सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुत्ता दर्शन

Nepal Telecom ad

यस पटक अलिकति जुत्ताको कुरा गरौँ । चिसो मौसम शुरु भएकाले खुटृालाई न्यानो पार्न जुत्ता लगाउने सुर गरेछ भन्नु होला, तर जुत्ताको कुरा सिर्फ लगाउने क्रियासँग मात्र सम्बन्धित छैन । जुत्ता बोकाउने गरिन्छ, जुत्ता सुँघाउने गरिन्छ, जुत्ता हान्ने गरिन्छ र जुत्ता खुवाउने पनि गरिन्छ । जुत्ता मार्फत देखाइने गरेको पौरख सवैका निम्ति सर्वथा पारखयोग्य छैन त ? जुत्ता आखिर खुट्टाको खोल हो तर पञ्जा नामधारी हातको खोलले जुत्ताको तुलनामा खास कुनै औशत महत्व राख्दैन । अर्थात जुत्तालाई आजको मान्छेले एउटा अनिवार्य अङ्ग मानी आएको छ । जुत्ताको चम्किलो टलकमा उसको व्यक्तित्वको झलक देख्न सकिन्छ । त्यसैले जुत्ता मानिसको शान र मान दुवै हो । त्यति मात्र होइन जुत्ताले मानिसलाई जुत्ता बनाउने हैसियत समेत राख्छ । गौर गरेर हेर्नुस् त मानिस स्वयम् जुत्ता बनेर आफ्नो तल्ली गल्ली गल्लीमा रगडी रहेका छन् । औशत नेपाली जुत्ता लगाउन सक्ने अर्थात खुट्टामा खोल हाल्न सक्ने हैसियतमा छैनन् । यस्ता नेपालीहरूले बरु जुत्ता खानु परिरहेको छ, जुत्ता सुँघ्नु परिरहेको छ र आफ्नो टाउकामा जुत्ताको खुर थाप्नु परिरहेको छ ।

खानु र सुँघ्नु दुई अलग अलग कुरा हुन् र दुइटै काम सम्पन्न गर्न भिन्नाभिन्नै अङ्ग विशेष परिचालित हुने गरेका छन् । छारे रोग लागेका झण्डै उनान्सय प्रतिशत नेपाली रोगीहरूले जुत्ताको गन्ध कस्तो हुन्छ भन्ने कुरा सुँघेरै चाल पाएका छन् । जुत्ता सुँघाएर रोगको उपचार गर्ने प्रचलन निकै पुरानो हो । यो प्रचलनले आम नेपालीको चेतना स्तरलाई मापन गरिरहेको छ । जुत्तामाथि कार्यपत्र लेख्ने विद्वत् जनहरूले यो यथार्थलाई समाउन नसक्नु कुनै अनौठो प्रसङ्ग पनि होइन । कार्यपत्रीय विद्वान्हरूको विद्वताका सामु सारसौंदै मानिसलाई जुत्ता सुँघाइरहेको वा सारसौंदै मानिसले जुत्ता सुँघिरहेको दृश्य पनि मामुली नै बन्छ । अर्थात कुनै महत्व राख्ने क्रिया यो हुँदैहोइन । यो पनि एउटा अर्को आम प्रचलन नै हो, जसले नेपाली बुद्धिजीवीको पनि बुद्धिको स्तर मापन गरिरहेको छ ।

कहाँ खुट्टामा लगाउने जुत्ता, कहाँ बुद्धिजीवीहरूको वुद्धि र बुता । ‘कहाँको राजाराम, कहाँको कुन्नि के…. भन्दै यस्तो बेफ्वाँके कुरा गर्नेको नै सुद्धि खुस्किएको त हैन भन्ने शङ्का गर्लान् कसैले । सुद्धि कसैको खुस्किएको छ भने बुद्धिजीवीकै खुस्किएकोे छ । किनभने विचरा बुद्धिजीवीको वुद्धि र बुता दलीय राजनीतिले जुत्ता बनाएर लगाइदिने गरेको कुरा सर्वविदित नै छ । त्यसो त हिजो पञ्चायती राजनीतिले पो कहाँ बाँकी राखेको थियो र ! हिजोको कुरा गर्नासाथ जो कसैलाई पनि सम्झना हुन्छ, बाँसको घाँस हालेर टाट्नामा बाँधिएका बाख्रा पाठाको । बाँस र घाँस कागज उत्पादन निम्ति कच्चा पदार्थको रुपमा प्रयोग हुने गरेको कुरा यहाँ अथ्र्याइ रहनु पर्दैन । अनि आजको दुनियामा कागजको नोट बहुप्रचलित छँदैछ । ०४६ सालको फागुन ७ गते पञ्चायती व्यवस्थाको जय मनाउँदै निस्किएको जुलुसमा टाट्नाको दाम्लैस“ग के कति वौद्धिक खसिबोका हाजिर थिए यो पनि जगजाहेर नै छ । टाट्नो, घा“स र दाम्लामै अभ्यस्त भएका बौद्धिकहरू व्यवस्थाको परिवर्तनपछि पनि मानसिकतामा परिवर्तन ल्याउन आवश्यक ठान्दैनन् । ‘भदौमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ’ भन्ने उखानले यहाँ ठ्याम्मै मेल खाएको छ, जस्तो पूर्वपञ्च र वर्तमान काङ्ग्रेसका बिच अभूतपूर्व मेल भएको थियो कुनैबेला ।

कुरा बुद्धिजीवीको मात्रै होइन । जहाँ पनि, जुनसुकैलाई, जो कसैले जुत्ता बनाउन भगिरथ प्रयत्न गरी रहेको हुन्छ । म स्वयम् यसबाट बच्न सकेको कहाँ छु र ! मलाई जुत्ता बनाएर धेरैले आफ्नो व्यक्तित्व टल्काएका छन् । धेरैजनाले मेरो पौरखमाथि, मेरो मेहनत र पसिनामाथि पौडेर सफलताको समुद्र तरेका छन् । मेरो टाउको माथि कैयौँपटक यमानका जुत्ता मच्मची कुल्चँदै दगुरेको अनुभूति गरेको छु । मेरो मर्मस्थलले जुत्ताका कैयन निर्दयी प्रहार बेहोरेको छ । अनि आजन्म छारे रोगले छुँदै नछोएको म निरोगी पनि कैयौँपटक बेफ्वाँकमा जुत्ता सुँध्न विवश भएको छु । यो मर्म मेरो मात्रै कहाँ हो र ? यहाँ जुत्ता बेगरका म जस्ता जो कोही मनुवाहरू अर्कैका जुत्ता खाइरहेका छन् । जुत्ता धनीहरू पनि बेरोकटोक जुत्ता खुवाइरहेका छन् । भर्खरै एकजना मास्टरसावसँग मेरो जम्काभेट भएको थियो । ग्रामीण क्षेत्रको एउटा स्कुलमा उनले सेवा गरेको पुगनपुग १३ वर्ष हुन लागेछ । गाविस अध्यक्षका छाउरा छाउरीलाई बिहान बेलुका ट्युसन नपढाइ दिएको झोंकमा जुत्तै खाएर स्कुलबाट घोक्रेठ्याक भएछन् विचरा । जुत्ता खान यहाँ कुनै अपराध गर्नु नपर्ने भएको छ । बस् जुत्ता धनीहरूको इच्छा वा आदेशको थोरै मात्र उल्लङ्घन भयो भने पुग्छ, याने कि पुगिरहेको छ ।

कर्मचारीतन्त्र भित्र पसेर यसो अवलोकन गर्नुस् त, त्यहाँ झन् कति स्वादले एक आपसमा जुत्ता हानाहान चलिरेहेको देखिन्छ । जी.एम्.ले शाखा अधिकृतलाई हानी रहेको छ, अधिकृतले सुव्बालाई दनक दिइ रहेको छ, सुव्बाले खर्दारलाई त खर्दारले मुखियालाई, अनि मुखिया वैदार सव मिलेर त्यहाँभन्दा तलकालाई जुत्ता हान्ने, सुँघाउने र खुवाउने कार्य गज्जवसँग र दिनहुँजसो भइरहेको छ । मास्तिरको तहतिर त झनै रमाइलो देखिन्छ । एउटा सचिवले अर्को सचिवलाई तँ माले होस् भनेर जुत्ता सुघाउने अनि अर्कोले अर्कैलाई तँ काँग्रेस होस् भन्दै जुत्ता खाने एवं खुवाउने पवित्र कार्य काइदासँग सम्पादन भैरहेको छ ।

अस्ति मात्रै एकजना चिरपरिचित बृद्ध सुब्बासँग निकै दिनपछि जम्काभेट भयो । उनको गाला, गर्धन र टाउकोमा गज्जबसँग काम्रो हालिएको थियो । यो के भयो भनी मैले आत्तिँदै सोधेँ । सुब्बाले बेलिबिस्तार लगाए । एक दिनको आम्दानीरुपी घूसको तुष आप्mनै फाँटका शाखा अधिकृतज्यू समक्ष गोप्य दाखिला नगरेको झोंकमा अधिकृतले जुत्तै जुत्ताले सेवा सुश्रुषा गरी दिएछन् आप्mनै फाँटमा । धत् ! यस्तो कुरा पनि काहीँ हुन्छ ? भन्नु होला, अथवा यस्तो भएको भए त सार्वजनिक जानकारीमा आइहाल्थ्यो नि ! भन्ने पनि ठान्नु होला । तर त्यसो विलकुलै होइन । यो मुलुकमा भएका सवै कुरा सार्वजनिक हुने गरेका छैनन् । जसरी घूस लिनेदिने क्रिया हत्पति सार्वजनिक हुन्न, त्यसै गरी घूस भागबण्डाको तानातान सम्बन्धी भएका झगडाका कारण सम्पन्न जुत्ता हानाहान काण्ड पनि सार्वजनिक हुने गरेका छैनन् ।

जुत्ताका मालिकहरूको हैसियत अनुसार जुत्ताको बनोट, साइज तथा आकार प्रकार हुने गर्दछ । कुनै जुत्ता हुन्छन् बडेमाका बुट, अनि कुनै हुन्छन् साना छरिता तर छुराको जस्तै तीखा टुँडावाल । जुन साइज वा आकार प्रकारका हुन् जुत्ताको वैध अवैध सवै काम भनेको मर्मस्थलमा प्रहार गर्नु, टेक्नु, कुल्चिनु वा थिच्नु नै हो । चाहे छालाको होस् या कपडाको, जुत्ताले कसैको खुट्टाको सुरक्षा गरिरहे पनि कसैको टाउकोलाई असुरक्षा प्रदान गरी रहेको हुन्छ । खुट्टामा लगाइने खुट्टाको खोल जाबो जुत्ता मान्छेको टाउकोमा सवार भएर शासन गरिरहेको छ भन्दा तपाईंलाई र अरु कसैलाई पनि आश्चर्य लाग्न सक्छ । तर अहिले हाम्रो मुलुकमा हुनुहुनामी अरु जे भइरहेको छ त्यो त आश्चर्यजनक मानिन्न भने टाउको माथि जुत्ताको शासन चलिरहेको छ भनिदिँदा आश्चर्य मान्नु पर्ने के आवश्यकता पर्यो र !

लौ हेर्नुहोस त ! राजनीतिमा नेताले नेतालाई जुत्ता हानी रहेका छन्, कार्यकर्ताले कार्यकर्तालाई त्यसै गरी जुत्ता सुँघाइ रहेका छन्, जुत्ताकै अद्वितीय प्रहारद्वारा एकले अर्कोलाई प्रभावहीन पार्न जब अनेकथरी कसरत चली रहेको छ भने जुत्ता वर्तमानको क्षेप्याश्त्र, मिसाइल, बम तथा अणुवम हो भनी दिए केही बित्याँस पर्दैन । जब कि हाम्रो मुलुक गुलेली युगबाट अलिकति माथि भरुवा बन्दुकको युगमा आएको छ । अनि कुनै बेला नेपालका विद्रोहीहरूले यदाकदा पड्काउने गरेको जिलेटिन युद्धलाई पनि यो जुत्तायुद्धले सजिलै जित्न सक्ने छ ।

जुत्ता युद्धमा कामयाबी यस्तो औजारका बारेमा पर्याप्त शोध अनुसन्धान गर्दै बहुउपयोगिता र आवश्यकता पहिचान गर्नु अत्यन्त उपलब्धीपूर्ण कार्य हुने थियो । युनिभरसिटीतिर उग्राइरहेका तर जुत्ता प्रहारमा अभ्यस्त वा अभिरुचि राख्नेहरूको बगाललाई यो पुनित कार्यमा संलग्न गराउन सके साह्रै बेस हुने थियो । कम्सेकम यो मुलुकमा एउटा नया“ दर्शन त जन्मिने थियो– जुत्ता दर्शन । त्यसो भएपछि वर्षेनि थोत्रा थेसिस लेख्न विषय लपाउनेहरूका निम्ति ‘जुत्ता कसरी हानिन्छ ?’, ‘कस्तो प्रकारको प्रहारमा कस्तो स्वाद प्राप्त हुन्छ ?’, ‘कस्ता कस्ता खुट्टामा जडान भएका जुत्ता मिसाइलले बढी प्रभावकारी मार हान्न सक्छ ?’ भन्ने जस्ता नया“ शोध शीर्षकहरू थपिने थिए । अनि त मै लठुवा पनि यस्तै एउटा शोध शीर्षकमा थेसिस गोदेर डिग्री कम डाक्टरको उपाधि जिप्ट्याउन कम्बर कसेर धम्बरधुस गर्ने थिएँ त । वा… ! जुत्ता दर्शनको पहिलो पिएचडी !! मै पाे पड्काइ दिन्थेँ । 
मङ्सिर , २०५३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad