लक्ष्मण लोहनीघोडदौड
च्यान्टे घोडामा गजधम्म डाँडीको चस्मा चलाउँदै घिरौँले नाकफुलाउने बूढा हेरौँ उसको घोडा जित्छ कि हार्छ आज टुँडिखेलमा घोडदौड छ ।
आज टुँडिखेलमा घोडदौड छ
धेरै मान्छे जम्मा भा’छन्
थरिथरिका घोड छन्, थरिथरिका सवार
तन्नेरी जति लाखापाखा
धेरै घोडचढी बूढा छन्
देशभरका लाखौँ मान्छे, ठूलो भीडभाड छ
बगाल बगाल, वैला-बछेडा
बीचबीचमा गधा खच्चड, वैला हिनहिनाउँछन्
बछेडा उफ्रन्छन्, आज टुँडिखेलमा घोडदौड छ ।
यो अर्बी घोडाको हुल
यो टाँगन घोडा, यो च्यान्टे घोडा
यो रूमेनियन घोडा, यो अस्ट्रेलियन पोनी
यो सिमी घोडा, यो सिलिङ घोडा
यो उच्चैश्रवा युनिकट- वाइपङ्खी घोडा
यो नयाँ जमानाको भोटे सिलिङ
बलियो, तेजिलो बगाले घोडा उफ्रीउफ्री हिनहिनाउँछन्
नजिक गयो कि दोहोरा लात ठोक्छ
अरू घोडा तर्सन्छन्, यो घोडा सधाउन गाह्रो छ
काठी कस्न गाह्रो छ, नाल ठोक्न गाह्रो छ
लगाम समाउन गाह्रो छ यो नम्बरी टिपुवा घोडा
छोयो कि कुदिहाल्छ
आज यो घोडा कसले चढ्छ, थाहा छैन
रेसको बेला भा’छैन ।
थरिथरिका बूढा छन्, थरिथरिका बूढा
नानाथरिका अत्तो थाप्छन्
नानाथरिका कुरा, चढीचढी खिचडी
यी बूढा घोडचढी, न लागाम समाउन सक्छन्,
न राग जमाउन सक्छन्
न ऐँडी मारेर घोडा कुदाउनै सक्छन्
दाजुबाबुको अपुताली काखी च्यापी हिँड्छन्
न मतियारलाई पत्याउँछन्
न आफैँले बुत्याउँछन्
गाह्रो साङ्रो पर्यो भने घोडाबाटै लड्छन्
न बोल्न सक्छन्, न हिँड्न सक्छन्
अरूको सहानुभूति खोज्छन्
कसैले कान फुके गमकीगम्की बम्कन्छन्
बीचमा झिनो स्वर आयो
बुबाको घुँडा ठीक नभएसम्म घोडाको दौड हुँदैन
यो घोडाको दौडमा बूढा सवार धेरै छन्
जे पनि हुन सक्छ
नानाथरि कुरा गर्छन् थरिथरिका बूढा
यो त्रिकालदर्शी यौनसमाधिज्ञाता
कुमार केटो पानबूढा
यो सुनबूढा, यो बोकेदारी लट्ठीबूढा
यो ढ्वाङ ठटाउने हाती तर्साउने बाघ बूढा
नेपालमा धेरै छन् बूढा
बूढाबूढाको होडमा यो साह्रै चतुरे बूढा
कुरा मोड्न सिपालु सिपालु बूढा
मान्छे भाँड्न सक्ने बूढा
कुनै भेलमा मिलेर बग्न नसक्ने बूढा
यो दलबलमासँग झुकेर दब्न नसक्ने बूढा
यो चर्को स्वरले गगन थर्काएर
अरूलाई तर्साउने बूढा
हातको तरवार हल्लाएर
जोरीखोज्नेलाई छप्काउँछु भन्ने बूढा
सिलिङ घोडा कुदाउने पीपलपाते बूढा ।
यो लुरे लिखुरे बाङ्खुरे बूढा
माछाको कत्ला जस्तो
खुर्पाभन्दा सोझो, सत्य कहिल्यै बोल्दैन
गर्छु भन्छ गर्दैन
सानोमा गाउँमा काले भन्थे रे
सहरमा अहिले भाले भा’छ
एउटा कान एउटालाई दिन्छ
अर्को कान अर्कालाई दिन्छ
जे भने पनि हुन्छ भन्छ
हामी मिलेर गर्छौं भन्छ
हामी मिलेर सुन्छौँ भन्छ
शक्तिको स्वाद गजबको रैछ
काठी पटार खुकुलो भए पनि
रिकापमा खुट्टा नअडे पनि
फेरि सिट आउला भन्छ
आफ्नै घर आँगनमा
टाँगनघोडा कुदाउँछ
यो निर्लज्ज कनसुत्ले धूर्त साह्रै बाठो छ ।
यो अर्को ह्वास्ल्याङ्गे बूढो
बोल्न लाग्यो जिब्रो देखाउने
कुरा लटपट्याउने, एक्लै फतफताउने
मूल सवारको चिट्ठा परेको
स्वास्नीले लगाम समाउने
च्यान्टे घोडामा गजधम्म
डाँडीको चस्मा चलाउँदै
घिरौँले नाकफुलाउने बूढा
हेरौँ उसको घोडा जित्छ कि हार्छ
आज टुँडिखेलमा घोडदौड छ ।
यो सवार जोसिलो छ
उसले अस्ट्रेलियन पोनी चढ्छ
कुरा खुब बुझेको छ
अरूलाई बुझाउन सक्छ
पटपट बोल्ने बानी
माकुरे जालमा फसिसकेको छ
यो लिण्डे फ्याउरे बानी
आफूजस्तै बनाउन खोज्छ
लहै लहैमा बुलेट बनेर, पड्किने तयारीमा छ
काठी, रिकाप, लगाम नभएको
टिपुवा घोडा चड्छु भन्छ
फौलाद भए पनि पुड्को सवार
अग्लो घोडा कसरी चढ्छ
नाङ्गो पिठ्युँमा जगर समाई कतिबेर अड्छ
हेरौँ सुरो मान्छे अड्छ कि लड्छ
आज टुँडिखेलमा घोडदौड छ ।
यो अर्को भुसको थैलो गोबरगणेश
मोटो मान्छे च्यान्टे घोडा
जित्छु भन्छ हल्दार बूढा
बोली फेर्न सिपालु छ, टोली फेर्न सिपालु छ
नानाथरि सपना देख्ने
सपनाको कुरा भाषणमा भन्ने
ताली पाए मख्ख फुल्ने
सुनेका कुरा गर्वले भन्ने
कण्ठ गरेर बडबडाउने यो शण्ठ बूढा
खान पनि कति खाने
कन्टेनरको सुनदेखि सागरको नूनसम्म
ग्रोसका ग्रोस झवाम्
मुठाका मुठा खाम भित्रको दाम
कत्रो रैछ घुसौटे गोदाम
यो बज्र बुद्धि सिमेन्टी स्वाँठ बूढा
हेरौँ पुछारबाट पहिलो पहिलो हुन्छ कि
उसको पहिले च्यान्टे घोडा ।
देशका तन्नेरी विदेश गएपछि
मर्न पर्खेका देशभरि बूढैबूढा
यो बशत्तर काटेको बूढो
भुटेको मकै चपाउँदै छ
यो अठहत्तरको बूढो
लटठी हल्लाएर ठिटी फकाउँदैछ
यो विदेशी ग्रेसमा प्रोग्रेस गर्ने बूढा
यो राष्ट्र गयो भनेर डिप्रेस हुन् बूढा
यो आफ्नो कात्रोको टिप्पणी आफैँ सदर गर्ने बूढा
यो तरूनीलाई मन देखाएर
आँखा झिम्क्याउने बूढा
यो लुरे तगडा चाम्रो बूढा
यो पुड्के मोटे झगडालु बूढा
अब कसले बाजी मार्ने हो
अब कसले पैयाँ ठोक्ने हो
कुन सवारले काठी कस्तै
युनिकट उच्चैश्रवा जित्ने हो
आज टुँडिखेलमा घोडदौड छ ।
कमलादी, काठमाडौँ
फित्काैली, २०६३
Subscribe
Login
0 Comments
Oldest







































