आवाज शर्मापर्वत खनेर
पर्वत खनेर कत्रो कोशिस गरेर आयो
निस्क्यो मुसा र पो यो जाँगर मरेर आयो ।
राखेर पेट खाली जस्ले छरेर आयो
रित्तै छ ऊ, कसैले धोक्रो भरेर आयो ।
सुन्दैछु सभ्य पारा सिक्दैछ गाउँ घरले,
भोकै रहे बचेरा माऊ चरेर आयो ।
सम्झन्छु भन्नु उसको होला कुनै प्रयोजन,
बिर्सेर जान्छ लठ्ठी खोला तरेर आयो ।
यो शान्तिक्षेत्र मेरो सुन्दर पवित्र धर्ती,
बन्दैछ नर्क, कस्को आँखा परेर आयो ।
मनमा लुकाई राखूँ, या यो नयन सजाऊँ,
आकाशबाट यौटा तारा झरेर आयो ।
मुर्दा मसानबाटै जागी गुहार भन्ला
आवाज गुम छ यो के बेथा सरेर आयो ??
Subscribe
Login
0 Comments
Oldest






































