साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दोवादीहरूको पक्षमा

Nepal Telecom ad

नेपाल प्रज्ञा प्रतिष्ठान अचेल छन्दोवादी कवि र छन्दका कवितालाई फुटेका आँखाले पनि हेर्न नसक्ने भएको छ । त्यस प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकबाहेक अरूलाई चिन्दैन । नेपाली बृहत् शब्दकोश त्रिभुवन विश्वविद्यालयका लहडी प्राध्यापकहरूको जिम्मा लगाउनाले नेपाली वर्णविन्यास अराजकताको पराकाष्ठामा पुगेको छ, प्रज्ञाको आँखा अझै फेरिएका छैनन् ।

प्रज्ञा प्रतिष्ठानले एक पक्षीय हुन कहिल्यै सुहाउँदैन । प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कविगोष्ठीमा छन्दोवादी कविहरूलाई अछूत बनाउने गरिएको छ । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महोदयहरूलाई कहिलेसम्म प्रज्ञा प्रतिष्ठानको अन्धताले प्रभावित पारिरहला ? उहाँहरू आँखा चिम्लिएर कहिलेसम्म बस्न सक्नुहुन्छ ? नेपालका आदिकवि भानुभक्त आचार्य सम्पूर्णतः छन्दोवादी कवि, कविशिरोमणि लेखनाथ पौड्याल सम्पूर्णतः छन्दोवादी कवि, राष्ट्रकवि माधव धिमिरे सम्पूर्णतः छन्दोवादी कवि । नाट्यसम्राट् बालकृष्ण सम सम्पूर्णतः छन्दोवादी नाटककार । मैले असत्य बोलेको हुँ ? हुँ भने कठघरामा उभिन तत्पर छु ।

प्राज्ञ महोदयहरू ! महाकवि देवकोटा अधिकांशतः छन्दोवादी कवि थिए । युगकवि सिद्धिचरण श्रेष्ठ छन्दोवादी कवि थिए । के आज छन्दलाई बहिष्कार गर्दा नेपाली साहित्यका महारथीहरूप्रति अक्षम्य अपमान भएको छैन ?

नेपाली साहित्य र भाषामा पद्यको भूमिकालाई निषेध गर्ने तपाईंहरू कहाँबाट उत्पन्न हुनुभएको हो ? छन्दोवादी नेपाली भाषीहरूका पक्षबाट म बहस गर्न चाहन्छु, तपाईंहरूसँग प्रतिवाद गर्ने साहस छ ? नैतिक बल छ ? तपाईंहरूले कृतज्ञ हुनुपर्छ कि पर्दैन ? पर्छ भने नयाँ कार्यकारिणीले प्रज्ञाको अन्धोपन निवारण गरोस्, तपाईंहरूलाई मेरो हार्दिक शुभ कामना !

प्राज्ञ महानुभावहरू ! नेपाली वर्णविन्यासबाट क्षतिपूर्ति दीर्घीभवनको प्रावधान कसका आदेशले हटाइयो ? यसो गर्नाले छन्दोवादी साहित्यप्रति जघन्य अपराध भएको छ । अपराध गर्न पाइन्छ ?

नेपाली उच्चारण हलन्त र अजन्त दुवै हो । नेपाली उच्चारणको मानक बनाउँदा सर्वाधिक लोकप्रिय नेपाली कृति ‘मुनामदन’को अवमूल्यन गर्न पाइँदैन । प्रज्ञा प्रतिष्ठान एकपक्षीय हुन पाउँदैन । “हातका मैला सुनका थैला के गर्छ धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले’ यस श्लोकलाई कथित नेपाली भाषावैज्ञानिकहरू “हात्का मैला सुन्का थैला के गर्छ धन्ले ? साग् र सिस्नु खाएको बेस् आनन्दी मन्ले“ बनाउन उद्यत छन् ।

सावधान ! नेपाली वर्णविन्यास तथा उच्चारणको नियमन गर्दा एकपक्षीय वा निर्दलीय हुन पाइँदैन । बहुदल वा बहुलताभित्र छन्दोवादी पनि पर्छन् ।

सावधान ! कविता महोत्सवमा छन्दोवादी कविता पुरस्कृत नहोला नि ! यदि छन्दलाई उपहास गर्ने धृष्टता नयाँ कार्यकारिणीले पनि दोहोर्याउन चाहन्छ भने त्यसपछि हुन सक्ने दुर्घटनाको जिम्मेवारी त्यसैले लिनुपर्ने छ ।

जो–जो गए पनि भाषासाहित्यकै व्यक्ति जानुपर्ने हो । हामीहरू सबै जना त्यहाँ अटाउन पनि सक्तैनौँ । प्रक्रियाका सम्बन्धमा कुरा उठाएर म असान्दभिर्क गन्थन गर्न आवश्यक ठान्दिनँ । सबैले आशा गरौँ, प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यकारिणीले उदात्त भावनालाई व्यवहारमा प्रस्तुत गरोस् । क्षणिक लहड र तरङ्गमा आएर नेपाली भाषालाई लथालिङ्ग बनाउने प्रवृत्तिको विधिवत् अन्त गरोस् । प्रज्ञा प्रतिष्ठानलाई सबै साहित्यकार तथा भाषासेवीहरूले आफ्नै घर सम्झिन पाउन् । उदारतापूर्वक मूलढोका खोलोस् !

नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x