साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रमुख अतिथिको झ्याउलो

अहिलेसम्म प्रमुख अतिथि हुन मरिहत्ते गर्ने हन्तकालीको खासै कमी भइनसकेकोले अनिकाल परिगएको भने छैन । पर्न आट्यो भने अलिक छिप्पिएको घोकिएको कुनैलाई तानेर ल्यायो बनाइदियो नि । एउटा योग्यताको कुरा न हो भासन गर्ने कुरा ता ।

Nepal Telecom ad

होम सुवेदी :

विकास र अलिक गतिला काम भने साँढे बाइस भए पनि देशमा दिनका दिन नयाँ नयाँ कार्यक्रमहरू निकै अघिदेखि चलेका छन् । त्यसरी चलेका हरेक कार्यक्रममा सभापति त हुने नै भो तर त्यस्ता कार्यक्रममा एक जना प्रमुख अतिथि पनि हुनु अनिवार्य नै गरिएको छ । यो पनि पुरानै वेलादेखिको चलन हो । देशमा प्रमुख अतिथिको सङ्ख्या बाक्लै भएकोले र अहिलेसम्म प्रमुख अतिथि निःशुल्क पाइरहिएकोमा खुसी नै हुनुपर्छ । तर भेडागोठालादेखि बङ्गुरपालक अनि चमारदेखि हजामसम्मका सङ्घ, सङ्गठन, परिषद् आदि खुलिरहेका वेला यी प्रमुख अतिथिका पनि सङ्घ, सङ्गठन, परिषद् आदि नखुल्लान् भन्न सकिन्न । त्यसपछि प्रमुख अतिथिहरूका सिन्डिकेटहरू चल्न सक्छन् । मेचीदेखि महाकालीसम्मका बुजुर्गहरूको भाउ बढ्न सक्छ र प्रमुख अतिथिको योग्यता पुगेकाहरूले भेला पनि गर्न सक्छन् । यो सब नहोला र माग पनि नराख्लान् भन्न सकिन्न । प्रमुख अतिथिको काम सजिलो नभएको हुदा भोलि उनीहरूबाट मागहरू ओइरन सक्छन् ।

प्रमुख अतिथि हुनुका पीडा पनि बेग्लै छन्, प्रमुख अतिथिहरूको कष्ट राज्यले समयमै सम्बोधन गर्नुपर्छ । नत्र परम्परा बनिसकेको नयाँ परम्परा यहाँ पनि सुरु नहोला भन्न सकिन्न । टायर बाल्न सक्छन्, चक्काजाम गर्न सक्छन्, हडताल, नेपाल बन्द यावत् । आखिरमा गाडीहरू जलाउन उहिलेदेखि नै सिकाएकै छन् नि ! के बेर, यिनले पनि गाडी खरानी पार्ने मेलोमा कदम नचाल्लान् भन्ने । यसैले वेलैमा होस गरौँ ।

भोलि यी प्रमुख अतिथि सङ्गठित भएपछि सङ्गठित भएका उनीहरूका सभामा हाम्रो देशमा विद्यमान नाना थरीका पार्टीका कुरा अवश्य पनि उठ्छन् र यी फुट्छन् । फुट्नु ता देशको नियति नै भएको छ अनि यी नफुट्लान् भनेर कता भन्नु । जता पनि पार्टीका कुरा चलेकै छन् । घरभित्र समेत पार्टी घुसेको वेला छ, अनि ती सबै फुटेर फ्याकका पयाक भएको बेला छ। यसबारे सबै जानिफकार भएकोले धेरै बिड्गो लाउनै पर्दैन । हलेदोलाई किन कोट्टयाऊ । असन्तुष्ट पक्षकाहरुले आफ्नै घरभित्र ढुङ्गा हान्न सक्छन् । तोडफोड हुन सक्ला । यसले समय छ । उनीहरूको पीडा समाजले बुझिदिनुपर्छ । वेलैमा यता बुद्धि पुयाइएन भने प्रमुख अतिथिको कमी हुन सक्छ समाजमा । अनि कार्यक्रमको कमी भएर भासन कम हुन सक्छन् । देशमा भासनबाट घाटो भइहाल्छ । त्यस्तो अवस्था आयो भने खापका खाप कार्यक्रम हुने हाम्रो मुलुकमा प्रमुख अतिथि भाडामा विदेशबाट ल्याउनुपर्ने दिन पनि नआउला भन्न सकिन्न ।

वास्तवमा ठुलो समस्या छ प्रमुख अतिथिहरूलाई । तपाईं भन्नुहोला, के हुन्छ र प्रमुख अतिथि हुनेहरूको समस्या ? सभाको उच्चो ठाउमा सबैको मान्य भएर बस्नुमा के त्यस्तो समस्या छ ? झन् खादा पाइन्छ, माला पाइन्छ, मानमनितो हुन्छ भनेर पनि कसैले भन्ला । यसो भन्नेलाई के थाहा होस् प्रमुख अतिथि हुनुमा कति कठिन छ भन्ने कुरा । भुक्तभोगीले मात्र यसमा भएका अप्ठेराहरू बुझेका हुन्छन् ।

