
चार ठाेकान
कसैको इमानमा डाम्न प्रयोग भएको छ कसैको भित्री मन छाम्न प्रयोग भएको छ निष्ठा र योगदानका लागि भएन पदक कहिल्यै खाली उही विरासत थाम्न प्रयोग भएको छ ।

डा. ऋषि बस्ताकोटी :
१. बादल लागेको घाममा छौं हामी
आधा रावण आधा राममा छौं हामी
मौसम पनि सधै चुनौती भो हाम्रा लागि
खुल्न नसकेको याममा छौं हामी ।
२. हेर्दै जाऊँ कुन ठीक कुन बेठीक लाग्छन्
आफ्नाका कुरा त सधैँ तार्किक लाग्छन्
इमान हराएको बस्तीमा चश्मा फेरेर हेर्दैमा
नाङ्गाहरू खै कसरी पो नैतिक लाग्छन् ।
३. फुटेका कुरा सुनियो, जुटेका कुरा सुनियो
सोझासाझाका दिमाग भुटेका कुरा सुनियो
सुन्न त खै के-के सुनियो, बाह्रैमासे गाईजात्रामा
साधु भेषधारीले नै लुटेका कुरा सुनियो !
४. कसैको इमानमा डाम्न प्रयोग भएको छ
कसैको भित्री मन छाम्न प्रयोग भएको छ
निष्ठा र योगदानका लागि भएन पदक कहिल्यै
खाली उही विरासत थाम्न प्रयोग भएको छ ।
०००