शेषराज भट्टराईसरकाे र घरकाे कुटाइका कुरा
बुवालाई बुबा भाइले दिशा गर्याे भनेर भन्नेबित्तिकै पिताजीले मेरो खप्परमा सकेकाे बल लगाएर मुड्की बजार्नु भयो । पिटाइकाे रन्काेमा मैले तीन त्रिलाेक चाैद भूवन देखेँ । मानाैं मैले नै निचाेरेर दिशा गराएजस्ताे ।

शेषराज भट्टराई :
कसैलाई कुट्नु कुटाइखानु प्राणीको रीत नै हाे । भगवानका पालामा पनि कुटाकुट गर्ने चलन थियो । काैरव पाण्डव कुटाकुटकै दुईखेमा हुन । राम, रावण, कृष्ण एकअर्कालाई कुट्न हातहतियारले सुसज्जित थिए । जेनजीकाे दुइदिने आन्दोलनमा नेपाली कांग्रेसका नेता नेतीले सारै नमिठाे तरिकाले कुटाइखाएको हाम्रा पुस्ताले देखेका छन् । कुटाइ नमिठाे मात्रै हाेइन अप्रिय पनि हुन्छ । अगुल्टाले हानेकाे कुकुर बिजुली चम्किदा त्यसै तर्सिएकाे हाेइन कुटाइकै दर्द महसुसले साताे गएर तर्सिएकाे हाे ।
अरुले डकारुन्जेल पिटाइ खाएको देखेर नै नेताहरु आफूसँग भएको साधनस्रोत चढेर बेताेडले भाग्ने गर्छन् । डर यति गाडा हुन्छ कि ती १५ दिन, एक महिना, ३ महिना , ६ महिना जति धेरै डर तेति नै धेरै समय भाग्ने लुक्ने गर्छन् । पूर्व शासकहरु शेख हसिना बङ्गलादेश र पाकिस्तानी शासक प्रवेज मुसरफ र नवाज सरिफ ६ महिनाभन्दा धेरै समय भागेकाे थाहा छ । त्यस्तै जेनजी आन्दोलनमा नेपालका तत्कालीन शासक पनि ११ दिनसम्म सैनिक ब्यारेकमा माथ जाेगाउन सैनिकको साथ राेजेका थिए । यस्तै हुन्छ प्राण प्याराे भएपछि । तर यहाँ चाहिँ आफ्नै / आफूले हकभाेग गरेको कुटाइकाे कुरा प्रस्तुत गर्नु नै उपयुुक्त ठहर्ला ।
तेतिखेर म ३ कक्षामा पढ्दै थिएँ । कक्षामा ८/१० जनाभन्दा धेरै विधार्थी थिएनन् । कुरा चन्द्रसूर्य प्रावि सिमखर्क सुङ्देलकाे हाे । रमेश राईले पढाउँथे । त्यहाँका सरहरु दिउँसै रक्सि धाेकेर लट्ठी बाेकेर स्कुल आउथे । अनि विद्यार्थीलाई पिटेर , सजाए दिएर मल्ल राजाका पालमाझै आमाेदप्रमाेद गर्ने गर्थे । पढाउन चाहिँ नपरे हुन्थ्यो जस्तो गरेर कक्षाकाेठामा प्रवेश गर्थे । सरले के साेधेकाे थियोे मैले के जानिन त्यसैको बदलामा सरले बासकाे भाटाले मेरो नाङ्गो तिघ्रामा झरिलाे सुम्लाे बस्नेगरि सुम्ल्याएकाे सम्झना छ । मैले दाैरा मात्रै लगाएको थिएँ । त्यो उमेरले कट्टु , सुरुवालकाे खाचाे महसुस गरेकाे थिएन । सरकाे पिटाइमा डाकाे छाेडेर क्वाँक्वाँ रुन पनि नमिल्ने र घरमा गएर सरले कुट्याे भन्न पनि डरकै कुरा हुन्थ्याे । पुरस्कारमा कसैले कठै पनि भन्नेवाला थिएनन् । स्कुलमा टन्न कुटाइ खाइन्थ्याे । एकलाैटी दर्द मनमा सँगालेर राखिन्छ । आज सन्दर्भ मिलाएर मैले यहाहरु समक्ष पस्किए तर कतिपयले लाज सरम इज्जतकाे डरले कसैलाई पनि सुनाउदैनन् । वेदना ब्यक्त नगर्नु भयंकर भूल मात्रै हाेइन आफ्नाे इतिहास आफैले मेटाउनुजस्तै हाे।
