नारद गौतमबोली
नेपाली जनएकता बिथलियो, सद्भाव खल्बल्लियो ।
हाम्रो भूमि सिसा समान छ, कता के हुन्छ ? यो हल्लियो ।।
नेपाली पहिचान गौरव गुमे, कालोपनाले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।१।।
ल्याए व्यर्थ र जातिवाद सुविधा, सेवा त्यतै घोप्टियो ।
मान्छे योग्य भएर काम नदिने, कस्तो अनौठा भयो ।।
यो आरक्षणले भविष्य कतिको, चौपट्ट पा¥यो जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।२।।
नेता या दलले अनेक तहका, गर्दै गए मन्परी ।
भाँडे देश मजाक भो र अहिले, भाँडै छ देशैभरी ।।
लाठीवाद छ, त्यो छ प्रेरित सधै, ऐले त्यसैले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।३।।
हाम्रा सभ्य चरित्र, धर्म, हितका, संस्कार मेट्दै गए ।
ऐले राष्ट्रिय स्वाभिमान बलि भो, अर्पेर रेट्दै गए ।।
छन् निर्देशित अन्तबाट प्रभुको, आदेशले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।४।।
छक्याए जनता सधै युग नयाँ, ल्याइन्छ भन्दै गए ।
नेता आफु धनी बने मुलुक यो, कङ्गाल पार्दै लए ।।
गर्दै छन् लुटपाट लुट्न छ सधै, जो लुट्छ त्यस्ले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।५।।
बुन्छन् जाल अनेक बुन्न चतुरा, नौ जाल बुन्नेहरू ।
पत्यायौं यिनका कुरा र ठगियौं, यो देश बिग्र्यो अरु ।।
लाग्यौं व्यर्थ पछाडि बुद्धुहरूका, त्यो बुद्धुले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।६।।
गद्दारी अति भैदियो जति गरे, बाचा अपूरै रहे ।
छट्टू, धूर्त र मूर्खले छटपटी, सद्धै बढाईरहे ।।
हामीले मुख खोल्न पर्छ नभए, गद्दारले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं नबोले बित्यो ।।७।।
सीमाक्षेत्र मिचिन्छ दक्षिण दिशा, यो भूमि खुम्च्याइयो ।
सम्झौता गरिए, नदी पनि गए, उस्कै पछी लागियो ।।
सत्ता कातर बन्छ देश लुटिँदा, यस्तै प्रथाले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं नबोले बित्यो ।।८।।
बोली हो युग दृष्टि, दिव्यपथ हो, प्रज्ञानको स्रोत हो ।
बोलीबाट छ शङ्खघोष– ‘सबको, उत्थान’ यो ओत हो ।।
बोली हो प्रतिभा, कला, दिल छुने, सामथ्र्यले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।९।।
बलेटक्सार —३, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































