साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिहार (२०७०) सिस्नुपानी देउसी

Nepal Telecom ad

सधैं झैं यस वर्षको तिहारमा पनि सिस्नुपानी नेपालले सावैजनिक सञ्चारमाध्यम रेडियो र टेलिभमिजन मार्फत हास्यव्यङ्ग्यात्मक देउसी कार्यक्रम सम्पन्न गरेको थियो । समसामयिक विषयवस्तुमाथि केन्द्रित धेरै स्रोता एवम् दर्शकहरूले मन अत्यधिक रूचाएको देउसी–गीतको सम्पूर्ण फाँकी फित्कौली डटकमका पाठकहरूलाई पनि रोचक लाग्ला भन्ने ठानी प्रस्तुत गरिएको छ ।

भन भन नेपाली– निर्वाचन
मधेश पहाड हिमाली– निर्वाचन
थारु बाहुन थकाली– निर्वाचन
हामी सबै नेपाली– निर्वाचन
दलैदलको दलदल– निर्वाचन
उम्मेद्वारको दलबल– निर्वाचन
ढुङ्गा र मूढा– निर्वाचन
फुक्लिँदैछन् घुँडा– निर्वाचन
बैद्यका गोला– निर्वाचन
होला कि नहोला– निर्वाचन ।

हाम्रो गाउँको झुसे पनि उम्मेद्वार भाको छ
चुनाव हुने खतरा बढ्दै गाको छ ।

भोट माग्न हिँडेको पर्चा पम्प्लेट बोकेको
बैद्यबाले समातेर झण्डै ठोकेको ।

बाटो घाटो खुला पाइयो मसाज भट्टी बन्द छन्
कुरो बुझ्दा नेताहरूले सहर छाडेछन् ।

बुझ्यौं बल्ल देशको हालत कसले यस्तो बनायो
नेता जब गाउँ पसे गावैं गनायो ।

बानेश्वरको बाटो हिँड्न मान्छे पहिला डराउँथे
राति राति सभासद्का भूत कराउँथे ।

सुते होलान् भन्ठानेको लौ न फेरि जागेछन्
होक्काँ होक्काँ गर्दै ती त गाउँ लागेछन् ।

सहर छाडी साँढेहरू गाउँमा चर्न आका छन्
आफैं आफ्ना गर्धनमा माला लाका छन् ।

जोत्ला जस्तो देखिनेलाई हरियो घाँस हाल्दिनू
नजोत्नेलाई पुच्छरमा पुल्ठो बाल्दिनू ।

बोल बोल देउसे– बोल्ने हो
सत्य कुरा खोल– खोल्ने हो
कागज कसको– चाइनाको
मसी कसको– चाइनाको
स्टाप्लर कसको– चाइनाको
आल्पिन कसको– चाइनाको
मोटर चाहिँ कसको ?– भारतको
पेट्रोल डिजेल– भारतको
झोला डोरी– भारतको
बाकस कसको– जापानको
डटपेन कसको– जापानको
त्रिपाल कसको– फ्रान्सको
अनुगमन कसको– युरोपको
चुनाव खर्च कसको– यु.एस.को
निर्वाचन कसको– चुप चुप चुप
आयोग कसको– चुप चुप चुप
उम्मेद्वार कसको– चुप चुप चुप
हामी कसको– चुप चुप चुप ।

हाम्रा सुशिल दादाको दारी मात्रै गालो खोई ?
हेल्लो दिल्ली ! प्रधानमन्त्री खाने पालो खोई ?

एमाले र काँग्रेसको देखेकै हो ह्याऊ
बैद्यबालाई उचालेर खाने यिनको दाऊ ।

मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
आफैं धामी आफैं झाँक्री कठै मधेश ।

प्रचण्डका परिवारै निर्वाचनमा जुट्या छन्
बाबु, छोरी, भाइ, बुहारी सबै उठ्या छन् ।

महँगीको खिलमाथि खिलखिल गर्छन् खिलराज
दुइटा मोटर एउटै ड्राइभर हाँसे जेमराज ।

राष्ट्रपति यो देउसीको विषय नै बनेनन्
किनभने उनले कुनै बाटो खनेनन् ।

राहत बाँड्न खोज्नेलाई हाल्छौं भन्छन् कारागार
लुटेरा र हत्यारा चाहिँ तिनका उम्मेद्वार ।

पोलौंपोलौं साथी हो मोटर पोली के हुन्छ ?
एउटा पोल्यो दिल्लीले अर्को दिहाल्छ ।

मुक्ति ल्याउने सपना थ्यो सिपाही भए लडाकू
नाइके चाहिँ ट्वार्र ट्वार्र तान्छन् तमाखू ।