त्यस्तै पृथ्वी मावि बाक्सिलामा कक्षा ५ मा पढ्दै थिएँ । त्यसताका चाैरमा बसेर नै पढ्नु पर्थ्याे । स्कुल जादा पनि ३/४ घण्टाकाे घमासान हिडाइपछि मात्रै स्कुल पुगिन्थ्याे । चाैरमा ब्याल्याकबाेर्ड ठड्याएर मान बहादुर श्रेष्ठ भन्ने सरले म्याथ/ गणित पढाउथ्याे । लेखेको पनि देखिदैन थियोे । बिधार्थी पनि ६०/७० जनाजति थिए । भूइँमा ठूलाकदका कमिलाले गस्ती गरिरहेका हुन्थे । त्यस्तै कमिलाकाे फेलापरेर म ऐया आथाे गर्दै थिएँ । अचानक त्यो सरले मेरो कलिलाे कञ्चटमा अन्धकार हुनेगरि भाटाे बजार्याे । तत्कालै त्यो गुरु मेरो नजरमा गाेरु सावित भयो । तेतिखेर मेरा नजरबाट गिरेको गुरु अहिलेसम्म पनि नजरबाट उठ्न सकेकाे छैन । बिधालयकाे नजिकै बुधबारे बजार लाग्थ्यो । बजारकाे नजिकै त्यो सरकाे फाेटाे स्टुडियो थियोे । आफू बसेकै घरमा सँधै नै फाेटाे खिचेर नै उसबेला पनि मनग्ये आम्दानी गरिरहेकाे हुन्थ्यो । उस्काे ध्यान र मन चाहिँ स्टुडियोमा नै हुन्थ्यो ।
विद्यार्थीलाई पढाउन छाेडेर पनि फाेटाे खिच्नमै रमाएकाे देखिदेखि पनि तत्कालीन अवस्थामा कसैले पनि उजुरी गर्ने चलन थिएन । गुरुलाई दिनमा दस ठाउँमा भेटे पनि दशैपटक प्रणाम गरिन्थ्यो । तर कुनैकुनै गुरुले धर्म छाेड्दा गाेरु सावित हुनुलाई दुर्भाग्य नै भन्नुपर्छ ।
अर्का गुरु थिए नेपाली पढाउने दाहाल थरका । उनलाई धरानबाट आएका दाहाल भन्थे । विद्यार्थीलाई शब्दैपिच्छे अप्ठ्यारो सिर्जना गरेर उठबसकाे ब्यायाम गराएर आत्मसन्तुष्टि लिने गर्थे । उनी पनि बिग्रिएका रेडियोहरु बनाएर अतिरिक्त आम्दानी बटुल्ने गर्थे । ती चण्डाल सरहरु विद्यार्थीकाे सिकाइमा भन्दा पनि आफ्नोे इलमकाे श्रीवृद्धिहेतु मुन्टाले टेकेर लागिपर्थे र सायद व्यवसायकाे अभावको रिस अबाेध चेलाहरुमा पाेख्ने गर्थे । पछि फेरि त्यही स्कुलमा साेलुखुम्बुतिरका कृष्ण प्रसाद ढुंगाना भन्ने नेपाली पढाउने सरले नेपाली विषय धेरै राम्रोसँग पढाउथे पछि उनको चाडै नै सरुवा भएर अन्त जाँदा धेरैकाे आँत र आँखा सँगसँगै रसाएका थिए ।
त्यसपछि कक्षा ८/९/१० गाेग्राहा मावि बरगाछी विराटनगरमा पढ्दा सरहरुकाे तर्फबाट खासै चित्त दुखाउनु परेन तर शिक्षाशास्त्र बिषयकाे प्राक्टिकल नम्बर चाहिँ मभन्दा नजान्ने तर जहाँ पायाे त्यहीँ नमस्कार टक्र्याउनेलाई धेरै र मलाई चाहिँ थाेरै दिएकाे देख्दा गुरुकाे तजबिजी दनकलाई पनि मैले ठूलो चाेटकाे रुपमा लिएको छु।
मेरा साख्यै दुइजना भाइहरुलाई सानामा मैले मात्रै हुर्काएकाे भने पनि हुन्छ । गंगा/ ज्ञानेन्द्रप्रसाद भट्टराई विराटनगरमा मुलघरमा राईदाइकासाथ हार्डवाेयर्स पसल गरेर उग्राई रहेको छ भने भानुभक्त भट्टराई काठमाडौ कलंकीमा घर बनाएर सैनिक अधिकृतको रिटायर लाइफ गुजारी रहेको छ । यी दुईभाइकाे मलमुत्र, राल सिगान, र यिनले हसुरेका जुठाभाँडा मैले धेरै माज्नु पर्याे । यिनकै कारणले सानामा मैले केटाकेटी बनेर खेल्न बरालिन पाइन । सँधै यिनकै थाङ्नासँग मपनि लुटपुटिएर बस्नु पर्थ्याे । चाडबाड, दशैं तिहार यिनलाई काेखाईकाेखाई र नराेउ बाबू नराेउ भन्दैमा बित्थ्याे । कतै गए पनि एउटा पिठिउँमा हुन्थ्याे भने अर्को चाहिँ हातमा ।
