गाेपाल बरालहामीले पत्यायौँ
त्यसबाट सबै पोल खुलिसक्यो तिमीलाई केवल आफ्ना जहान, परिवार र आफन्तको पद, प्रतिष्ठा र मानमनितोको चिन्ता छ आफ्नै सुखसयल र भविष्यको सुर्ता छ ।

गाेपाल बराल :
तिमीले वर्गका कुरालाई भन्दा
जातका कुरालाई उठायौ
हामीले पत्यायौँ
उत्पीडित जातिको
उत्थानका नाममा
कलिला बालबालिकाको
कापीकलम खोसेर
बन्दुक थमायौ
हामीले पत्यायौँ
वर्गसङ्घर्षको उत्थानका नाममा
संस्कृत पढाउँदै गरेका
मुक्तिनाथ गुरुलाई
रुखमा झुन्ड्यायौ
भागवत भन्दै गरेका
नारायण गुरुलाई
बन्दुकले उडायौ
हामीले पत्यायौँ
पुरेत्याइँ वादको
विरोधका नाममा
दूरदराजका
खोलाखोल्सीका पुल र तुइनहरू काट्यौ
गा.वि.स. र स्वास्थ्य चौकीहरू डढायौ
बैङ्क र प्रहरी चौकीहरू उडायौ
हामीले पत्यायौँ
नयाँ नेपाल निर्माणका नाममा
लेकबेंसी र गाउँसहरमा
रातारात लुटपाट मच्चायौ
तिम्रो गन्तव्य गलत छ भनी
प्रतिवाद गर्नेहरूलाई
एकछाक भात नखुवाएकै अपराधमा
आफ्ना खोरका
खसीबोका सित्तैमा
नदिएकै बहानामा
तिमीले कति महिलाको
सिन्दूर पखाल्यौ
कति बालबालिकाको खुसी सिध्यायौ
सुराकीका नाममा
पुरानो सत्तापलटका नाममा
निर्दोष नागरिकहरूको आफ्नै
परिवारका सदस्यहरूका अगाडि
घाँटी रेटी रेटी
क्रूरतापूर्वक हत्या गर्याै
कतिपयलाई जिउँदै
खाल्डोमा पुर्याै
त्यो पनि हामीले सह्यौँ
लोकतन्त्र र क्रान्तिका नाममा
तिमीले आज जुन नाटक मञ्चन गरिरहेछौ
त्यसबाट सबै पोल खुलिसक्यो
तिमीलाई केवल
आफ्ना जहान, परिवार र आफन्तको
पद, प्रतिष्ठा र मानमनितोको चिन्ता छ
आफ्नै सुखसयल र भविष्यको सुर्ता छ ।
०००
समयका स्वर (२०८१)
Subscribe
Login
0 Comments
Oldest







































