होम सुवेदीप्रमुख अतिथिको झ्याउलो
अहिलेसम्म प्रमुख अतिथि हुन मरिहत्ते गर्ने हन्तकालीको खासै कमी भइनसकेकोले अनिकाल परिगएको भने छैन । पर्न आट्यो भने अलिक छिप्पिएको घोकिएको कुनैलाई तानेर ल्यायो बनाइदियो नि । एउटा योग्यताको कुरा न हो भासन गर्ने कुरा ता ।

होम सुवेदी :
विकास र अलिक गतिला काम भने साँढे बाइस भए पनि देशमा दिनका दिन नयाँ नयाँ कार्यक्रमहरू निकै अघिदेखि चलेका छन् । त्यसरी चलेका हरेक कार्यक्रममा सभापति त हुने नै भो तर त्यस्ता कार्यक्रममा एक जना प्रमुख अतिथि पनि हुनु अनिवार्य नै गरिएको छ । यो पनि पुरानै वेलादेखिको चलन हो । देशमा प्रमुख अतिथिको सङ्ख्या बाक्लै भएकोले र अहिलेसम्म प्रमुख अतिथि निःशुल्क पाइरहिएकोमा खुसी नै हुनुपर्छ । तर भेडागोठालादेखि बङ्गुरपालक अनि चमारदेखि हजामसम्मका सङ्घ, सङ्गठन, परिषद् आदि खुलिरहेका वेला यी प्रमुख अतिथिका पनि सङ्घ, सङ्गठन, परिषद् आदि नखुल्लान् भन्न सकिन्न । त्यसपछि प्रमुख अतिथिहरूका सिन्डिकेटहरू चल्न सक्छन् । मेचीदेखि महाकालीसम्मका बुजुर्गहरूको भाउ बढ्न सक्छ र प्रमुख अतिथिको योग्यता पुगेकाहरूले भेला पनि गर्न सक्छन् । यो सब नहोला र माग पनि नराख्लान् भन्न सकिन्न । प्रमुख अतिथिको काम सजिलो नभएको हुदा भोलि उनीहरूबाट मागहरू ओइरन सक्छन् ।
प्रमुख अतिथि हुनुका पीडा पनि बेग्लै छन्, प्रमुख अतिथिहरूको कष्ट राज्यले समयमै सम्बोधन गर्नुपर्छ । नत्र परम्परा बनिसकेको नयाँ परम्परा यहाँ पनि सुरु नहोला भन्न सकिन्न । टायर बाल्न सक्छन्, चक्काजाम गर्न सक्छन्, हडताल, नेपाल बन्द यावत् । आखिरमा गाडीहरू जलाउन उहिलेदेखि नै सिकाएकै छन् नि ! के बेर, यिनले पनि गाडी खरानी पार्ने मेलोमा कदम नचाल्लान् भन्ने । यसैले वेलैमा होस गरौँ ।
भोलि यी प्रमुख अतिथि सङ्गठित भएपछि सङ्गठित भएका उनीहरूका सभामा हाम्रो देशमा विद्यमान नाना थरीका पार्टीका कुरा अवश्य पनि उठ्छन् र यी फुट्छन् । फुट्नु ता देशको नियति नै भएको छ अनि यी नफुट्लान् भनेर कता भन्नु । जता पनि पार्टीका कुरा चलेकै छन् । घरभित्र समेत पार्टी घुसेको वेला छ, अनि ती सबै फुटेर फ्याकका पयाक भएको बेला छ। यसबारे सबै जानिफकार भएकोले धेरै बिड्गो लाउनै पर्दैन । हलेदोलाई किन कोट्टयाऊ । असन्तुष्ट पक्षकाहरुले आफ्नै घरभित्र ढुङ्गा हान्न सक्छन् । तोडफोड हुन सक्ला । यसले समय छ । उनीहरूको पीडा समाजले बुझिदिनुपर्छ । वेलैमा यता बुद्धि पुयाइएन भने प्रमुख अतिथिको कमी हुन सक्छ समाजमा । अनि कार्यक्रमको कमी भएर भासन कम हुन सक्छन् । देशमा भासनबाट घाटो भइहाल्छ । त्यस्तो अवस्था आयो भने खापका खाप कार्यक्रम हुने हाम्रो मुलुकमा प्रमुख अतिथि भाडामा विदेशबाट ल्याउनुपर्ने दिन पनि नआउला भन्न सकिन्न ।
वास्तवमा ठुलो समस्या छ प्रमुख अतिथिहरूलाई । तपाईं भन्नुहोला, के हुन्छ र प्रमुख अतिथि हुनेहरूको समस्या ? सभाको उच्चो ठाउमा सबैको मान्य भएर बस्नुमा के त्यस्तो समस्या छ ? झन् खादा पाइन्छ, माला पाइन्छ, मानमनितो हुन्छ भनेर पनि कसैले भन्ला । यसो भन्नेलाई के थाहा होस् प्रमुख अतिथि हुनुमा कति कठिन छ भन्ने कुरा । भुक्तभोगीले मात्र यसमा भएका अप्ठेराहरू बुझेका हुन्छन् ।
