साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालु राज्यमन्त्री म

विकास बोलीमा गर्छु कार्यकर्ता रिझाउँछु सोझो छु खल्तीमा छैन भन्दै हल्ला फिजाउँछु ॥ के गर्नु देशले दिन्न अप्ठ्यारो बस्तीमा पर्‍यो घुँडामा आँसु झर्दैछ भन्दै हँस्सीमजा गर्‍यो ॥

Nepal Telecom ad

रीतिथिति थियो पैले मान्छे मन्त्री हुने यहाँ
सकिए योग्यता भा’का मन्त्री हुनेहरू यहाँ ॥
समय उल्टियो आज कताबाट कता सर्‍यो
मन्त्री हुने नयाँ पालो कृषि उपजमा पर्‍यो ॥१॥

माननीय सबै आलु पिँडालु लोकले भन्यो
अहोभाग्य यी जाबाको पुर्पुरो गतिलो बन्यो ॥
गिट्ठा आलु पिँडालु र कन्द भ्याकुरका दिन
अगाडि कसरी आयो हटेर सब दुर्दिन ॥२॥

देशको राजनीतिमा नौलोपन भयो खडा
विश्वमा उपमा बन्दै बोके साइतको घडा ॥
लत्याए अघिको सत्ता मान्छे र तिनका कुरा
देखियो सबको चाल मौकामा सुन्दरी सुरा ॥३॥

पिँडालु हौसियो यस्तो नौलो औसर पाउँदा
अगाडि उफ्रियो नाच्यो मनमा खुसी छाउँदा ॥
अटायो राज्यमन्त्रीमा त्यो पिँडालु जसैतसै
थाल्यो गाउन आफैँको स्वबखान त्यसैत्यसै ॥४॥

श्री आलु देशको मन्त्री पिँडालु राज्यमन्त्री म
अब मन्त्री सहायक गिट्ठा भ्याकुर खोज्छु म ॥
म छैन धनको लोभी खातैखात छ खल्तीमा
कर्कलो अर्दली मेरो सधैँ खडा छ ड्युटीमा ॥५॥

आदेश मुखले दिन्छु कलम चोप्दिन कतै
बल्छीमा पर्छ कि माछो ढुकेर हेर्दछु जतै ॥
सेवा हो मुखको भाव मेवा हो पेटको जडी
बकुल्लो तपसी हुँ म योभन्दा नभनौँ बढी ॥६॥

कुर्सी अङ्कल हुन् मेरा भिनाजु हाजिरी कपी
ठेकेदार सबै मेरा को छैनन् र ! अघिपछि ॥
गुरु गणेश छन् पक्का मुसाका शिष्य सक्कली
उनैको अनुयायी भै घुम्दछु धूपबत्ती लि ॥७॥

विकास बोलीमा गर्छु कार्यकर्ता रिझाउँछु
सोझो छु खल्तीमा छैन भन्दै हल्ला फिजाउँछु ॥
के गर्नु देशले दिन्न अप्ठ्यारो बस्तीमा पर्‍यो
घुँडामा आँसु झर्दैछ भन्दै हँस्सीमजा गर्‍यो ॥८॥

के गर्छन् अरूले हेर्छु नयाँ ट्याक्टिस फाल्छु म
अल्झिन्छन् लोभीका घण्ट काखमा राखी गाल्छु म ॥
नपुगे गेमको धोको फ्याट्टै कट्फर गर्छु म
चानचुने म कहाँ छु र ! पिँडालु राज्यमन्त्री म ॥९॥

सोझा’थे जनता पैला भाँडे साँढेहरू पसी
अब त भोट आउन्न ढुक्कले घरमा बसी ॥
प्रश्न हुन्न थियो पैले जे गर्दा पनि मै अघि
चम्कन्थेँ चैतको घाम जस्तै गरी सधैँभरि ॥१०॥

परिस्थिति अलि बिग्र्‍यो कपटी जालझेलले
ढल्दै गयो सबै किल्ला घटिया तालमेलले ॥
कार्यकर्ता थिए थुपै्र बिस्तारै टाढिँदै गए
सपना अरू पार्टीका बोकेर भाँडिदै गए ॥११॥

अडान नहुँदा केही हल्का कागजझैँ भएँ
रद्दीको टोकरी मात्रै घडेरी पाउने भएँ ॥
तैपनि गल्दिन साथी नेता सामान्य हैन म
पूरा मन्त्री नहुँदा नि पिँडालु राज्यमन्त्री म ॥१२॥

खैलाबैला कसो गर्दा सत्ताको स्वाद झर्दछ
जानेको छु त्यसै गर्न मौका पाउनु पर्दछ ॥
धेरैको मनको मुद्दा बोकेको वारिसे हुँ म
गुजे्र तारिख गुज्रिन्छ पिँडालु राज्यमन्त्री म ॥१३॥

लुकेको जनजिभ्रोमा पिँडालुप्रतिको छवि
सुधारूँ कसरी भन्छु थपिँदैछन् अझै कति ॥
कस्तो साइतमा मेरो परेछ जन्मकुण्डली
भावीले किन कोरेन चिट्ठै चिट्ठा ढलीमली ॥१४॥

बुझ्दैनन् कि कसो के हो पिँडालु मात्रमा किन
सबैको रोष उर्लिन्छ जसो गर्दा पनि किन ? ॥
बल्लतल्ल मिलेको यो नयाँ औसरमा पनि
खुट्टा तान्नेहरू बाक्लै देख्दैछु म अझै पनि ॥१५॥

कहिले बारीका डिल कहिले झाडीमा पनि
कर्कलोको लिई साथ सिस्नुका घारीमा पनि ॥
बास हुँदा अघि मेरो सम्पर्क जोसँग भयो
सिस्नोले पोलिँदा तिन्को मनमा कटुता रह्यो ॥१६॥

तिनैले कोक्कियो भन्छन् म भन्छु स्वादिलो छु म
काममा सब त्यस्तै हुन् बोलीमा आँटिलो छु म ॥
जति छन् तालमा डुङ्गा सबैमा टेक्दछु म त
तिवारी ताकमा हुन्छु गोतामे स्थायी हुँ म त ॥१७॥

नचिने बस्तीले अङै नौलो जाल जुटाउँछु
फुट्नमा बाँकी क्वै पाए खोजी खोजी फुटाउँछु ॥
राम्रो पो छैन त सिप नराम्रा कति छन् कति
पिँडालु राज्यमन्त्री हुँ न भूतो न भविष्यति ॥१८॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x