सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्य कविगोष्ठी

Nepal Telecom ad

कविगोष्ठी भन्ने चिज बेलाबखतमा भैरहने कुरो हो । डेढ–दुई दर्जन कविहरू जम्मा भयो, एकआपसमा कविता सुनायो, चियासँग बिस्कुट चपायो बस् कविगोष्ठी । कुनैकुनै कविगोष्ठीमा कसैकसैका अर्धाङ्गीनी र उत्तराधिकारी समेत आए भने स्रोताको आशन ग्रहण पनि भैहाल्छ होइन भने कविताको मर्म नबुझ्ने स्रोता जाबा नभए पनि केही फरक पर्दैन । एकताली एउटा अनौठो किसिमको हास्यव्यङ्ग्य कविगोष्ठी आयोजना गर्ने जुक्ति फु¥यो कखग साहित्य समाजलाई । कस्तो जुक्ति त भन्दाखेरी सम्पूर्ण वर्तमान÷निवर्तमान मन्त्री, प्रधानमन्त्रीहरूलाई विशेष अतिथि भनेर कार्ड पठाउने । शिलान्यासको कार्यक्रम पनि छ भनेर कार्डमा लेखिदिने । शिलान्यास भन्ने शब्द देख्नेबित्तिकै मन्त्री, प्रधानमन्त्रीहरू नआउने कुरै भएन । तर के को शिलान्यास भन्नेकुरो चाहीँ गोप्य राख्ने । प्रत्यक्ष प्रशारणको लागि सम्पूर्ण टेलिभिजनहरूलाई पनि डाक्ने । एकआपसमा व्यङ्ग्य कविता सुनेर÷सुनाएर केही फाइदा नहुने भएकोले यसरी सुनाउनै पर्ने व्यक्तिहरूलाई नै अगाडी राख्ने जुक्ति निकालियो । जुक्ति अनुसार सबै काम गरियो । कविगोष्ठीको इज्जत र गच्छे अनुसार फोटोकपीवाला टुक्रे कार्ड पनि वितरण गरियो ।

कार्यक्रमको दिन कार्ड पाएजति मन्त्री, प्रधानमन्त्रीहरू सबै उपस्थित भए । सुरुमा त सबैले अरुलाई समेत देख्दा अचम्म मान्दै मुखामुख गरे । कोही हात मिलाउनतिर लागे । कसैले जय नेपाल भने, कसैले लालसलाम भने, कसैले नमस्कार गरे । प्रत्यक्ष प्रशारणको होडबाजीमा सम्पूर्ण टेलिभिजनकर्मीहरू पनि तम्तयार भए । इतिहासमै पहिलोपल्ट तोकिएकै समयमा कार्यक्रम सुरु भयो । सम्पूर्ण वर्तमान/निवर्तमान मन्त्री एवम् प्रधानमन्त्रीहरूलाई आ–आफ्नै स्थानमा आशन ग्रहण गराइयो । उपस्थीत सबै व्यङ्ग्यकविहरूलाई सामुहिक सभापतिका रुपमा मञ्चमा राखियो । एउटा इट्टा अतिथिहरूतिर घुमाइयो र सबैलाई छुन लगाइयो । सबैले छोएको उक्त इट्टालाई बारीतिर हुर्याइयो । विशेष अतिथिहरूले मुखामुख गरे । कार्यक्रम सञ्चालकले सर्वप्रथम काइँकुइँ गरिरहेको माइकलाई ठोके । परिक्षणको लागि एकपटक खोके । अनि भन्न लागे, माननीय विशेष अतिथिज्यूहरू ! आखिर हजुरहरूले शिलान्यास गरेका चिजहरू धेरैजसो बन्ने पनि होइनन् । शिलान्यास गर्यो, सिध्दियो । आखिर हुने त त्यै हो । त्यै भएर हामीले आज यो तरिका अपनाएका हौँ । जुन इट्टा भर्खर बाहिर फालियो, कुनै न कुनै दिन केही न केही बनाउने कुरामा त्यो प्रयोग हुनेछ । जे बन्नेछ त्यसैको शिलान्यास तपाइँहरूले सामुहिक रुपमा गर्नुभयो त्यसका लागि हामी आभारी छौँ । सञ्चालकले यति भन्दा भन्दै ढोकामा बाहिरबाट कसैले चाबी पड्काइदियो । गाइँगुइँ नगरीकन कविता सुन्नका लागि निर्देशन दिइयो । प्रत्यक्ष प्रशारण भैरहेको कुरा पुनः एकपटक दोहोर्याउँदै सञ्चालकले पहिलो कविलाई आफ्नो कविता वाचन गर्न अनुरोध गरे । कविले “संविधानसभा” र “सरकार” शीर्षकका आफ्ना दुई टुक्रा यसरी प्रस्तुत गरे–
सभासदहरू घुरेको घुर्यै
गर्न पाएका छन्
देशको सम्पत्ति तुरेको तुर्यै
गर्न पाएका छन्
जनताहरू पनि कम्तिका छन् र !
नयाँ संविधान कुरेको कुर्यै
गर्न पाएका छन् ।