मान्छेहरू प्रमुख अतिथि हुनु सजिलो ठान्दा हुन् । घन्टौंसम्म सभामा उभिनु छ अनि बस्नु छ । पेटको ग्यास रोकेर आसन ग्रहण गरिरहनुपर्दाको पीडा खपिनसक्नु हुन्छ । सभालाई दुर्गन्ध गराउनु पनि भएन। आफू बिरामी परेर भए पनि सभाको इज्जत धान्नै पन्यो । उपस्थित भएकाहरू र आसन ग्रहण गरेकाहरूले ता यसो कुर्सीमा कोल्टो फेरेर हलुका हुन मिल्छ प्रमुख अतिथिले ता यसरी कोल्टो पर्नु पनि भएन । सबै उक्त सभाबाट हिँडिसकेर पनि त्यहीँ थच्चिनुको अर्को पीडा सभापति र प्रमुख अतिथिलाई मात्र थाहा हुन्छ । एउटा सभामा सबै लाखापाखा लागेपछि सभापति र प्रमुख अतिथि मात्र रहेछन् । ‘आ… अब हामी भासन नगरौँ । तपाईंले लेखेको भासन मलाई दिनू मेरो तपाईंलाई दिन्छु बराबर भइहाल्छ नि’ भनेर कुरा मिलाएका थिए अरे सभापति र प्रमुख अतिथिले । यस्तै भए त खास समस्या हुने थिएन, भासन लेनदेन गर्यो काम चलायो, तर सबैतिर यस्तो सुअवसर त परिरहन्न । जसरीतसरी भए पनि भासन त गर्ने पर्छ प्रमुख अतिथिले ।
प्रमुख अतिथिका पिरमार्का र अप्ठेराहरू यति मात्र हुन् र । उनीहरूका समस्या के के छन् भनेर कसैले नबुकने हो भने यो पीडा मनमा बोकेकाहरूले भोलि बसले देखाएको बाटो समात्दै बानेश्वरमा ढुङ्गा हानेर पिर नपोख्लान् भन्न सकिन्न । यस अर्थमा पनि राज्यले प्रमुख अतिथिका समस्याहरूलाई वेलैमा सम्बोधन गर्नुपर्छ ।
प्रमुख अतिथि हुन सजिलो ठान्दा हुन् । कता छ सजिलो ? पानसमा बत्ती बालाई कुनै बेला जुरुक्क उठ्नुपर्छ। कुनै बेला फोटामा माला र अबिर लाउन खडेबाबा हुनुपर्छ । कुनै वेला उद्घाटनका लागि तूल तान्न, कुनै वेला तूलमा लेखेका कुरा वाचन गरेर कार्यक्रमको थालनी भएको घोषणा गर्न । यति मात्र हो र के के जातिमा खादा अविर चढाउन उठिरहनुपर्छ । अनि सहिदको नाममा फूलमाला, खादा चढाउन, एक मिनेट (एक मिनेट ता के पुर्याउँथे ।) मौनधारण गर्न र राष्ट्रिय गानमा उभिएर घुडा दुखाउँदै सतर्क हुनुपर्दाका ज्येष्ठहरूका अप्ठेराहरू कसले बुझोस् । यति मात्र हो र ? एकैछिनपछि पुरस्कार र प्रमाणपत्र वितरणको काम पनि प्रमुख अतिथिकै थाप्लामा पर्छ । माला लाइदे, अबिर लाइदे, प्रमाणपत्र दे। फोटो खिचा । हैरान छ । बस् भने बस्। उठ् भने उठ् । अहिलेसम्म प्रमुख अतिथि सित्तैमा पाइएका छन् । धन्न अहिलेसम्म प्रमुख अतिथि हुन भाउ तोकिएको छैन र मात्र नत्र ठुलो खर्च उठाउनुपर्ने दिन पनि आउने छन् यी कार्यक्रम गर्नेहरूका लागि । कुन दिनदेखि यसको पनि भाउ तोकिनुपर्छ भन्ने विषयले देशमा आन्दोलनको रूप नलेला भन्न सकिन्न ।
अहिलेसम्म प्रमुख अतिथि हुन मरिहत्ते गर्ने हन्तकालीको खासै कमी भइनसकेकोले अनिकाल परिगएको भने छैन । पर्न आट्यो भने अलिक छिप्पिएको घोकिएको कुनैलाई तानेर ल्यायो बनाइदियो नि । एउटा योग्यताको कुरा न हो भासन गर्ने कुरा ता । किनेर ल्याएको पत्रकारले बाहेक त्यो भासन अरू सुनोस् कसले ? दिउँसोभरि ग्यासले ढालिएर कुर्सीमा थेचियो, भोकले पेट कुइकुई, अनि एक तुर्कों चिया र कुहिएको सिङ्गडा । यिनले दशतिरका कार्यक्रमलाई सफल बनाउन धाइफल तोडेर कुद्नुपर्छ । कुदेको न पाउँछन् परिवहन सुविधाबापत रकम न पाउँछन् अन्य केही । यसैले यिनको पिरलोलाई हामी सबैले समय छदै ध्यान दिनुपर्ने कुरा अहिलेको प्रमुख विषय हो ।
सित्तैमा प्रमुख अतिथि खोज्नेहरू मुर्दावाद भनेर नारा लाउने दिन नआउन् । बेलैमा बुद्धिको बिर्को खुलोस् ।
०००
आसन ग्रहण (२०७९)
Subscribe
Login
0 Comments
Oldest








































