सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुद्धिमानको सङ्गत

Nepal Telecom ad

बाबु हुने बेलामा बाबुले बुद्धिहीन भनेर गाली गर्दा कसलाई पिर नपर्ला ? त्यही पिरले गर्दा बुद्धिमान् हुन जिन्सको पाइन्ट, भर्खर किनेको गन्जी र घाँटी कसिने गरी टाइ बाँधेर घर त छाडियो तर जाने काँ ? घरबाट केही पर पुगेको मात्र के थिएँ एउटा भिड देखियो– मानौँ जागिर खुलेको हो कि, डी.भी. भर्ने लाइन हो । त्यो भिड भोको पेटमा खुकुलिएको कपडा कस्दै गरेको देखिन्थ्यो । म पनि त्यतै हानिएँ । भिडको छेउमा बसेका एक बुद्धिमान्ले टन्टलापुर घाममा लगाएको ज्याकेट देखेर सोचेँ– ‘पक्कै यी व्यक्ति बुद्धिमान् हुनुपर्छ, अब यिनैको सङ्गत गरेर बुद्धिमान् हुनु पर्यो ।’ नजिक गएर परिचय गर्न लागेको त बुद्धिमानले नाक कोट्याउँदै गरेको हात मिलाउन पो दिए ! हात त मिलाइयो, साथै उपहार पनि हातभरी ! मानौँ रियल जुसमा आएको ‘स्किम’ झैँ ।
ती बुद्धिमानको सङ्गत गरेर केही नहुने सोचेर भिड छिचोल्दै निस्कन खोजेको त, बाटोमा लम्पसार परेर सुतेको साँढे ! साँढेको जिउभरी बालुवै बालुवा भएकाले त्यो साँढे ठूलै ठाउँबाट थाकेर आएको भान हुन्थ्यो । फेरि भिजेकाले बानेश्वर पानीट्याङ्की नजिकैको कुँडो सिद्धिएर त्यतैबाट हानिएको पनि अनुमान गर्थे गर्नेले । धेरैले धेरै अनुमान गरे तर साँढे धपाउन सकेन त्यो भिडले । त्यस भिडका बुद्धिमान्हरूले साँढे धपाउन लौराले हान्दा त त्यसलाई चिलाई पो मर्दोरहेछ । भिडमा भएका सबै बुद्धिमान्हरूले जानेको बुद्धि लगाए । साँढे केही गरी भाग्दैन । मैले पनि आफ्नो पाखे बुद्धि लगाएँ । गाउँमा गोरुको पुच्छर निमोठेको यादले निमोठेको, कसो हानेर मारेन । चोर भाग्दाझैँ भागेँ । सबैले नसकेपछि एउटी सुन्दरी बनाउने सुन्दरीको पालो आयो । ती सुन्दरीले सुन्दरी बनाउने ऐना ल्याएर साँढेलाई देखाएकी मात्र के थिइन् साँढे त्यही ऐना पछ्याउँदै हिँड्यो । साँढे त हिँड्यो, कसरी हिँड्यो हिँड्यो तर कुरो बुझ्दा कुरो काइताको रहेछ ! ऐनाले भालेलाई पोथी र पोथीलाई भाले देखिँदो रहेछ !
त्यस्ती बुद्धिमानी सुन्दरीको सङ्गत गरेर बुद्धिमान् हुनका लागि ती सुन्दरीको पसलमा मात्र के छिरेको थिएँ, कृष्णलाई गोपिनीहरूले घेरेझैँ घेरेर भन्न थाले– म सेवा गर्छु, के सेवा चाहियो हजुर ? भनुन्जेल त ठिकै थियो तर तिनका बुद्धिका पोकाले ढेस्सा दिँदा चाहीँ जिउनै सिरिङ हुने गरी काउकुति लाग्यो !
