प्रेम ओली ढकलपुरेचिन्नु भएन ?
ए ! ठुली आमा !
चिन्नु भएन मलाई ?
म त्यही क्या
घैंटे माईला
अब त म
ठुलै नेता पो भाको छु
नेता भएपछि
कसको डर यो देशमा
त्यसैले टन्न घुस खाको छु
मन सम्मान पनि पाको छु
तपाईंलाई भेट्न आज
आफ्नै मोटर चढि आको छु ।
ए ! ठाइला बा !
मलाई चिन्नु भएन ?
म त्यही क्या पाङ्रग्रे
तपाईंको बगैंचाको आँप चोर्दा
ढुङ्गाले खेदेको सम्झनु भएन ?
म त पढाइ सढाइ छोडेर
पार्टीको काममा हिँडेको
जनतालाई अगाडि सारेर
पुलिस आर्मीसँग भिडेको
जनता मरे कि पुलिस मरे
थाह छैन को कति मरे
आफू त कहिले कमान्डर भाको छु
कहिले बिग्रेडर भाको छु
चुनावै नलडिकन
आजभोलि सभासद पाको छु
भेटेसम्मको दामपैसो टन्न लाको छु
आज तपाईंलाई भेट्न
आफ्नै प्राडो चढि आको छु ।
ए मौसी !
चिन्नु भएन मलाई ?
म त्यही क्या खुशीलाल
तपाईं आँगनमा
गुच्चा खेल्दा
कसरी तपाईले कान निमुठ्नुहुन्थ्यो
नटेर्दा
कसरी गालामा चिमोट्नुहुन्थ्यो
त्यसपछि त म पारितिर नै गएँ
तराई आन्दोलनमा शहिद
खै को के भए
म त पार्टीको चाकरी गरेर
पक्का नेता भाको छु
राम्रो राम्रो मन्त्री नि
मैले नै खाको छु
खै के माग थियो तराईको
आफ्नो माग त कालीमाइका कसम
पूरै पूरा पाको छु
त्यसैले आज
आफ्नै गाडी चढी
तपाईंलाई भेट्न आको छु ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































