परशुराम पराशर :
“हजुरबा अब आउने चुनावमा तपाईं नउठ्नुस् । अब त नयाँपुस्तालाई उठ्न दिनुस् क्या । तपाईं चुप्प लागेर बस्नुस् ।” दिनेशले हजुरबालाई भन्यो ।
“अँ तैँ नाथेले भनेर म चुप लागेर बस्छु नि । याँ आफूलाई अझै एकदुईचोटि मन्त्री हुन मन छ ।” बुढाले भने ।
“हैन, ए हजुरबा तपाईंले मात्र मन्त्री खाएर हुन्छ ? बुबा, काकापछि दाइहरूको पालो कहिले आउला ? उनीहरूपछि हामीलाई पनि मन्त्री हुने रहर पूरा गरौँला भन्ने छ । अब त भएन है ।” दिनेशले कुरा राख्यो ।
“चुप लाग् । सानो मान्छे भएर धेरै नबोल् ।” बुढाले खोक्दै भने ।
“अब पनि के मन्त्री हुन्छु भन्नुभएको त । काम गर्न भने सक्नुछैन । बोल्दा पनि के के बर्बराउनुहुन्छ । न बोलेको बुझिन्छ न कान राम्ररी सुन्नुहुन्छ । औषधीको भरमा बाँच्नुभएको मान्छेले देश चलाउँछु भन्ने नै होइन नि । अब त हरिभजन गाएर जीवनको उत्तरार्ध बिताउनुस् क्या ।” दिनेशले भन्यो।
“याँ आफूलाई भने मन्त्रीको पदमा बसेरै मर्न मन छ । त्यतिमात्र कहाँ हो र, मेरो वश चल्ने हो भने म मरेपछि पनि मेरो अस्थिपञ्जरलाई मन्त्रीको कुर्सीमा राखेर भए पनि देश चलोस् भन्ने लाग्छ ।” बुढाले आफ्नो अन्तिम इच्छा सुनाए।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest









































