साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरहरूदेखि जोगिनुहोस्

Nepal Telecom ad

ठूल्ठूला भवनहरू देखिन्छन् । देख्दैमा भवनहरू मोहिनी लगाउने खालका लाग्छन् । भित्र बस्ने व्यक्तिहरूको बयान झन् के गर्न सकिन्छ ? भाग्य हुने भए त्यसप्रति इष्र्या गर्नु अनर्थ हुन्थिएन होला मानछे त चमत्कारिक नै हुँदोरहेछ । उसले आफूलाई मात्र होइन, सेरोफेरोलाई नै भव्य बनाइदिँदो रहेछ । परिस्थिति एक्कासी कल्पनै नगर्ने गरी परिवर्तन भइदिन्छ । छक्क पर्ने मात्र होइन उदेकलाग्दो पो भएको छ । भव्यताभित्र त कुकुर, त्यो पनि सीमित चेतनायुक्त भक्तिको प्रतीक जनावरको राइँदाइँ चलेको जस्तो बुझिन्छ । पत्याउनै गाह्रो भएको छ । विकासवादको ठम्याइमा विकास त घुर्मैलो पारामा सङ्ख्यात्मक तहदेखि गुणात्मक तहतिर फड्को पो मार्दछ । यहाँ त विकास उल्टो ढङ्गमा गुणात्मक तहदेखि फर्किएर सङ्ख्यात्मक तहतिर पो सोझिएको छ । मान्छेको ठाउँमा जताततै ती भवनहरूमा कुकुरहरूको पो रजगज चलेको देखिन्छ । यस्तो पनि हुन्छ र ? उदेक मानेर व्यर्थैमा प्रश्न तेर्छ्याएर के पो हुन्छ र ? आँखाकै अगाडि मान्छेलाई पन्छाएर कुकुरहरूले हैकम स्थापित गरेको छर्लङ्ग भएको छ ।

सत्य कुन्नि कताबाट हस्याङ फस्याङ गर्दै स्याँस्याँको तालैमा उभिँदै भन्छ– हुन्छ । यस्तो त अवश्य हुन्छ । मान्छेले असीमित चेतनालाई थन्काएर मान्छेकै भक्ति गर्ने कुकुरको चेतनाको सिको गन थालेपछि त्यस्ता मान्छेको बुद्धिसँगै काया पनि कुकुरमा फेरिने प्रमाणित भइसकेको छ । वैज्ञानिक कसी अनुसार प्रमाण नै प्रस्तुत गर्ने हो भने ऊ अगाडिको भवनमा मान्छेको सट्टा कुकुरको अधिपत्य स्थापित भएको छर्लङ्ग छ । भवनको मूलढोकाको छेउमा नै लेखिएको देखिन्छ कुकुरदेखि जोगिनुहोस् । भ्रम हो कि भनेर परको अर्को भवनतिर कुदेर पुग्दा त्यहाँको ढोकाको छेउमा पनि त्यही वाक्य लेखिएको पाइन्छ । खुर्र कुदेर अर्को भवनतिर पुग्दा पनि त्यही वाक्य कोरिएको देखिन्छ । जुनसुकै भवनभित्र कुकुरहरूको एकक्षत्र रजाइँ चलेको प्रमाणित भएको छ ।

चमत्कार, आश्चर्यलाग्दो चमत्कार भएको छ । विकासवादको ठम्याइमा जीवले कुनै अङ्गको लाखौं वर्षसम्म पुस्तौंपुस्ता प्रयोग नगरेमा त्यो अङ्ग लोप हुने वा नयाँ अङ्ग अनौठो किसिमले प्रकट हुने तथ्य त सुनिएको थियो । यहाँ त विचित्र नै भन्नुपर्छ, एकदुई वर्षकै प्रयासमा भक्तिको संवेदनाले मान्छेलाई पूरै किसिमले फेरेर जनावर बाइदिएको छ । आँखा मजासँग माडेर बङ्गलाहरूका छतछतमा नियाँल्दा एक से एक रङ्गीचङ्गी, मोटाघाटा, लिखुरे, राजनीतिक, बौद्धिक तथा हाउडे कुकुरहरू देखिन थाल्छन् । कसैले झोलघोप्टे, कसैले सित्तैमा रसभरी खाएझैं र कसैले भक्तिको प्रतिफल प्राप्त नगरें झै थरी थरीका अनुहारहरूको प्रदर्शनी गर्दै हुन्छन् ।

कुकुरहरूको लहरमा सबभन्दा पहिले राजनीतिकै कुकुरहरू देखापर्छन् । राजनीतिमा पनि नेतृत्वको उपल्लो तहसम्म पुगिसकेका कुकुुरहरूका अनुहारहरू मात्र खुट्याउन सकिन्छ । नेतृत्वको लाममा नाम दर्ता गराएका कुकुरहरूमध्ये एउटा पनि पिलन्धरे र खियाउँटे कुकुर ठ्याम्मै देखापर्दैन । ती कुकुरहरूको मुख्य ध्येय नेतृत्व प्रदान गर्नुजस्तो ठ्याम्मै लाग्दैन, छट्याइँ गर्नु, अबसर जिप्ट्याउनु, खानु र आङको मासु निरन्तर थप्दै जानु पो लाग्छ । राजनीतिक घोषणापत्रको सारलाई केलाउने हो भने सबै कुकुरहरूको दीर्घकालीन उन्नति र मुक्तिको लागि निसरन्तर सक्रिय हुन नै नेतृत्ववर्गका कुकुरहरूको लक्ष्य हो जस्तो लाग्छ । यथार्थलाई कोट्याउने हो भने परिवार, नातेदार तथा आसेपासेका कल्याणका लागि नेतृत्व प्रत्यक्षरुपमा सक्रिय भएको जस्तो लाग्छ ।

यी कुकुरहरूका कुकुर्नीहरू तथा छाउराछाउरीहरू काल्पनिक स्वर्गका लम्पट देवी देवताहरूले पुलपुल्याएर पालेका कुकुर र कुकुर्नीका भक्तजन जस्तो लाग्छन् । तिनीहरू सामान्य कुकुरका बारेमा चर्चापरिचर्चा नगरी स्वर्गकै बरालिएका कुकुरहरूको महात्यम्य निरन्तर भट्याउने गर्छन् । समय समयमा अराजनीतिक जात्रा र विकृतिको बिसकुन फिजाउने कार्य पनि गर्ने गर्छन् । नेतृत्वको उपल्लो तहमा पुगेका कुकुरहरू अति नै छट्ट हुन्छन् । कुकुरसत्तामा दुईभन्दा बढी पटकसम्म पुगेर भौतिक प्राविधिक दृष्टिले मनग्गे प्रभाव फिंजाउन खप्पिस भएका हुन्छन् । राजनीतिमा भ्रम फिंजाएर आफ्नो अस्तित्वलाई ग¥हुँगो बनाउँदै बाक्लो तरको निरन्तर चाँजोपाँजो मिलाई रहन्छन् ।

कुकुर राजनीतिमा सर्वहारा, लोकतान्त्रिक, गणतान्त्रिक तथा निरङ्कुश समुहका कुकुरहरू सजिलै अटाउन सक्छन् । सर्वहारा राजनीतिको सेरोफेरोमा हुर्किएका कुकुरहरू स्वभावगत किसिमले भन्ने हो भने ज्यादा र अन्तर्राष्ट्रिय कुकुर एकताको फलाको भट्याउन खप्पिस हुन्छन्, तर व्यबहारगत किसिमले शून्य हुन्छन् । स्थानीय सेरोफेरोमा हुर्किए पनि विश्वव्यापी शिष्टाचार, संस्कृति र पहिरनको अनुकरण गर्न प्राथमिक शिक्षा तहका बालबालिका झैं मरिहत्ते गर्छन् । ग्याङ्गठ्याङ्ग कुनै पनि पक्षमा मिल्न सकेन भने आफूलाई नभएर अरुलाई नै सत्तोसराप गर्छन् ।

सर्वहारा राजनीतिमा लहसिएका बंगाली कुकुरहरूको आफ्नै किसिमको महिमा भूमण्डलभरी गौरब मान्दै खुला हृदयबाट भट्याउने गरिन्छ । अन्तर्राष्ट्रिय फाँटमा कुकुरकाव्यको सृजना गरेर खैलाबैला मच्चाइएको छ । त्यसैगरी कुकुरविज्ञान तथा कुकुरअर्थशास्त्रमा पनि ठूलो देन दिइएको छ । तर तिनीहरू आफ्नै सेरोफेरोतिर रमाउने गर्छन्, आफ्नै भान्छामा पलेंटी मारेर उदरपूर्ति गर्छन्, शिष्टाचार पनि आफ्नै प्रस्तृत गर्छन् र विधिव्यवहार पनि आफै अनुकुल प्रस्तुत गरेर मक्ख हुने गर्छन् । यतातिरका लुते कुकुरहरू आफ्नो खलाई बन्धकी लगाएर टुप्पाबाट पलाएको अभिनय गर्छन् । आफ्ना पूर्खाले सृजना गरेका संस्कृतिप्रति वेवास्ता गरी विदेशी पट्टा घाँटीमा झुण्ड्याउँदै पराइ गोत्रका ल्याइते सन्तान प्रमाणित गर्छन् ।