यसैक्रममा एकपटक आमा दाजुहरु खाना खाएर मेलापात गर्न गएका थिए । बुबा ज्याेतिषी भएको हुनाले घरमा टाढाटाढाबाट मानवहरुकाे ओइरो लागिरहन्थ्याे । बुबा बाहिर बरण्डामा बसेर आगन्तुककाे चित्त बुझाउन ब्यस्त हुनुहुन्थ्यो । म घरभित्रै यिनै भाइहरुलाई हेर्दै थिए । लाेहाेटाएर राखेको चुलाेमा गंगाप्रसाद भन्ने भाइले बिष्ट्याएछ । सानेा भानुभक्त भाईले ओदानमा बसेर अँगेनामा बिष्ट्याएछ । म ठूलो भनाउँदाे पनि ५ बर्ष जतिको हुदाे हुँ । यसरी दिशा गरेको देखेपछि मैले दाैडेर गएर बुवालाई बुबा भाइले दिशा गर्याे भनेर भन्नेबित्तिकै पिताजीले मेरो खप्परमा सकेकाे बल लगाएर मुड्की बजार्नु भयो । पिटाइकाे रन्काेमा मैले तीन त्रिलाेक चाैद भूवन देखेँ । मानाैं मैले नै निचाेरेर दिशा गराएजस्ताे ।
सानामा भाइहरुले मलाई धेरै गाल पनि पारेका छन् । एकपटक दशैंकाे बेलामा भाइ भानुले खसी काट्ने खुकुरी खेलाउदै थियो । ज्ञानेन्द्र भाइ र म पनि सँगै थियौँ । खेल्दाखेल्दै भानुभक्तले खुकुरीले ज्ञानेन्द्रको टाउकोमा हानिहाल्याे । मैले आमा भाइले ज्ञानेलाई काट्याे भने । आमा बुबाले दबाई लगाएर रगत थामियाे । तर अवगाल मैले ब्यहाेर्नु पर्याे । अनि बुबाले मलाई किन पिटेको हाे भन्ने कुराकाे रहस्य चाहि अहिले म ५९ बर्षे लक्काबृद्ध हुँदासम्म पनि पत्ता लगाउन सकेको छैन रहस्यकै गर्भमा छ ।
एकपटक म कलेज खर्च जुटाउन र ब्यापारिक अनुभव बटुल्न कपडा पसलमा काम गर्थें। कपडा पसलमा पल्याँटीकसेर बस्नु पर्थ्याे । साहु रामकुमार श्रेष्ठका ४ जना छाेराहरु थिए । कुरा पाेखरा महेन्द्रपुलकाे । साहुकाे बाबू अन्धाधुन्ध गफ गर्दागर्दै एउटा केटाले एसएलसीमा १६/१७ सय नम्बर ल्याएर नेपाल नै टप्याे अरे । त्यो त कति धेरै जान्ने भन्दै गफ चुटिरहेकाे थियो । उसलाई एसएलसीमा कति पूर्णाङ्क हुन्छ भन्ने पनि थाहा थिएन । उसको गफमा अँ हाे भन्दै सहिथापी दिनु पर्थ्याे ।
यसैक्रममा थाहा नै नदिइ पछाडिबाट साहुकाे नातिले कपडा नाप्ने मिटरले मेरो पछाडिको भागमा हिर्कायाे । पिट्छस् भन्दै मैले पनि त्यसकाे कुममा हातले पिटे । त्यसपछि कपडा पसलकाे साहु, हजुर बाबु, र नाति समेत तीन पुस्ता नै मिलेर मलाई अर्काकाे छाेरालाई पिट्ने भन्दै पिटे । म पनि अर्काकाे छाेराे हाे मलाई किन पिटेको ? भनेर मैले पनि थर्काएँ । तर जे नखानु थियाे, जे नहुनु थियो भयाे । पछि साहुले गल्ती भयो भन्दै माफ माग्याे र मैले क्षमा दिएँ ।
हामीले कसैलाई भकुर्नु अघि जायज नाजायज छुट्याउनु खुट्याउनु पर्छ । कसैले कसैलाई पिटे भनेर नाक फुलाउनु भन्दा दया माया गरेँ भनेर गमक्क पर्नसकेमा नै आफ्नो छवि रवि जस्तै गरेर चम्किन्छ । बल र बुद्धि सँधै एकैनास हुदैन भन्ने साेचेर दूर्बल र निम्सरा बर्गलाई काखी च्यापेर रमाउन जमाउन जान्नुपर्छ मात्रै हाेइन आफूजस्तै ठान्नु पनि पर्छ है बेलैमा सुद्धि खाेलेर बुद्धि प्रवाह गर्नुहाेला ।
०००
फूलबारी ११, कास्की पाेखरा ।
फाेन:- ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest








































