सुमी लोहनीबोलीको मोहनी
दुबै हातका दसै औँला जोडी सबैलाई नमस्कार !
हात जोड्या छ कि छैन, त्यतिकै मुखले मात्रै नमस्कार भन्या हो कि भन्ठान्नु भ’को छ भने नभन्ठान्नुस् । मेरा हातका औँलाले आङ कन्याए पनि कान कन्याए पनि नाक कोट्याए पनि जहाँसुकै भएर जेसुकै गरिराखेका भए पनि त्यसको मतलब नगरी मैले भनेका शब्द र कुरालाई पत्याउनुस्, सिर्फ शब्द र कुरालाई । किनभने शब्दमा जस्तो ठूलो तागत काममा छैन क्या ! यदि भैदिएको भए देश बनाउने जिम्मा लिएकाहरूले मीठा शब्दका हराभरा आकाशे खेतीमा जनतालाई झुलाएँदैनथे ।
माछो ! माछो ! भ्यागुतो ! भनेझैँ व्यवहार गर्दैनथे । काम गरेर देखाइहाल्थे नि ! त्यसैले जबसम्म अरूलाई मीठा र चिप्ला शब्दका लालिपप देखाएँदै लोभ्याउन सकिन्छ तबसम्म काम गर्ने दुःख किन गर्नु प¥यो र ! फेरि काम गरेर देखाउन त समय चाहियो अनि आपूmले गरे अनुसारको काम र त्यसको परिणाम प्राप्त नहुन पनि सक्छ । बोलेर, भनेर त सपेराले बिन बजाएर सर्पलाई लठ्याए जस्तै गरेर तुरुन्तै शब्दको मुखे मोहनीले सबैलाई लठ्ठ पारेर लठ्याउन सकिन्छ । साँच्ची हाम्रा नेताजस्ता शब्दका सुनौला जाल बुन्न सिपालु नेता अरू देशमा हुँदैनन् होला हगि !
नेपालीको पहिचान पनि त कामभन्दा चाम प्यारो हो नि, हैन त ? त्यसैले त हामी जसले जे भन्यो त्यही पत्याउँछौँ । कान छाम्न छोडेर कागको पछिपछि दौडिन्छौँ । आफ्नोे विवेकलाई सात ताल्चा मारी सन्दुकमा थन्क्याई महान् नेताका चिप्ला कुरामा चिप्लेर डङ्रङ्ग हुँदा पनि दङ्ग परेर ङिच्च हाँस्छौँ र थाङ्नामा लपेटिन्छौँ । नेताहरू नेपाललाई फलानो ढिस्कानो देश स्वीजरल्याण्ड अथवा सिङ्गापुरजस्तै बनाइदिन्छु भन्दै आफ्ना आसेपासेको डप्mफा लिएर विदेशको अवलोकन भ्रमणमा जान्छन् । हामी भोको पेट रित्तो खल्ती लिएर ऋणको भार सकिनसकी थाप्लोमा बोक्दै झिँगापुरमा बसेर झिँगा हम्किदै शाब्दिक सिङ्कापुरको सपनामा मस्त हुन्छौँ । तपैँलाई कस्तो लाग्छ कुन्नि ? मलाई त नेताहरूको भाषण सुन्दा आजैबाट हाम्रा सारा दुःखकष्ट, अभाव आदि समाप्त भएर चारैतिर सुख, शान्ति छाएको अनि हाम्रो देश विकासको चरमचुलीमा पुगे जस्तो लाग्छ । आहा ! कति मीठा सुनिरहूँ जस्ता चमत्कारिक शब्दहरू– झलमल्ल बत्ती बल्ने, धारामा धरर मेलम्ची आउने, घुस, भ्रष्टाचारको जरै मासिने, बन्द हड्ताल सदाका लागि बन्द, चाहिएका सामान किन्न पाइने, चारैतिर शान्ति सुरक्षा, अमनचैन, स्वच्छ, सफा वातावरण… आदि इत्यादि । आहा ! क्या मीठा सुन्दर शब्दहरू !
आउनुस् तपैँ हामी सबै यस्तै महजस्ता मीठा कुराहरूमा माखोझैँ मक्ख परेर लठ्ठियौँ । प्लिज, कामको कुरो गरेर डिस्टर्भ नगर्नुस् न भन्या ! काम त कहिल्यै नआउने भोलि पो गर्ने हो । अहिले त मीठा र ठूला कुरा गर्ने हो, बुभ्mनु भो त ! काम हैन बोलीलाई महत्व दिनुस् र पत्याउनुस् अनि हेर्नुस्, यो मन्त्रमुग्ध पार्ने मुखे मोहनी जालमा कति सिकार अल्झिने हुन् । त्यसैले आउनुस् सुनबुट्टे शब्दको मोहनी जाल थापौँ ।
‘झिँगापुर’ बाट
Subscribe
Login
0 Comments
Oldest







































