सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ओल्ड ईज गोल्ड !

Nepal Telecom ad

महाधिवेशनको संघारमा उभिएको जेठोबाठो दल नेपाली कांग्रेसभित्र अहिले अमूक पदको लागि एक मात्र सुयोग्य वर आफू भएको तर्क पेश्दै यजमान स्वयं जजमानीमा उत्रेका छन् । कुकुरले पुच्छरलाई डोर्याउने, लतार्ने, पछार्ने र घिसार्ने नेपालका राजनीतिक दलहरूको महाधिवेशन मूलतः नेतृत्वमा दागा धर्ने थलो बन्नु अस्वाभाविक पनि होइन र त्यसमा खरिखोटी सुनाइरहनु पर्ने कौनो दरकार रहन्न । तर, छिप्पट इतिहास र ढ्याके ज्यान भएकाले कांग्रेस महाधिवेशनको कुरा हल्का भए पनि बेगल छ, हजुर !

कांग्रेस नेतृत्वले अहिले राष्ट्रिय राजनीतिको दशा र दिशा बदल्ने काठीको गम्भीर दार्शनिक बहस छेडेको पनि छ । महामानवको सेखापछि सैद्धान्तिक दार्शनिक माथापच्ची गर्ने टन्टा बिसाएको कांग्रेसभित्र दुमो रहेका चिन्तकले पनि नयाँ खरानी घस्ने ताउरमाउर गरिरहेको बेला कुन उल्लुले त्यस्तो जन्डु दर्शन फुरायो होला भनी तपाईं गम खानुहोला । सत्रको सात बोकेर गलित रामचन्द्रको अन्तिम उद्देश्य हातलागी एक गर्न बाँकी कुरालाई बाल दिन्नन् । फास्लाङ फुस्लुङमा परेर लास्टाँ फेरि, अठारको आठ सुमर्नुपर्ने छनक देखिएकाले उनी यो लफडाबाट स्वतः ओभानो हुन्छन् ।

बीपीले भिराएको बोझा मिल्काएर कांग्रेसजनलाई होलो पार्न वर्षौंअघि आफ्नो दलको पुच्छाराँ ‘प्रजातान्त्रिक’ फँुदा जोडेका देउवा दूरद्रष्टा हुन् । उनले नौलो दर्शनको पचेडामा नपरी आफूलाई महारथ हासिल भएको फुँदा फिजारेर महाधिवेशनमा व्यूहरचना गर्ने देखल छ ।

कांग्रेसभित्र दार्शनिक बहस छेड्ने ल्याकत उसै पनि सभापति कोइरालाले मात्र राख्ने स्वयंसिद्ध हुन आउँछ । उनको मुखारविन्दबाट गहकिलो वाणी टप्की पनि सकेको छ– ओल्ड नै गोल्ड ! नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको लैबरी गाउँदै बसेका कांग्रेसका अधेड तरुणहरू भने यो उद्गारको मर्म बुझन नसकी करिबन बेहोसीमा पुगेर जगहँसाइ गरेका छन् ।

कुहिरोको काग बनेका कांग्रेसी युवा विद्यार्थी र तरुण नेताहरू कपाल र दाह्रीमा दलेको कालो पखालेर आफूलाई खरा सोना साबित गर्न कम्मर कस्ने तरखरमा देखिन्छन् । हेर्दाहेर्दै तिलचामले भइसकेका युवा नेता गगन थापा महामन्त्रीमा दावा ठोकम् कि नठोकम् भनी दोधारमा देखिन्छन् । तिलचामले केस बोकेर कथम् उनी सभापति भएछन् भने’नि कांग्रेसजनले युवा नेतृत्वको तिर्सना मेट्न अर्को कुनै आकाश काजीतिर आशावादी नजर लगाउनुपर्ने हुन्छ ।

सभापति कोइरालाको भने कुरै अर्को । नपत्याए कांग्रेसकै दलका ख्यातनाम् खजाञ्चीलाई सोधे हुन्छ– वृद्धभत्ता बढाउँदा अर्थतन्त्र चोट्टेमा पर्छ भने प्रौढहरूको हातमा पार्टीको तालाचाबी सुम्पेर देशलाई भड्खालो मार्गी बनाउन मिल्छ ? कांग्रेस नेतृत्व त्यस्तो नकाम गर्न कदापि चाहन्न ! तर, ठेट्नाहरूले बुझेर मरेनन्, के गर्ने ? पछुवाहरू उपबुज्रुक भइदिंदा अगुवाहरूको दोजात्रा हुँदोरहेछ । बुढ्यौलीले लखतरान नेतृत्वलाई खेदेर हत्तु पारेका छन् ।

युवाप्रति नेतृत्वको आशक्ति देख्न नसक्नु कांग्रेसजनको दृष्टिदोष र भेजामा भरिएको खोट हो । ‘मान्छे बूढो भए’नि मन जवान रहने’ सैद्धान्तिक धरातलमा टेकेर सभापतिको आकांक्षी बन्नुले नेतात्रयको अवचेतनमा अन्तर्निहित युवा अनुराग उजागर गरिरहेको छ । तर, जीर्ण तनलाई सर्लक्क पन्छाएर तरुनो मनलाई बेपत्ता भाउ दिएको भसक्क बिर्सने कर्म भइरहेको छ । वर्षौंदेखि भ्रातृ संगठनहरूको अधिवेशन रोकेर तरुण विद्यार्थीलाई कम्तीमा एक कार्यकालले पितृ हुनबाट जोगाएको दृष्टान्तले पनि कांग्रेस नेतृत्वमाथि थोपरिएको फत्तुरलाई भालुभुत्ते सावित गर्छ ।

यो दार्शनिक घोगो खोस्ट्याउने काम फत्ते भए’सि अपयस छोड्याउनु उचित हुन्छ । जसले चारतारे झ्ण्डामुनि गोलबद्ध युवामा मात्र नभई राजनीतिप्रति आस्थावान् देशभरिका युवामा आशाको भुल्को फुटाउने निश्चित छ । ‘ओल्ड ईज गोल्ड’ को नारा बुलन्द पार्नुलाई बूढाखाडाको मतलबी चाहनामा लगेर ठोकाउनु ‘ब्लन्डर’ हुन जान्छ ।

ख्याल रहोस्, पूर्वीय मान्यतामा पवित्र धातु सुनको अलग्गै महिमा छ । पूजनीय, दर्शनीय र प्रदर्शनीय धातु सुनलाई जोत्ने, खन्ने, पकाउने लगायतका काममा ज्यावलका रूपमा प्रयोग गर्न सकिन्न । कुवेरको झैं कुश्त सुन भे त्यसकै कमोड बनाएर पाइखाना बस्थें अथवा बञ्चरो, हलो, वर्तन र खर्पनदेखि कोदालो र कारसम्म त्यही पहेंलो धातुको बनाउन भ्याउँथें भनी सोच्नु नोटको गड्डीले भोक मर्छ भनी ठान्नु जस्तै हो ।

त्यसैले, वयोवृद्ध नेतागणलाई यसपटक सुनका गहना झैं जतनसाथ शो–केसमा सजाऔं । कांग्रेस पार्टीभित्र आफ्ना आदरणीय सभापतिको मनोकांक्षा पूरा गर्ने ह्याउ पलाओस् । कांग्रेसभित्र ‘ओल्ड’ हरूले ‘गोल्ड’ कै स्थान पाउन् !

हिमाल खबर पत्रिका, माघ, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मोदीका सारथि 

मोदीका सारथि 

महेश थापा