पहिले पहिलेका सरकारहरूलाई
प्रतिपक्षले ‘फू’ गरेर ढलाइदिन्थे
राजाहरूले ‘कू’ गरेर ढलाइदिन्थे
तर आजभोलिका सरकारहरूलाई
न त ‘फू’ गर्नुपर्छ
न त ‘कू’ गर्नुपर्छ
गठबन्धन भित्रैको कुनै एउटा दलले
‘थू’गर्दिए पुग्छ ।
विशेष अतिथिज्यूहरूमा हाँसोको फोहोरा छुट्यो । कोही कुम हल्लाउँदै हाँसे । कोही मुख छोपेर हाँसे । कोही दाँतै नदेखाई हाँसे । कोही बत्तिसवटै देखाएर हाँसे । कविलाई धन्यवाद दिँदै सञ्चालकले दोस्रो कविलाई आफ्नो कविता वाचन गर्न अनुरोध गरे । कविले “भोट” शीर्षकको आफ्नो कविता यसरी प्रस्तुत गरे–
मैले पनि यसपाली त
एउटा नयाँ कोट हालेँ
यसपालीको चुनावमा
पन्ध्रपल्ट भोट हालेँ ।

कोटको भित्रि खल्ती भित्र
हजार–हजारको नोट हालेँ
मैले पनि यसपाली त
पन्ध्रपल्ट भोट हालेँ ।

कोट पनि, नोट पनि
बिनासित्ति बाँड्दै हिँड्ने
कुनै नेता होलान् त्यस्ता ?
मैले पनि झ्याऊ नमानी
जति भने त्यति हालेँ
यसपाली त मैले पनि
पन्ध्रपल्ट भोट हालेँ ।

विशेष अतिथिज्यूहरूले दन्तलहर प्रदर्शन गर्दै मुखामुख गरे । कसैले कोट बाँडेको सम्झिए, कसैले नोट बाँडेको सम्झिए भने कसैले बुथ क्याप्चर गरेको सम्झिए । कविलाई धन्यवाद दिँदै सञ्चालकले तेस्रो कविलाई आफ्नो कविता वाचन गर्न अनुरोध गरे । कविले “बिन्ती” शीर्षकको आफ्नो कविता यसरी प्रस्तुत गरे–
सके प्रधानमन्त्री नै पड्काउँला
नसके उप नै भए पनि चड्काउँला
कुलङ्गारै भएपनि
एकपल्टलाई त मन पराइदिनुहोस्
बिन्ती छ आगामी चुनावमा
मलाई अत्याधिक मतले हराइदिनुहोस् ।

अहिलेसम्म जित्नेले समेत नगरेको
उपद्रो गरेर छक्कै गर्नेछु
देशको विकास गर्न नसके पनि
यसको(भुँडी देखाउँदै) विकास त पक्कै गर्नेछु
कृपया यति जाबो एउटा इच्छा त
पूरा गराइदिनुहोस्
बिन्ती छ आगामी चुनावमा
मलाई अत्याधिक मतले हराइदिनुहोस् ।

जितुवा अतिथिहरू खुट्टा उचाली–उचाली हाँसे । हरूवा अतिथिहरू हाँस्न छाडेर आँखा बटार्न थाले । कविलाई धन्यवाद दिँदै सञ्चालकले चौथो कविलाई आफ्नो कविता वाचन गर्न अनुरोध गरे । कविले “भन्न नजानेपछि” शीर्षकको आफ्नो कविता यसरी प्रस्तुत गरे–
भन्न नजानेपछि
होँचालाई अग्ला भनिन्छ
कालालाई सेता भनिन्छ
भन्न नजानेपछि
दायाँलाई बायाँ भनिन्छ
उतालाई यता भनिन्छ
भन्न नजानेपछि
घर लुट्नेलाई डाँका भनिन्छ
देश लुट्नेलाई नेता भनिन्छ ।

विशेष अतिथिज्यूहरूको मुस्कुराहट एकाएक हरायो । चोरले खुट्टा उचाले झैँ लुटेराहरूले आँखा झुकाए । कविलाई धन्यवाद दिँदै सञ्चालकले पाँचौँ कविलाई आफ्नो कविता वाचन गर्न अनुरोध गरे । कविले “लुटेराहरू” शीर्षकको आफ्नो कविता यसरी प्रस्तुत गरे–
लुट्ने पालो कैले आउला ?
सत्ताको कुर्ची ढुक्न मात्र जान्दछन्
कहिले स्वदेशी प्रभु कहिले विदेशी प्रभु
झुक्न मात्र जान्दछन्
सिन्को भाँच्ने खुबी छैन
संसदखोरका जन्तुहरू
भुक्न मात्र जान्दछन् ।

