साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुके स्वस्थानी

Nepal Telecom ad

अध्याय ५
कुमारजी आज्ञा गर्नुहुन्छ, ‘हे अगस्ते मुनि !, अहिलेसम्म मैले तिमीलाई विभिन्न मानवीय स्वभावबारे बताएँ । आज म तिमीलाई ‘जालन्धर’को गुण भएको व्यक्ति र त्यसबाट बच्ने बिधिको बारेमा कहन्छु । पौराणिक कालमा शिवजी नभएको मौका पारि जालन्धरले शिवजीको रुप लिएर कैलाश पर्वतमा गएको, तर पार्वतीको रुप देखी मोहित भई अचेत भएको कुरा त तिमीलाई थाहा नै छ । आफ्नो ध्येयमा सफल नभएकाले जालन्धरले त्रेतायुगमा कैकेयी र द्वापरयुगमा शकुनीको रूपमा जन्म लिएर सक्दो जालझेल गरे । कलियुगसम्म आइपुग्दा जालन्धरले एक्लै जालझेल गर्न सम्भव नहुने बिचार गरी थुप्रै व्यक्तिको रूपमा जन्म लिए । साथै ती जालन्धरले प्रत्यक्ष वा परोक्ष रूपमा जालझेल गर्न सक्ने गुणको पनि विकास गरे ।
फेसबुके युगमा यिनीहरू ह्याकरको रूपमा चिनिए । ह्याकर रूपी जालन्धरको मुख्य ध्येय आफ्नो पहिचान लुकाई सुशाङ्ख्य यन्त्र (कम्प्युटर) को प्रयोगद्वारा अन्य व्यक्तिहरूलाई आफ्नो मायाजालले प्रलोभनमा पारी गोप्य सूचनाहरू चोर्ने, सञ्चित धन (बैंक खाताको रकम) चोर्नु हो । यसका लागि ह्याकर रूपी जालन्धरले फेसबुकमा विभिन्न छद्म नाममा (विशेषगरी युवतीहरूको भेषमा) खाता खोल्ने, फेसबुकमा रहेकाहरूलाई ‘तेरो लेखाइ मन पर्यो, म मोहित भएँ’ भन्ने आशयको सन्देश पठाएर मित्रताको लागि आग्रह गर्ने, मित्र बनिसकेपछि गफ (च्याट) गर्ने र आधारभूत सूचना लिने गर्दछन् । यसैबीच गोप्य रूपमा प्रभावित परेकाहरूको सुशाङ्ख्य यन्त्रमा जिवाणुहरू (भाइरस) समेत छाड्ने गर्दछन् ।
हे अगस्ते मुनि !, अब म तिमीलाई यी ह्याकर रूपी जालन्धरबाट बच्ने उपाय कहन्छु, ध्यान दिएर सुने । फेसबुकको प्रयोग गर्दा राम्ररी पहिचान नखुलेका, मित्रताको प्रस्तावमा अघि भनेजस्तै सन्देश लेख्ने आग्रह आयो भने अस्विकार गर्नुपर्दछ । साथै समान मित्र (कमन फ्रेण्ड) धेरै छ भन्दैमा जोसुकैलाई मित्रताको सन्देश (फ्रेण्ड रिक्वेस्ट) पठाउने वा मित्रताको आग्रह स्विकार (एक्सेप्ट) गर्नुहुँंदैन । त्यसैगरी चोरीको कार्यक्रम (पाइरेटेड सफ्टवेयर) र अश्लील साइटमा यस्ता जालन्धरको बिगबिगी भएकाले त्यस्ता साइटहरूमा पनि जानु हुंदैन । साथमा आफ्नो सुशाङ्ख्य यन्त्रमा जिवाणु विपरीत कार्यक्रम (एन्टिभाइरस सफ्टवेयर) आवधिक (अपडेट) गरिराख्ने, बेला–बेलामा जिवाणु भए–नभएको जाँच गर्ने आदि गर्नुपर्दछ ।’
इतिश्री स्कन्दे, पुराणे केदारखण्डे कुमार–अगस्ते संवादे फेसबुके जालन्धरस्यः सुरक्षा विधि नामो पञ्चमोः अध्याय !!

अध्याय ६
कुमारजी आज्ञा गर्नुहुन्छ, ‘हे अगस्ते मुनि, यसअघि मैले तिमीलाई विभिन्न स्वभावका फेसबुकेको बारेमा कहें । आज म तिमीलाई फेसबुके शिव शर्मा र सुर्पणखाको बारेमा कहन्छु, ध्यान दिएर सुने । श्रीस्वस्थानी ब्रतकथामा सात वर्षिया गोमा ब्राह्मणीको विवाह ७० बर्षका बृद्ध शिव शर्मासँग भएको र बाल्मिकी रामायणमा रावणकी बहिनी सुर्पणखा लक्ष्मणको रुपदेखि मोहित भई नजिक आउन खोज्दा लक्ष्मणले उनको नाक काटेको कुरा त तिमीलाई ज्ञात नै छ । कालान्तरमा फेसबुके युगमा पनि शिव शर्मा र सुर्पणखा जस्ता गुण भएका ब्यक्तिहरूका अवशेष रहँदा भए ।
हे अगस्ते मुनि, शिव शर्मा जस्ता गुण भएका व्यक्तिले आफ्नो उमेरले जति नेटो काटे पनि आफूलाई १६ वर्षे केटो नै सम्झने, प्रायः राम्रा मुहार र शारीरिक बनावट भएका किशोरी र युवतीहरूलाई मित्र प्रस्ताव पठाउने, उनीहरूको पोस्टमा जे लेखे पनि– देखे पनि लाइक र तारिफको वर्षाउने, आफ्ना पोस्टमा पनि शृङ्गाररसयुक्त कविता–गजल–गीत र अभिव्यक्ति राख्ने आदि हुन्छन् । त्यसैगरि सुर्पणखा गुण भएका प्राय श्याम वर्णका छद्म रुपधारी युवतीले प्रेम मिश्रित मित्र प्रस्ताव गुगलको सहायताले हास्यास्पद अनुवाद गरी पठाउने, वार्तालाप (च्याट) गरी नजिकिन खोज्ने र धन लुट्ने आदि कार्यमा संलग्न हुन्छन् । किशोरी र युवतीहरूले शिव शर्मा जस्ता व्यक्तिको सङ्गत गरे तारिफ पाउने भएकाले सङ्गत गर्न उपयुक्त हुन्छ तर यसको लागि उनीहरूले आफ्नो लक्ष्मणरेखा आफै तय गर्नुपर्छ अन्यथा ‘सीताहरण’ वा ‘चीरहरण’ को जस्तै परिणति भोग्नुपर्ने हुन्छ । सुर्पणखा जस्ता युवतीहरूको मित्र प्रस्ताव भने ठाडै अस्विकार गर्नुपर्छ अन्यथा ‘मृगतृष्णा’भई आर्जेको धन नाश हुने, चोरिने आदि हुन्छ ।’
इतिश्री स्कन्दे, पुराणे केदारखण्डे कुमार–अगस्ते संवादे फेसबुके शिव शर्मा एवम् सुर्पणखा गुणोः व्यक्ति बिषयक षष्ठी अध्याय !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x