कसो कसो त्यहाँबाट असिन र पसिन हुँदै फुत्केर हिँडेको मात्र के थिएँ गाउँका पसले दाइसँग भेट भयो । पसले दाइले जाउँ हाम्रो पसलतिर भन्दै उनको पसलमा लगेर मुढामा बस्न अनुरोध गरे । म भने मुढामा बस्दा टाइको बेइजत हुने डरले ठाडै उभिएँ । सामान किन्न आउनेहरूले माग गरेको सामानको मूल्य सुन्दै बसेँ । एउटी बुढी आमा लुमडीको यात्रामा निस्केझैँ आएर सामान किनिन् । के सामान पो किनिन् अलि भेउ पाउन सकिनँ । तर ती बुढी आमाले छुट मागेको याद पाएँ । ती पसले अर्थात् मेरा गाउँले दाजु पनि मनकारी रहेछन्, बुढी आमालाई रु तीन छुट दिए र भन्दै थिए– ‘तेह्र तियाँ उनन्चालीस तपाईलाई तीन छुट गरी जम्मा बयालिस भयो आमा, अनि अरू केही राखौँ कि ?’ बुद्धिमान पसलेको कुरा सुन्दा आफैलाई आफ्ना बारे लाग्यो ‘‘मेरो गणित किताबमै छुटेछ ।’’ हुन त हिसाब भनेपछि लगौँटी भिज्नु आफ्नो पुरानै रोग हो ।
पसलमा एकैछिन्पछि अर्का बुढा व्यक्ति पनि आए र पसलेसँग बीस रुपयाँको तेल उनले ल्याएको फराकिलो तावामा हाल्न लगाए । बुढाले तेल तावाको सबैतिर फैल्याए । तेल तावाको पिँधमा चिल्लो मात्र देखियो । एकाएक बुढाले हाँस्दै भने– तेल खाँटिको रहेनछ बाबु ! म त लान्न, तेल फिर्ता गर ! बुढाले पसले दाइले हालेको तेल आफैं पसलेको भाँडोमा खन्याइदिए । तेल आधा जतिमात्र पसलेको भाँडामा खनियो । पसले दाइले रिसले चुर हुँदै गाली गरे । बुढाले शान्त हुँदै भने– अघि त्यो सामान किन्न आउनी मेरी जहान हुन् क्या ! अब बराबर भयो । पसले दाजु हिस्स ।
बुद्धिमान पसलेकोबाट हिँडेर अलि पर पुगेँ, छेउमा निजी कलेज देखेर पक्कै कलेजका प्रोफेसरहरू बुद्धिमान होलान् भन्ने सोचेर आफ्नो गन्जी माथिको टाइ हाल्लाउँदै छिरेँ । छिर्नै नपाइ एउटी युवतीको बोलीले नौनी घसेर लचकदार सोफामा बस्न गरिएको आग्रहलाई स्विकार्दै बसेँ । मैले केही भन्न नपाउँदै ती युवतीले आफ्ना मुखारविन्दले स्वचालित रोबटझैँ भन्न थालिन्– हेर्नुहोस् तपाईंको बच्चा भर्ना गर्न यति, मासिक फि यति, अनि कम्प्युटर फि यति, केके हो केके । आधा घन्टा भैसकेको थियो मैले केही भन्नै नपाई तिनी अझ थप्दै थिइन्– अनि तपार्इंलाई जम्मा दश प्रतिशत छुट हुन्छ । फेरि तपाईँ चिनेको मान्छे त्यसकारण थप पाँच प्रतिशत छुट हुन्छ ।’ पहिले त मलाई क्यासेट सुने जस्तो भयो । र पछि सम्झिएँ– त्यो स्पिकर हैन मान्छे हो । त्यस्ती राम्री युवतीले चिनेको भन्दा म अल्मलिएको थिएँ । तैपनि मेरो कानमा कताको शृङ्गारिक ध्वनि गुन्जियो ‘कि विचार गर्छस् !’ तिनले मेरो एक वर्षको तलब सबै भर्नामा लाग्ने बताउँदा होस् उडेर आधा जति गैसकेको थियो । तिनले बेला न कुबेला मसँग देउसी खेलेको देखेर तीन छक परेर आफ्नो बाटो हिँडेँ सोच्दै सौच्दै । सोचाइ थियो–उही, तपाईं चिनेको मान्छे !
अलि पर पुगेको मात्र के थिएँ । सरकारी कर्मचारीकी श्रीमती कुकुरलाई उपचार गरेर आउँदै गरेको भेटेँ । कुकुरलाई तिनको आफ्नो सिरकभित्र च्यापेझैँ दुई हातले अगाडि पेटमा च्यापेकी थिइन् । नातामा दुई हात परकी भाउजू पर्ने भए पनि दाजुले क्याम्पस पढ्दा भगाएकाले साथी पनि थिइन् । तिनले घरमा जाउँ बाबु भन्ने प्रस्ताव गरेकाले लुरुलुरु पछि लागेँ, बुद्धिमान् हुन । घरमा दाजु रहेनछन् । एक महिनाको लागि विदेश गएका रहेछन् । घरमा पुगेर सानदार घर हेरेँ । छोराछोरी सबै विदेश पढाउन पठाएका क्या लोभलाग्दो थियो तिनीहरूको घर । मुखबाट रयाल चुहिएर नाकमा पर्ला जस्तो ! भाउजू चिया बनाउँछु भन्दै भान्छातिर के लागेकी थिइन् । एउटा अपरिचित व्यक्ति आएर सोधे– ‘यो घर तपार्इंको हो ?’ गाउँले दाइको त हो नि भन्ने सोचेर नाक तान्दै हो भनेको मात्र के थिएँ तिनले मलाई हातमा चिठी थमाएर सही गर्न लगाए । जिन्दगीमा पहिलो चोटी मेरो सहीले स्थान पाएकोमा दङ्ग हुँदै चार जनाको ठाउँ ओगट्ने सही त गरियो, आखिर चिठी रहेछ अक्तियारको !
आखिर आफ्नै बाबु बुद्धिमान लागेर आफ्नु उल्टो बुद्धि सुल्टो पार्दै लागेँ बाबुकै शरणमा ।
पिताम् शरणम् !! उही एक दिन, सिसी बाहुनले कुश बेच्ने दिन जसै !
हाल : चाबहिल, काठमाडौँ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad