फित्काैली डटकमसिर्जनाको क्यानभासमा इलाम (भाग २) विमोचन
इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिर्जनाको क्यानभासमा इलाम भाग २ मा समावेश गरिएका सम्पूर्ण सर्जकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

इलाम, २०८० असोज २८ । घटस्थापनाको दिन यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको तेस्रो स्थापना दिवस तथा इलामे कवि श्री भानुभक्त भट्टराईको ८४ औं जन्म जयन्तीको अवसरमा इलाम सदरमुकाममा “सिर्जनाको क्यानभासमा इलाम भाग २” विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
संसार भरी छरिएर रहेका इलामे सर्जकहरुलाई सिर्जनाको एउटै मालामा बुन्ने प्रयत्न स्वरुप यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानले सुरु गरेको यस परियोजनामा गत वर्ष १०१ जना इलामे सर्जकहरुलाई समेटेर “सिर्जनाको क्यानभासमा इलाम” प्रकाशित गरिएको थियो । उक्त प्रकाशनको निरन्तरता स्वरुप यस वर्ष भाग दुई प्रकाशित गरिएको हो ।
यस अङ्कमा ५३ जना कवि तथा लेखकका रचना समावेश गरिएका छन् । इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिर्जनाको क्यानभासमा इलाम भाग २ मा समावेश गरिएका सम्पूर्ण सर्जकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
संस्थाकी अध्यक्ष शान्ता भट्टराई रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कवि जय नारायण भट्टराईले गर्नु भएको थियो ।
कार्यक्रमको संयोजन र व्यवस्थापन संस्थाका सल्लाहकार दुर्गा अधिकारीले गर्नुभएको थियो । त्यस्तै गरी संस्थाले गर्दै आएका सामाजिक गतिविधि र भावी योजनाको बारेमा संस्थाकी महासचिव देवी भट्टराई अधिकारीले प्रकाश पार्नु भएको थियो । इलाम र इलाम बाहिर रहनु भएका वरिष्ठ साहित्यिक र प्राज्ञिक व्यक्तित्वहरू प्रा. डा. शिवप्रसाद रिजाल, विमल बैद्य, देवी दुलाल लगायतका साहित्यकारहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले कृतिमा समावेश गरिएका आफ्ना रचना वाचन गर्नुभएको थियो ।
संस्थाका भावी परियोजना अन्तर्गत अर्को वर्ष संस्थाका संरक्षक कवि भानुभक्त भट्टराईको स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना रहेको उक्त कार्यक्रममा जनाइएको छ।
०००
नारायण भट्टराईद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest












































