भूपिन खड्काबुद्धि बङ्गारा
हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे
ऊ भन्थ्यो–
‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन्
बुद्धि बङ्गारा पलाएपछि मात्र
बुद्धि आउँछ ।’
गिजाको कुना चिरेर
एकदिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा
त्यसपछि चमत्कार भयो
उसले पार्टीको सदस्यता पायो ।
चुनावको लागि उम्मेदवारी पायो ।
ऊ त्यसपछि सहरबाट गाउँ आयो ।
पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर
गाउँलेहरूलाई चिया खर्च बाँढ्यो ।
निकाल्यो झोलाबाट मतपत्रको नक्कल
र भन्यो,
‘यो मेरो चुनाउ चिन्न हो
भोट हाल्नू ।’
बुद्धि बङ्गारा उसको चुनावी चिन्ह
बुद्धि बङ्गारा उसको चुनावी मुद्धा
बुद्धि बङ्गारा उसको चुनावी नारा
जो जो भेटिन्थे गाउँका धुलाम्य गोरेटाहरूमा
ऊ गर्वले आफ्नो बुद्धि बङ्गारा देखाउँथ्यो
र भन्थ्यो,
‘बुद्धि बङ्गारा
केवल हाम्रो पार्टीका नेताहरूको आछ
बुझ्नू है, बुद्धि बङ्गारा हुनेहरूसँग मात्रै
बुद्धि हुन्छ ।’
चुनावी सभाहरूमा गर्झयो ऊ–
‘बुद्धि बङ्गारा नआएकाहरू सत्तामा पुगेकैले
यो देश
ट्युटोनिकले चलाएको रोमजस्तो भयो
हिटलरले चलाएको जर्मनीजस्तो भयो
तालिवानले चलाएको अफगानिस्तानजस्तो भयो
बुद्धि बङ्गारा नआएकाले चलाएर
यो देश अभर पर्यो
विकासको गाडी समयको भीरबाट खस्यो
भोकमरीले जादुटुना लायो
अनिकालको आँधीहूरी आयो
पुग्यो विभेद उत्कर्षमा
र जनताको जीवन नर्क भयो ।’
‘यसपाली देखाउँने दाँतलाई हराउनुस्
र चपाउने बङ्गारालाई जिताउनुस् ।’
नभन्दै गाउँलेहरूले पत्याए उसका कुरा
जित्यो उसले चुनाव
र छिर्यो ऊ संसद भवनभित्र ।
देशका धेरै केन्द्रबाट
बङ्गाराहरूले
दाँतहरूको जमानत समेत जफत गरिदिए
बङ्गाराहरूको सरकार बन्यो ।
बुद्धि बङ्गारो आएकै वर्ष
उसले पड्कायो मूख्य मन्त्री ।
त्यसपछि चपाउँन थाल्यो उसले
जहाजका पंखा
नदीका गिट्टी र बालुवा
र जङ्गलका काठ ।
लुछ्न थाल्यो उसले
पिडीतहरूका जस्तापाता
अस्पतालका बेड
र मानिसहरूका करङ ।
एकदिन सिंहदरबारमा भेट हुँदा
उसलाई मैले गाउँबाट ‘विकास’ बेपत्ता भएको खबर सुनाएँ
गाउँकी चेली ‘शान्ति’ अपहरणमा परेको कुरा सुनाएँ
गाउँकी ‘आसा’ बलत्कृत भएको जाहेरी गरें
ऊ मौन बस्यो ।
मैले भनें, ‘तपाँईसँग गाउँलेहरू आक्रोसित छन्’
ऊ हाँस्यो मुख च्यातेर अट्टहास
हेरें,
थेत्, ऊ कस्तो थोते देखिएको !
देशको हाडमासु र छाला चपाउँदा चपाउँदा
फुक्लिएछन् उसका बलिया दाँतहरू ।
तर उसलाई कुनै पश्चाताप थिएन
भन्दै थियो–
‘ई हेर त भाइ
बुद्धि बङ्गारा अझै फुक्लिएको छैन ।’
नवलपरासी
Subscribe
Login
0 Comments
Oldest








