लुलाबुढा बाङ्गाटिङ्गा देशमै नेता छान्दैछौं
युवा जति भोटको साटो भिसा हान्दैछौँ ।

दुगड खेतान गोयन्का मित्तल र मुडबरी
नेपालका दलित पीडित गोल्छा चौधरी ।

सुन जनता प्रस्ट हो– लोकमान सिं
सुनसुन भ्रष्ट हो– लोकमान सिं
सुनसुन इष्ट हो– लोकमान सिं
सुनसुन दुष्ट हो– लोकमान सिं
शीर्षस्थको शिरबाट– लोकमान सिं
राजतन्त्रको भीरबाट– लोकमान सिं
तस्करीको तुनाबाट– लोकमान सिं
क्रान्तिकारी कुनाबाट– लोकमान सिं
खरदारसुब्बा समाउलान्– लोकमान सिं
खुट्टा धुन लगाउलान्– लोकमान सिं
भ्रष्टाचार नियन्त्रण– स्यालको सिङ्
सुशासन र सदाचार– स्यालको सिङ् ।

विद्युतका सबै हाकिम अख्तियारको फन्दामा
कुरो नमिलेर हो कि खाने धन्दामा ?

कल्ले फोन गर्यो भनी तीनकल गर्दा चिनिन्छ
त्यसैले त टेलिकमको सीम किनिन्छ ।

उपहारको लोभले एनसेल सिम ल्याइयो
एनसेल माने नेपाल सेल बल्ल चाल पाइयो ।

फुस्स फुस्स हावा हान्छ खानेपानी धाराले
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।

हामी पनि दिइरहन्छौं सरकार पनि दिइरहन्छ
आयल निगम घाटासँगै बोनस खाइरहन्छ ।

भोट माग नेता हो– भोट माग
जोडेर हात– भोट माग
ढोगेर खुट्टा– भोट माग
बोकेर मल– भोट माग
सोहोरेर ढल– भोट माग
मकै छोडाई– भोट माग
पछ्यौरी ओडाई– भोट माग
दाँतै ङिच्याई– भोट माग
लाजै पचाई– भोट माग
चिल्लो लगाई– भोट माग
डराई डराई– भोट माग
रोई कराई– भोट माग
जालैमा फँसाई– भोट माग
काखैमा बसाई– भोट माग ।

कृषि प्रधान देशमा किन बोक्ने कोदालो
कोदालोको बिँड हाली झण्डा उचालो ।

तरकारीको उपचार इन्जेक्सनले गरिन्छ
नखाउँ भोकै परिन्छ, खाँदा मरिन्छ ।

धन हुनेलाई होइन छोरी प्याज हुनेलाई दिने हो
ज्वाईंका लागि आलुको सिक्री किने भो ।

सरकारले ठूलो बजेट मास्टरमाथि खन्याउँछ
मास्टर भने नेताजीको लुतो कन्याउँछ ।

विदेश जाने चेली हो तिहारमा फिर्नू है
एयरपोर्टमा रक्षा गर्लान् होश गर्नू है ।

अधिकारी दम्पतिलाई कसले कठै भन्ने हो
पाप छोप्ने निरुपण आयोग कहिले बन्ने हो ।

नेता भने खोकी लाग्दा सिंगापुर झर्दछन्
डाक्टर चित्र उपचारै नपाई मर्दछन् ।

कस्तो समाज कस्तो देश क्या गजबको चाला
जेलबाट भ्रष्ट छुट्दा एक क्विन्टल माला ।

ए दिँदैछौं आशिष– गनेर
सबैले जितून्– भनेर
सहरको स्याल– गाउँ पसोस्
मृतकका नाउँमा– मत खसोस्
सडकमा खाल्टा– खुल्टी होस्
आश्वासन सुन्दा– उल्टी होस्
ढाडेले बजेट– नचाटोस्
नेताले बाटो– नकाटोस्
जग्गा दलाल अब– नजागून
बैंकका साहू विदेश– नभागून
दान पुण्य गर्न– धन नहोस्
कसरत गर्न– मन नेहोस्
सुगर सधैं– बढ्दो होस्
प्रेसर अझै– चढ्दो होस्
सम्विधान छिटो– लेखियोस्
उज्यालो नेपाल– देखियोस्
भ्रष्टका मनमा– भय होस्
नेपाली जनताको– जय होस् ।।

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
माला चुडाउनेका गाला चड्काऊ नेपाली ।
२०७० कात्तिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x