सुलसुलेडा.समीरको कृति ‘एकलव्य दृष्टि’ प्रकाशित
काठमाडौं, ३ वैशाख । पेशाले प्रजजन तथा बालस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीरको आठौँ लघुकथा सङ्ग्रह ‘एकलव्य दृष्टि’ प्रकाशित भएको छ । ८२ वटा अप्रकाशित लघुकथाहरूको सङ्ग्रह एकलव्य दृष्टिमा वर्तमान समाजमा अन्तरनिहित राजनैतिक, सामाजिक, धामिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसङ्गति एवम् द्वैध चरित्रलाई व्यङ्ग्य प्रहार गरिएको छ ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा रहेका विविध पाटाहरूलाई विविध कोणबाट उजागर गरिएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । कृतिका बारेमा मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले भने, ‘एकलव्य दृष्टि’ मा ८२ वटा लघुकथा भए पनि यसको केन्द्रीय पात्र एक जना छन् डा. शर्मा । विरामीको संवेदना र डाक्टरको साहित्यिक सम्बन्धबाट जन्मिएको कृति हो ‘एकलव्य दृष्टि’ ।
त्यस्तै चर्चिच हास्यव्यङ्ग्यकार हरिवंश आर्चायले ‘एकलव्य दृष्टि’को एउटा लघुकथा तीन घण्टामा हेर्ने सिनेमाको सन्देश भन्दा बढीको रहेको बताएका छन् । ‘एकलव्य दृष्टि’ व्यस्त जीवनको साहित्य हो’ उनले भनेका छन् ।
यसअघि रवीन्द्र समीरका तेस्रो आँखा, पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड तथा व्यङ्ग्यम शरणं गच्छामी लघुकथा सङ्ग्रह प्रकाशित छन् । यसबाहेक उनको मुक्तक सङ्ग्रह चाँदीको घेरा र ग्रेटवालको ग्रेट अनुभूति नियात्रा सङ्ग्रह पनि प्रकाशित छन् ।
समीर लघुकथा विधाका सशक्त तथा अग्रणी कथाकार हुन् । समीरले पद्मश्री साहित्य सम्मान, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभुषण पदक लगायत दुई दर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