मान्छेहरू प्रमुख अतिथि हुनु सजिलो ठान्दा हुन् । घन्टौंसम्म सभामा उभिनु छ अनि बस्नु छ । पेटको ग्यास रोकेर आसन ग्रहण गरिरहनुपर्दाको पीडा खपिनसक्नु हुन्छ । सभालाई दुर्गन्ध गराउनु पनि भएन। आफू बिरामी परेर भए पनि सभाको इज्जत धान्नै पन्यो । उपस्थित भएकाहरू र आसन ग्रहण गरेकाहरूले ता यसो कुर्सीमा कोल्टो फेरेर हलुका हुन मिल्छ प्रमुख अतिथिले ता यसरी कोल्टो पर्नु पनि भएन । सबै उक्त सभाबाट हिँडिसकेर पनि त्यहीँ थच्चिनुको अर्को पीडा सभापति र प्रमुख अतिथिलाई मात्र थाहा हुन्छ । एउटा सभामा सबै लाखापाखा लागेपछि सभापति र प्रमुख अतिथि मात्र रहेछन् । ‘आ… अब हामी भासन नगरौँ । तपाईंले लेखेको भासन मलाई दिनू मेरो तपाईंलाई दिन्छु बराबर भइहाल्छ नि’ भनेर कुरा मिलाएका थिए अरे सभापति र प्रमुख अतिथिले । यस्तै भए त खास समस्या हुने थिएन, भासन लेनदेन गर्यो काम चलायो, तर सबैतिर यस्तो सुअवसर त परिरहन्न । जसरीतसरी भए पनि भासन त गर्ने पर्छ प्रमुख अतिथिले ।

प्रमुख अतिथिका पिरमार्का र अप्ठेराहरू यति मात्र हुन् र । उनीहरूका समस्या के के छन् भनेर कसैले नबुकने हो भने यो पीडा मनमा बोकेकाहरूले भोलि बसले देखाएको बाटो समात्दै बानेश्वरमा ढुङ्गा हानेर पिर नपोख्लान् भन्न सकिन्न । यस अर्थमा पनि राज्यले प्रमुख अतिथिका समस्याहरूलाई वेलैमा सम्बोधन गर्नुपर्छ ।

प्रमुख अतिथि हुन सजिलो ठान्दा हुन् । कता छ सजिलो ? पानसमा बत्ती बालाई कुनै बेला जुरुक्क उठ्नुपर्छ। कुनै बेला फोटामा माला र अबिर लाउन खडेबाबा हुनुपर्छ । कुनै वेला उद्घाटनका लागि तूल तान्न, कुनै वेला तूलमा लेखेका कुरा वाचन गरेर कार्यक्रमको थालनी भएको घोषणा गर्न । यति मात्र हो र के के जातिमा खादा अविर चढाउन उठिरहनुपर्छ । अनि सहिदको नाममा फूलमाला, खादा चढाउन, एक मिनेट (एक मिनेट ता के पुर्‍याउँथे ।) मौनधारण गर्न र राष्ट्रिय गानमा उभिएर घुडा दुखाउँदै सतर्क हुनुपर्दाका ज्येष्ठहरूका अप्ठेराहरू कसले बुझोस् । यति मात्र हो र ? एकैछिनपछि पुरस्कार र प्रमाणपत्र वितरणको काम पनि प्रमुख अतिथिकै थाप्लामा पर्छ । माला लाइदे, अबिर लाइदे, प्रमाणपत्र दे। फोटो खिचा । हैरान छ । बस् भने बस्। उठ् भने उठ् । अहिलेसम्म प्रमुख अतिथि सित्तैमा पाइएका छन् । धन्न अहिलेसम्म प्रमुख अतिथि हुन भाउ तोकिएको छैन र मात्र नत्र ठुलो खर्च उठाउनुपर्ने दिन पनि आउने छन् यी कार्यक्रम गर्नेहरूका लागि । कुन दिनदेखि यसको पनि भाउ तोकिनुपर्छ भन्ने विषयले देशमा आन्दोलनको रूप नलेला भन्न सकिन्न ।

अहिलेसम्म प्रमुख अतिथि हुन मरिहत्ते गर्ने हन्तकालीको खासै कमी भइनसकेकोले अनिकाल परिगएको भने छैन । पर्न आट्यो भने अलिक छिप्पिएको घोकिएको कुनैलाई तानेर ल्यायो बनाइदियो नि । एउटा योग्यताको कुरा न हो भासन गर्ने कुरा ता । किनेर ल्याएको पत्रकारले बाहेक त्यो भासन अरू सुनोस् कसले ? दिउँसोभरि ग्यासले ढालिएर कुर्सीमा थेचियो, भोकले पेट कुइकुई, अनि एक तुर्कों चिया र कुहिएको सिङ्गडा । यिनले दशतिरका कार्यक्रमलाई सफल बनाउन धाइफल तोडेर कुद्नुपर्छ । कुदेको न पाउँछन् परिवहन सुविधाबापत रकम न पाउँछन् अन्य केही । यसैले यिनको पिरलोलाई हामी सबैले समय छदै ध्यान दिनुपर्ने कुरा अहिलेको प्रमुख विषय हो ।

सित्तैमा प्रमुख अतिथि खोज्नेहरू मुर्दावाद भनेर नारा लाउने दिन नआउन् । बेलैमा बुद्धिको बिर्को खुलोस् ।

०००
आसन ग्रहण (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x