विमल निभाजेम्स हेनरी वालसनको समाजवाद
संविधानको मस्यौदाले कोही पनि खुसी छैन । कहाँसम्म भने यसलाई अक्षर प्रदान गर्ने मुख्य घटक नेपाली कांग्रेस पार्टी पनि अत्यधिक बेखुसी देखिन्छ । वस्तुतस् संविधानको प्रारम्भिक लिखतमा एउटा शब्द ‘समाजवाद’ परेकोमा कांग्रेसीहरू यसरी कुपित भएका हुन् । यद्यपि नेपालको पुरानो पार्टी नेपाली कांग्रेस स्वयम्लाई अति गौरवका साथ समाजवादी पार्टी भन्नमा कुनै संकोच मान्दैन ।
यसको कारणबारे मैले पर्याप्त सोचविचार गरेँ । तर हातमा लागि भएको निष्कर्षहीनताले गर्दा कुनै सरोकारवाला कांग्रेसी बन्धुसँग नै सोधपुछ गर्नुपर्ला भन्ने लाग्यो । यही अत्युत्तम थियो । किनभने अन्ततस् म कुनै कांग्रेसी त होइन । अतएव म के गर्न सक्छु ? त्यसकारण एउटा खाँटी कांग्रेसीको चयन गरेर त्यसको शरणमा जाने आखिरी निर्णयका साथ म गुरुको पकनाजोलस्थित दरबारमा पुगेँ ।
‘जयनेपाल गुरु !’ म बाहिरैबाट बेसरी कराएँ, तर कुनै फिर्ती आवाज नआएकोले गेट खोलेर फेरि भनेँ, ‘गुरु जय नेपाल !’
‘जय नेपाल !’ गुरुको मोटो काया एउटा मोटै पुस्तक काखीमा च्यापेर देखार्यो ।
‘के गरिरहनुभएको गुरु ?’
‘म यो पुस्तक सिध्याउनमा लागेको थिएँ ।’ गुरुले पुस्तक हातमा लिए, ‘जेम्स हेनरी वालसनको लेटेस्ट पुस्तक हो ।’
‘को जेम्स वालसन गुरु ?’ मैले सोधेँ ।
‘राजनीतिका ठूला स्कलर हुन् ।’ गुरुले मेरो अज्ञानतामा हलुका हाँसो थपेर भने, ‘प्रोफेसर जेम्स हेनरी वालसन ।’
म त गुरुलाई नै ठूलो विद्वान ठान्ने भएकोले प्रोफेसर जेम्स हेनरी वालसनको विषयमा खास जानकारी लिने अभिरुचि देखाइन । त्यसैले केही नभनेर अर्थात् मौन मुद्रामा गुरु सँगसँगै उनको भव्य लाइब्रेरी रूममा पसेँ । हामी सोफामा विस्तारै बस्यौं । गुरुको पावरदार चस्माभित्रका एकजोडा प्रश्नवाचक आँखा ममाथि थियो । मैले अप्ठ्यारोका साथ भनें, ‘गुरु धेरै दिन भयो तपाईंसँग भेटघाट नभएको ।’ यसको समर्थनमा गुरुको चिल्लो टाउको एउटा लयमा हल्लियो ।
‘वास्तवमा म एउटा राजनीतिक प्रश्नसहित आएको हुँ गुरु ।’ मैले भनेँ ।
‘कस्तो प्रश्न ?’ गुरुको एउटा आँखाको किनारामा थोरै संकुचन पैदा भयो ।
‘तपाईहरूसँगै सम्बन्धित कुरा हो गुरु ।’
‘ठीक छ, के कुरा हो, भन ?’
‘गुरु तपाईहरू समाजवादी होइन ?’ मैले एक्कासी सोधें ।
‘यो के प्रश्न हो ?’ गुरुको निधार खुम्चियो, ‘हाम्रो पार्टी नेपाली कांग्रेस पार्टी समाजवादमा विश्वास गर्छ भनी सबैलाई थाहा छ ।’
‘साँच्चै हो र गुरु ?’
‘होइन, तिम्रो यस्तो सोधाइको आशय के हो ?’ गुरुको क्रोधको पारा मास्तिर पुगेको थियो, ‘हामी अहिलेको समाजवादी होइनौं ।’
‘अनि कहिलेदेखिको समाजवादी गुरु ?’
‘हामी महामानव वीपीको पालादेखिको समाजवादी हौं ।’
अहिलेसम्ममा गुरु गम्भीर देखिएका थिए भने मेरो ओँठको कापमा अलिकति स्मित थियो । यही अल्पमुस्कानको अर्थ जान्ने प्रयत्नमा गुरु मलाई एकनासले ताकिरहेका थिए । मैले उनको मिहिनेत केही कम गर्ने हेतुले सोझै विषयमा ओर्लेर भनें, ‘गुरु, कांग्रेस समाजवादी पार्टी हो भने संविधानको मस्यौदामा ‘समाजवाद’ लेखिएकोमा किन यतिको कांग्रेसी कोकोहोलो मच्चिएको हो ?’
मेरो प्रश्नको त्वरित प्रतिक्रियास्वरूप गुरुको पावरदार चस्माभित्रका आँखा बन्द भएको देखार्पयो । यो चिन्तनको गुरुमुद्रा थियो । कहिलेकाहीं उत्तरहीनतामा प्रस्तुत हुन गुरु यस्तै पेटेन्ट शैली अपनाउँथे । केही समयपश्चात सहसा आँखा खोलेर गुरु उत्तरित भए, ‘हेर, तिम्रो प्रश्नको उत्तरका लागि मैले हार्डी बेकनको सहयोग लिनुपर्छ ।’
‘को हार्डी बेकन गुरु ?’
‘विगत शताब्दीका प्रखर समाजवादी चिन्तक हार्डी बेकनले आफ्ना चिन्तनमा समाजवादमाथि विस्तारले प्रकाश पारेका छन् ।’ गुरु पनि चिन्तनमै बोलिरहेका थिए, ‘वास्तवमा समाजवादलाई संक्षिप्त दृष्टिकोणले नियाल्नु कुनै बुद्धिमानी कार्य नै होइन ।’
‘यस्तै हार्डी बेकनसँग सम्पूर्ण उदारतासाथ सहमत चार्ली मार्लो, जोनसन रोडिक, रोसो बेली, ह्यारी लुथर, मार्को फिलिप्स, बिली फोक्नर आदिले पनि यही प्रकारले भनेका छन् ।’ एकछिनको निस्शब्दतापछि गुरुले फेरि भने, ‘हामीले समाजवादलाई विस्तृत तौरतरिकाले ग्रहण गर्न सक्नुपर्छ । यसलाई सीमित घेरामा राखिराख्नु केही गरी पनि मिल्दैन । त्यसैले हामीले असाध्यै फराकिलो आयाममा समाजवादलाई लिइरहेका छौं ।’ मलाई आश्चर्यचकित भएको पाएर गुरुले थपे, ‘अझ सर विलियम नर्मन नाथनले त सूक्ष्म ढंगले के भनेका छन् भने सबै समाजवादीले समाजवादलाई सीमाहीन भएर आत्मसात गर्नु जरुरी छ ।’
‘के भन्नुभएको गुरु ?’ म गुरुको कडा बौद्धिक आक्रमणले अलमलिएको अवस्थामा थिएँ ।
मेरो प्रश्नको सम्पूर्ण बेवास्ता गरेर गुरुले पावरदार चस्मा हातमा लिए । त्यसपछि दुवै आँखा चिम्म गरे । याने उनको अतिरिक्त चिन्तनको प्रक्रिया फेरि चालु भयो । म आँखा खुल्ने व्यग्रताका साथ प्रतीक्षा गर्न थालेँ । अरु के गर्न सक्थेँ त ? झन्डै अढाई मिनेटपश्चात गुरुले आँखा खोलेर भारी आवाजमा भने, ‘नेपाली कांग्रेस पार्टीको समाजवादलाई पनि यही वास्तविक परिप्रेक्ष्यमा बुझ्नु सही हुनेछ ।’ म केही नबुझेको भावमा शिर अलिक ढल्काएर बसेको थिएँ ।
‘हामी अन्तर्रा्ष्ट्रिय समाजवादी हौं ।’ गुरुवाणीमा गम्भीरता आयो, ‘यहाँको राष्ट्रिय सन्दर्भमा रहेर हाम्रो समाजवादबारे झटपट कुनै सरल निष्कर्षमा पुग्नु हुँदैन ।’
‘के भन्नुभएको गुरु ?’ म झन् अलमलिएँ ।
मेरो प्रश्नको जवाफमा गुरुको चिल्लो टाउको केही हल्लियो । म त्यतैतिर एकहोरो हेरिरहेको थिएँ । सायद चिन्तनको भारले गुरुको आँखाको ढकनी फेरि बन्द भयो । उनले यही मुद्रामा भने, ‘समाजवादीहरूका अन्तर्रा्ष्ट्रिय संगठन सोसलिष्ट इन्टरनेसनलमा हाम्रो पार्टी नेपाली कांग्रेसको बलियो सहभागिता रहेको छ ।’ गुरुले बन्द आँखामा नै केही जोडले भने, ‘हाम्रा वरिष्ठ नेता शेरबहादुर देउवा सोसलिष्ट इन्टरनेसनलका भाइस चयरम्यान हुन् । यसले हाम्रो अन्तर्रा्ष्ट्रिय समाजवादी व्यक्तित्वको शतप्रतिशत पुष्टि गर्दैन र ?
‘त्यसो भए कांग्रेसीहरू राष्ट्रिय समाजवादीचाहिँ होइनन्, होइन त गुरु ?’
‘के भनेको तिमीले ?’ एकाएक गुरुको एउटा आँखा खुल्यो ।
‘तपाईंहरू अन्तर्रा्ष्ट्रिय समाजवादी भएकोले नेपालको संविधानको मस्यौदामा ‘समाजवाद’ शब्द र्पयो भनी रुष्ट हुनुभएको होला ।’ मेरो स्वर पनि केही चर्काे भयो, ‘यही भइरहेको होइन त गुरु ?’
यसको प्रत्युत्तरमा गुरुका दुवै आँखा खुले । त्यहाँ भयंकर क्रोध थियो । गुरु रौद्रताको प्रतिमूर्ति लागिरहेका थिए । अर्थात् आँखासरह गाला पनि राता–राता । र निधारको छाला तानिएर तल पुगेको थियो । एकछिनपछि आँखीभौं ठाडो भएर फिरफिर चल्न थाले । यो देखेर म भयभीत भएँ । अब यहाँ बसिरहनुको कुनै अर्थ थिएन । त्यसकारण म बिस्तारै सोफाबाट उठेंँ । र लगभग दगुरेर गुरुको दरबारबाट बाहिरिएँ ।
कान्तिपुर
Subscribe
Login
0 Comments
Oldest







