लोकतान्त्रिक राजनीतितिर हुरुक्क हुने कुकुरहरू कपटी, गुरुभक्त र लोकतन्त्रको थेगो प्रयोग गर्दै अपुतालीको राजनीतिको कार्यान्वयनमा सिद्धहस्त पाइएका छन् । घर रुँग्न पालेका घरभेटीलाई वेवास्ता गर्दै छिमेकीका जुठेल्नामा मुख गाड्न राजनीतिको आदर्श ठान्ने गर्छन् । लबाइ, शिष्टाचार तथा मूल्य अरुको ठाडो अनुकरण गरी कुकुरमुक्तिको लक्ष्य तोक्ने गर्छन् । राजनीतिक लक्ष्य आफ्नो सेरोफेरोलाई बिर्सी पराइतिरबाट आयत गर्छन् र कृतज्ञता प्रकट गर्दै पुच्छर हल्लाउन कहिल्यै बिर्सिदैनन् । लोकतान्त्रिक कुकुर शक्तिके मुख्य आपूर्तिको स्रोत भनेकै निरङ्कुश फाँट हो र यसैले लोकतान्त्रिक कुकुरहरू निरङ्कुश फाँटका कुकुरहरूसँग घुलमिल तथा बसउठ गर्न गौरब ठान्ने गर्छन् ।

गणतान्त्रिक राजनीतिमा मान्छेका अनुग्रहले ध्राणशक्ति तिखार्ने कुकुरहरूका गुह्य बेलिबिस्तार लगाउन धैर्यधारण गर्नु आवश्यक छ । खासोखास भन्ने हो भने यस फाँटका बहुमत कुकुरहरू निरङ्कुश राजनीतिको सेरोफेरोमा हुर्किएका कुकुरहरूकै ल्याइतेपट्टिका साथै क्षणिक भूलका कारण उत्पन्न गोप्य सन्तान मानिन्छन् । यससँगै हुक्के, बेसारे र भतुवाका सन्तानहरू पनि यतातिर प्रवेश गरेका हुन्छन् । यस समुहका कुकुरहरू अपरिचितलाई देख्नासाथ भुकेर सातो बोलाउन र चिथोर्न खप्पिस मानिन्छन् । ऐननियम अनुसार अपुताली प्राप्त गर्न यस्ता कुकुरहरू असफल हुन्छन् । मनोवैज्ञानिकहरूका ठम्याइमा दमित मनःस्थितिका कारण नै यस्ता कुकुरहरू बाहिरीरुपमा खरोबादी हुन् भन्ने छ ।

निरङ्कुश र मयाइँवादी राजनीतितिर जीवनअर्पण गर्ने कुकुरहरू परम्परावादी हुने स्वाभाविक नै हो । जीवनका सबै पक्षहरूबाट निवृत्त भए पनि यस्ता कुकुरहरू हिङ नभए पनि हिङ बाँधेको टालोको संसारलाई झलझली सम्झिएर बाँच्दै हुन्छन् । यस्तै कुकुरहरूका शाखासन्तान, गोत्र र दौतरीका झड्केलाहरू सर्वहारावादी, लोकतान्त्रिक, गणतान्त्रिक तथा समावेशी राजनीतिको उपल्लो तहसम्म पुगिसकेकेो सम्झिएर मानसिक रुपमा यस्ता कुकुरहरू अति नै प्रफुल्ल र गतिवान हुन्छन् ।

“उठ्नुस् न बा, कत्ति अबेरसम्म सुत्नुपरेको होला, चिया पनि सेलाइसक्यो ।” सानी छोरीको स्वर सुन्नासाथ ऊ जुरुक्क उठेर खाटमा बस्छ । उसको टाउको एकतमासले रन्किँदै हुन्छ । कस्तो सपना मान्छे सोझै कुकुर जुनिमा प्रवेश गरेको देख्नुप¥यो । प्रकृतिको यसैगरी दोहोलो काढिने क्रम बढ्दै गयो भने मान्छे कुकुर हुन बेर लाग्दैन होला । भन्दै ऊ कोठाबाहिर निस्कन्छ ।

कोटेश्वर । फित्कौली १४ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x