फित्काैली डटकमब्ल्याकमेल
ठूला मानिसहरूले गरेका सबै काम राम्रै हुन्छन् भन्ने एक प्रकारको भ्रम पालेको थियो कविले । ठूला मानिसका राम्रा–नराम्रा दुवैथरि कामको उसमा प्रभाव परेको थियो । महाकवि देवकोटा निकै अम्मली थिए भन्ने सुनेको उसले चुरोटको सर्को तानेपछि ह्वारह्वारती कविता फुर्छ भन्ने ठान्दथ्यो । पछिपछि त कस्तो भयो भने कविता लेख्न बस्यो कि उसलाई तलतल लागिहाल्ने ।
कोठाभित्र एकान्तमा बसेर चुरोटको चुस्की लिँदै कविता कोर्न तल्लिन कविको ध्यान एक्कासी हुत्तिएर भित्र पसेको पाँचवर्षे छोराले खल्बल्याइदियो ।
‘बाबु, यो बाहिर लगेर निभाएर फाल् त ।’ सकिनै थालेको चुरोटको ठूटो छोराको हातमा थमाउँदै कविले भन्यो । बाबुको आज्ञा सिरोपर गर्दै छोरो बाहिर निस्कियो र ढोकामा पुगेपछि एक सर्को स्वाठ्ठ तान्यो ।
‘बुवा, बाबुले त चुरोट खायो ।’ त्यो देखेर, बाहिर बरण्डामा खेलिरहेकी छोरी कराई । कविको ध्यान तत्कालै भत्कियो र ऊ जुरुक्क उठेर बाहिर गयो । छोरो भने त्यहाँबाट दम्पट कसिसकेको थियो ।
‘तँलाई बदमास, घर त आउलास् नि, तेरा कानका जरा नउखेली !’ सडकको पल्लो किनारमा पुगेको छोरातिर हेर्दै उसले हप्कायो ।
कवि फेरि भित्र पस्यो । टेबुलमा अपुरो कवितामाथि खुलेको कलम थियो । उसको दिमाग भने अपराधबोधको तातो कराहीमा परेर छट्किइरहेको थियो । कविले कलम बन्द ग¥यो र हत्केलामा च्युँडो टेकाएर गम खान थाल्यो ।
‘बिगार्ने त म पो हुँ । त्यो अबोध बालकको के दोष ?’ त्यसले आफैलाई ललका¥यो । त्यही क्षणबाट त्यसले धुमपान त्याग्यो ।
०००
पाँच वर्षपछि । एउटा आमसभाको कार्यक्रम थियो । लौहपुरुष गणेशमान सिंहको समेत उपस्थितिको खबरले मानिसहरूको ओइरो चलेको थियो त्यहाँ । कार्यक्रमस्थल अगाडिको विशाल चउर भरिभराऊ थियो । हाम्रो कवि पनि भाषण सुन्न पुग्यो । धेरै पुराना साथीहरू भेट भए । घरिघरि सूर्ति मल्दै ओठमा च्याप्तै गरेको एकजना साथीले कविलाई पनि एक जुम सूर्ति दियो । त्यो देखेर उसलाई एक्कासी तलतल लागेर आयो र उसले अलिकति खायो । त्यो दिनदेखि उसले फेरि लुकिलुकी सुर्ती खान थाल्यो ।
त्यही वर्ष भानु जयन्तीका दिन, कवि कार्यक्रममा जान हिँड्यो । छोरो पनि पछि लाग्यो । कार्यक्रमकै बीचमा छोराको आँखा छलेर कविले अलिकति सूर्ति च्याप्यो ।
‘बुवाले फेरि सूर्ति खानुभा ?’ घर फर्कंदै गर्दा बाटामा छोराले सोध्यो । कवि खङ्ग्रङ्ग भयो ।
‘नभन् है कसैलाई । ला चकलेट किनेर खा ।’ एक रूपियाँ छोराको हातमा थमाउँदै उसले छोरालाई फकायो । छोरो चुप लाग्यो ।
०००
‘बुवा एक रुपियाँ दिनुस् त ।’ भोलिपल्ट स्कुल जाने समयमा छोराले निर्धक्कसाथ भन्यो ।
‘तँलाई सधैं पैसा ? रूख छ पैसाको ?’ कवि कड्कियो । छोरो बाबुको नजिकै गयो र बिस्तारै भन्यो, ‘भन्दिम् आमालाई ?’
कविको अनुहार डरले कालो निलो भयो । त्यसले गोजीमा हात घुसा¥यो र एउटा डबल छोराको हातमा राख्तै भन्यो, ‘ल, बदमास कहिँको ।’ छोरो चाहिँ बाबुको अनुहारतिर हेरेर मुसुमुसु हाँस्तै बाटो लाग्यो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