लुट्न मिल्ने जति लगभग लुटिसके
केही छाडेनन् लुटेराहरूले
मात्र बचेको अस्मिता लुट्न
अब देशलाई नै नङ्ग्याउने भए
सुध्रने त चान्सै छैन
कुकुरको पुच्छर त बरु
जस्ताको तस्तै हुन्थ्यो
यिनीहरूले त ढुङ्ग्रै बङ्ग्याउने भए ।

विशेष अतिथिज्यूहरूको मुख मलिन हुन थाल्यो । कसैको अनुहार रातो भयो, कसैको निलो भयो भने कसैको कालो । कविलाई धन्यवाद दिँदै सञ्चालकले छैठौँ कविलाई आफ्नो कविता वाचन गर्न अनुरोध गरे । कविले “मलाई भन्नुस्” शीर्षकको आफ्नो कविता यसरी प्रस्तुत गरे–
अधिकृतको गाला मात्रै बजाएर पुग्दैन अब
सचिवकै बङ्गारा गन्नुस्
तिनका पिताको बिर्ता हो र सरकार !
सानसँग मन्त्रि बन्नुस्
कुनै नाथेले रोक्न खोजे
मलाई भन्नुस् ।

कि त युद्धमा लछारिएर आउनुस्
कि त चुनावमा पछारिएर आउनुस्
तिनका पिताको बिर्ता हो र सरकार !
सानसँग प्रधानमन्त्री बन्नुस्
कुनै नाथेले रोक्न खोजे
मलाई भन्नुस् ।

विशेष अतिथिज्यूहरूले पसिना काढ्न थाले । कसैले लामो सास फेर्न थाले भने कसैले भुइँतिर हेर्न थाले । कविलाई धन्यवाद दिँदै सञ्चालकले सातौँ कविलाई आफ्नो कविता वाचन गर्न अनुरोध गरे । कविले “सुझाव” शीर्षकको आफ्नो कविता यसरी प्रस्तुत गरे ।
ललाटमा खरानी दलेर
गेरुबस्त्र भिरे हुन्छ
सिन्को भाँच्न पनि अब
दिल्ली छिरे हुन्छ ।

दिल्लीले झेल्ली नगर्दासम्म
कुनै सिल्ली सरकारमा पुग्दैन
तिम्रा बा–आमा उतै छन्
शाष्टाङ्ग दण्डवत् गर्न जाऊ
गिर्नु तिम्रो चरित्र हो
जति गिरेपनि तिमीलाई लाज लाग्दैन
भए पो लाग्छ
लाज त देख्नेलाई लाग्छ
हामी लजाइदिउँला
तिमी ढुक्क भएर अझै गिरे हुन्छ
पात हल्लाउन सकेनौँ त के भो ?
दिल्ली छिरे हुन्छ ।

साला–साली, भाञ्जा–भाञ्जी,
भतिजा–भतिजीलाई पोसे भैहाल्यो
भेँडे जनतालाई जति गिँडे पनि हुन्छ
मृत्युवरण नगरेसम्म तिम्रो
बुद्धि फिर्लाजस्तो लागेन
पिरैपिरको थुप्रोमा पुरिएका जनतालाई
अझै पिरे हुन्छ
त्यति बुद्धि पनि
आफैँ लाउन सकेनौँ भने
दिल्ली छिरे हुन्छ ।

दिमागमा तिम्रो गोबर नभएको भए
यत्तिकै पनि देश स्वर्ग बन्न सक्थ्यो
हलो जोत्नुपर्ने दिमागले
भलो देशको इस…हुन्छ !
देशलाई काँक्रा सम्झेर चिरे हुन्छ
छियाछिया पारेर आमाको भारा तिरे हुन्छ
त्यो पनि आफै सकेनौँ भने
दिल्ली छिरे हुन्छ ।

विशेष अतिथिज्यूहरूका आँखाबाट आँसु चुहिन थाल्यो । सञ्चालकले सबैलाई एकमुष्ठ धन्यवाद दिँदै कविता वाचन कार्यक्रमको अन्त्य भएको घोषणा गरे । जाँदाजाँदै सम्पूर्ण विशेष अतिथिज्यूहरूका हातमा तेह्र रुपैयाँ थमाइयो । अतिथिज्यूहरूको भुँडीलाई आधार मान्दा खानेकुराको खासै आवश्यकता नदेखिएकोले चियाको आठ रुपैयाँ र आधा बिस्कुटको पाँच रुपैयाँ गरी जम्मा तेह्र रुपैयाँ नगद दिइएको जानकारी गराइयो । लुटेराहरूलाई नगद नै दिँदा उचित हुने तर्क दिइयो । विशेष अतिथिज्यूहरू तेह्र रुपैयाँ खल्तिमा हाल्दै, रातो–पिरो अनुहार लगाउँदै आ–आफ्ना प्राडो–पजेरोहरूतिर लाग्दा भए ।
‘फुलौरा’ सङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad