शेषराज भट्टराईकालो धन कालै मन
हिँड्नै नसकेपछि दौडिने त कुरै हुँदैन । हाम्रो नेपाल आमाको ताल त्यही छ न गरिखाने न मरिजाने । धिपधिपे दियोमा वर्तन थप्दा थप्दा हैरान हत्तु छ सरकार ।
राज्यले प्रत्याभूत गरेको नियम कानून भन्दा बाहिर गएर अनधिकृत धन लाभ गरिन्छ भने त्यसलाई कालोधन भनिन्छ । मातृभूमि र जनताको हित नचिताउने चलाख चतुर र चारैदिसाको सोहोरेर आफू मात्र खान रुचाउने सज्जनको मनलाई चाही कालै मान्नुपर्छ । कालो मन भएकोले नै कालो धन बटुली रहेका हुन्छन् । कानूनको आँखा छलेर होस् या जनतालाई उल्लु बनाएर धनार्जन गरिन्छ भने त्यस्तो धन कालै हुन्छ र त्यस्ताको मन पनि कालै हुन्छ । त्वाचा गोरो, हँसिलो बोलक्कड र देख्दामा हिरो भए तापनि देश र जनताको कुभलो चिताउँछ भने त्यस्तो मनलाई सेतो मान्न सकिँदैन । अनधिकृत अर्थोपार्जनलाई पनि सेतो धन भन्न सकिँदैन । देशमा २००७ सालदेखि प्रजातन्त्र प्राप्तिका लागि जे जति आन्दोलन सङ्घर्षहरू भए वर्तमान संघीय गणतन्त्र नेपालको अवस्थासम्म आइपुग्दा राजनीतिक अस्थिरताको फाइदा उठाएर धमिलो पानीमा माछा मार्दै कालो धन थुपार्ने कालै मनहरू धेरै देखियो । हवाई चप्ललबाट राजनीति सुरु गरेका नेताहरू कालो धनका मालिक र डेढ लाखको पलङमा सुत्ने भइसकेका छन् । मन सफा हुन्थ्यो भने जनस्तर बढ्ने थियो तर कालो मन हुनाले आफ्नै स्तर मात्र दिन प्रतिदिन बढी रहेको छ । गरिब देशका हकमा यसलाई शुभ सङ्केत मान्न सकिँदैन ।
सेतो धनले राज्य, समाज र सन्तानको भलो चिताउँछ तर कालो धनले यो केही देख्दैन । खाली आफू देख्छ, आफ्नो परिवार देख्छ अनि कालै मनले अरूलाई लोप्पा खाइरहेको हुन्छ । भोका नाङगा गरिब दुखिया बगरेका अगाडि बोको जस्तै हो । कसैको भलो नचिताउने अधर्मी, पापी, पाखण्डी, द्रव्य पिचासको कालो धन कालै मन यथार्थमा राज्यका शत्रु हुन् । शत्रु वलवान भएपछि सोझा सिदा निरीह जनता र राज्य स्वयं सेपमा परेको बालीनाली जस्ता हुन्छन् । जहाँ आहा भन्ने खालको कुनै गतिविधि हुँदैन । कालो धन कालै मनले देशलाई हर्दम ङ्याकीराखेकै हुन्छन् । उठ्न दिँदैनन् । उठ्नै नदिएपछि हिँड्ने कसरी ? हिँड्नै नसकेपछि दौडिने त कुरै हुँदैन । हाम्रो नेपाल आमाको ताल त्यही छ न गरिखाने न मरिजाने । धिपधिपे दियोमा वर्तन थप्दा थप्दा हैरान हत्तु छ सरकार ।
कालो धन कालै मनलाई जरैबाट उखेलेर फाल्नुपर्छ । सरकारले त्यो तत्परता र बहादुरी देखाउन सक्नुपर्छ । कालो धन बटुल्दा बटुल्दा आफ्नो तनमन पनि कालै हुन्छ भन्ने कस्तो नजानेको । राज्यको समस्या व्यक्तिको तमासाले देश बलिको बोको बनिरहेको छ । कानून हातमा लिएर बुर्कुसी मार्नेहरू बढेर गएका छन् भने विकास चाहिँ घटेर ।
कालो धनको लत तबसम्म बस्छ जबसम्म समाजमा धन महिमा गाइन्छ । किचाहिँ “फलानाका बाउ जसरी हुन्छ धन कमाउ” भन्ने उर्दी हट्नु पर्यो । अन्यथा कालो धन कालै मनले घरको धुरी पुरिराखेकै हुन्छ । सरकारी जागिरमा के हुन्छ त्यस्तो जादु दुई चार वर्षमै विलासी साधन स्रोत जोडेर भुई छोडेर ताण्डवनृत्य गर्नुपर्ने । आम्दानीले अहंता प्रकट गरेपछि कालो धन कालै मन आफै प्रमाणित हुन्छ । कालो धनका कारण पतित पात्रका रूपमा दुनियाँले देख्न थालेपछि आफ्नो साख र बैभव भँड्खालामा पर्छ भन्ने हेक्का के को उन्मादले नराखेको ।
धन कालो मन कालो भएपछि नयाँ पुस्ताले सिक्ने गर्ने पनि त्यही हो । समाजमा काला कर्तुतहरू बढ्न मौलाउन थाल्छ । कालो धन तन र मनले सेतो धन रुचाउँदैनन् । सेतो धनलाई सुख भोगमा सुस्तताको प्रतीक मान्नेहरूले सेतो धन बाहकलाई हेला होचो गर्न रुचाउँछन् । समाजमा सेतो धन बाहकको बास उठिबासमा परिणत हुन सक्छ । सेतो धन सेतै मन भएकाहरू कालो धन कालै मनका नजिकका शत्रु मानिन्छन् । एकले अर्कालाई नफरत गर्न आंैधी मन पराउँछन् । राज्यले समेत कालै धन कालै मनको संरक्षण सिहार गर्ने भएपछि देशमा विकृति विसंगति र अराजक गतिविधले जरा गाड्छ र यसलाई उखेलेर फाल्न धेरै काला मन भएकाहरूलाई यस संसारबाटै उखेलेर फाल्नु पर्ने हुन्छ । अन्यथा देशलाई कंगाल खोक्रो र समाजका कसिंगर जुकाहरू देश चुस्नमै आनन्द मान्छन् । कालो धन कालै मन भएका जनता देशका लागि ठूलो दुर्भाग्य साबित भएका छन् ।
फूलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest








































