बी बी ठकुरीतिमी रील बनाइरहू
जासुस र साइबर क्राइमको दलदलमा फँस्दैजाऊ, प्रिये, परिवारको टेन्सन बढ़ाउन तिमी रील बनाइरहू, रीलकै माध्यमद्वारा आफ्नो नाम चलाइरहू, आफ्नो शान बढ़ाइरहू ।

बी बी ठकुरी :
प्रिये,
ओठमा लिपस्टिक,
परेलामा मस्कारा,
छोटो र टाइट ड्रेसमा
तिमी दिनभरि सजिरहू,
किचनदेखि वाथरुम
वाथरुमदेखि बेडरुम
घरको आन्द्राभुँड़ी सबै
भिडियो बनाएर
सबैलाई देखाइरहू,
मेरी प्रिये,
तिमी रील बनाइरहू ।
गल्ली, गल्छेड़ा
घुम्ती र कुइनेटो केही नराखी
तिमी एकलै नाँचिरहू,
अरुको गीतमा लिपसिङ गर्दै
ओठ मात्र हल्लाइरहू,
अरु हात्ती चढ़्यो भन्दैमा
तिमी धुरी चढ़िरहू,
कामकुरो एकातिर
कुम्लो बोकी ठिमीतिर भने झैं
लाईट, क्यामेरा एक्शनमा रमाउँदै
नाम कमाउने हुटहुटीमा
प्रिये
तिमी रील बनाइरहू।
कसले के खायो ?
कसले के लगायो ?
कसले कति डकार्यो ?
कसले कसलाई लतार्यो ?
सबैको खोजखबर लिँदै जाऊ,
उड़न्ते खबरहरूमा
नुन, तेल र जिरे खोर्सानी मिसाएर
तिमी ब्रेकिङ न्युज चलाइरहू,
प्रिये,
रोएर हुन्छ कि हाँसेर हुन्छ,
गाएर हुन्छ कि नाँचेर हुन्छ
लुकाएर हुन्छ कि देखाएर हुन्छ
तिमीले सबैथोक गर्दैजाऊ,
लगाम बिनाको घोड़ा जस्तै
तिमी स्वच्छन्द भई
कल्पनाको आकाशमा उड़्दै
प्रिये,
तिमी रील बनाइरहू ।
लाईक, सब्स्क्राइब र शेयरको हुटहुटीमा
तिमी
जासुस र साइबर क्राइमको
दलदलमा फँस्दैजाऊ,
प्रिये,
परिवारको टेन्सन बढ़ाउन
तिमी रील बनाइरहू,
रीलकै माध्यमद्वारा
आफ्नो नाम चलाइरहू,
आफ्नो शान बढ़ाइरहू ।
०००
रचनाकाल ०९ जुन २०२५
सिलगढी, दार्जीलिङ
Subscribe
Login
0 Comments
Oldest







































