डा. विदुर चालिसेनेताकाे ग्याङ
नेपथ्यबाट स्वर्गका विकास नीतिका शहीदहरूले आफ्नाे पुरानाे सपना सम्झेर चिच्याउँदै कराए । -"विकासकाे नाममा सराध्देकाे प्रसाद !"

डा. विदुर चालिसे :
– “हजुर ! नजराना !!”
मुखियाकाे अनुहार राताे भयाे । उपमुखियाकाे मुहारमा चाहिँ साताे गएकाे थियाे । बिचाैलिया तीनफेर वरिपरि घुम्दै घुँक्क घुँक्क गरेर बर्बराउन थाल्याे ।
– “बल्ल बल्ल मिलाए नि !”
मुखिया र उपमुखिया मुखामुख गर्दै टेबुलमुनि हात राख्न लागे । दराजमा सजिएकाे कानुनकाे पुस्तकले हेरिरहेकाे थियाे । पुस्तककाे जिब्राे फट्किरहेकाे थियाे ।
– “भ्रष्टाचारीहरूलाई कारवाही !”
कानुनका वेत्ताहरूले जनसराेकारका विषयमा कथा पढ्न थाले । नागरिक समाज जिब्राे चपाउन थाल्याे । उपरखुट्टी लगाएर नाचिरहेकाे बिचाैलिया नगर कार्यालयमा भट्याउन थाल्याे भने ठेक्का नपाएकाे रून्चे स्वरमा कमिशन तिर्न नसक्ने ठेक्दार रिसाउँदै मुखियाकाे कार्यालय अगाडि नारा लगाउन थाल्याे । उसकाे तेजिलाे आवाज घन्केकाे थियाे ।
– “गाउँबाट सहरकाे पगरी गुथेकाे प्रशासनमा यस्तै हुन्छ !”
डाँडाकाे उचाइतिर फर्केर शक्तिशाली अनुगमन समितिका मुखिया एवम् उपमुखियाकाे टाेली लावालस्कर सहित उकालाे चढ्दै थिए । पीडित जनताले सेतै पहिराे गएकाे डाँडातिर देखाएर भने ।-“कथा-कुथुङ्ग्री कण्डापट्टि गाँड, याे कथा नजान्ने बाेक्सी राँड !”
पुराना गाउँका नयाँ सहरियाहरूले सेती पहिराेकाे स्खलित माटाे, बालुवा, गेग्रान र भेलबाढी डाँडाबाट सहरतिर बगाएर स्वनामधन्य काम गरे । विकासकाे खाका काेरे । समृध्दिकाे ढाेका खाेले । तर जनसराेकार उट्पट्याङ उल्लुकाे घट्टजस्तै घुमिरह्याे । तामझामका साथ माइकबाट अनुगमन समिति चिच्याउन थाल्याे ।
-“हाम्राे पालाकाे विकासकाे नमूना हेर्नू जनताहरू ! कालाे डाँडाे सेतै भयाे । अलिकति पहिराे गयाे त गयाे के भयाे ? हामीले आफ्नाे सराध्दे आफै गरेम, अर्थात विकासकाे ढाेका खाेलेम । याे संसारमा आफ्नाेे सराध्दे आफै गर्ने मान्छे काेही छ त ?”
नेपथ्यबाट स्वर्गका विकास नीतिका शहीदहरूले आफ्नाे पुरानाे सपना सम्झेर चिच्याउँदै कराए ।
-“विकासकाे नाममा सराध्देकाे प्रसाद !”
जनसराेकारकाे धुलिसात आवाजमा धुलाे उडिरहेकाे थियाे ।
– “बुझ्नु न, याे नजराना विकासवादी नेताकाे ग्याङकाे हाे !”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































