अशोककुमार शिवानिभ्ने बेलाको बत्ति
मान्छे स्वार्थी भएपछि समाज स्वार्थी हुन्छ, समाज स्वार्थी भएपछि त वित्यासै परिगो नि । दियो युगौ बलिरहोस् जस्तो त लाग्छ तर हत्केलाले हुरी छेक्दैन ।

अशोककुमार शिवा
विशेषत: बत्तीको काम बल्ने नै हो । दियोमा तेल हालेर कटनको बाती भिजाएर बाले पछि बल्ने ज्वालालाई बत्ती भनिन्छ । बत्ती दियोमा तेल रहुञ्जेल मज्जाले एकनास सँग बलिरहन्छ । जब दियोमा तेल सकिन्छ तब पनि बत्ती बल्छ तर त्यो बलाई तेलको नभएर बातीको बलाई हुन्छ । तेल नभएपछि बाँकी रहेको बाती सबै एकैपल्ट बल्ने हुनाले बत्तीको ज्वाला ठूलो हुन्छ । यो क्षणको बत्ती सीमित समय बलेर निभ्छ । हो, यही क्षणको कुरा यहाँ गर्न लागिएको छ । “निभ्ने बेलाको बत्ती ।”
म यहाँ मेरै सेरोफेरोका कुरा उल्लेख गर्न चाहन्छु । मेरो जीवनको सुरुवात दियोमा बातीको रुपमा भएको हो भन्न सकिन्छ । मातापिताले ममा अनेकन थरी तेल हाल्दै जीवनरुपी मेरो दियोलाई बालिरहनु भयो । अहिले पनि म वहाँहरूले राखेको तेलबाटै बलिरहेको हुनुपर्छ । जीवनका दौरान रुपी दियोमा कुनै तेल यस्तोसम्म परे जसको कारण बत्ती राम्रो सँग बल्न नसक्ने हो कि झैं समेत भयो । तर, नआत्तिएरै अनेकन उपायहरू लगाएर दियोलाई निरन्तरतामा राखियो । यसरी दियोलाई जीवित राख्ने कामको लागि मेरी श्रीमतीलाई श्रेय दिने गरेको छु । बेला बेला बाउँठिँदा मात्रै जागिरै खुस्काई दिउँ कि झैं लाग्छ ।
अब जीवनको उत्तरार्धतिर आइपुगियो । नयाँ बालीनाली बोटबिरुवा लगाउन सकिने चान्स नै छैन । फेरी जीवनरुपी दियोमा तेल पनि बिस्तारै घट्दै घट्दै आउन थालेको छ । तर दियोको ज्वाला केही तेजिलो र रापिलो बनेको भने छ नै । यो तेजिलो र रापिलो दियोको ज्वालाको ढर्रा त्यही निभ्ने बेलाको बत्तीको ढर्रा जस्तो त होइन ? भनेर डर डर पनि र बेला बेला शंका पनि लाग्छ । जीवनको पूर्वार्ध र मध्यावस्थामा दियोमा कहिले बाती तेलमा डुब्न खोज्यो । कहिले तेलमा पानी परेर पट्टटट पड्किएर राम्ररी बल्न सकेन । ऊ बेला ममा जागेका र लागेका अनेकन रहरहरू पूरा गर्न नसकेको सम्झेर अहिले पुरा गर्न तम्सिरहेको यो ज्यान करिब जाज्वल्य बन्न खोजिरहेछ ? यो भने गहिरो अनुसन्धानको विषय हुनसक्छ ।
हाल आएको यो ज्यान बिहान सबेरै देखि रातको करिब १२ बजेसम्म एकनास केही न केहीमा व्यस्त अनि मस्त भइरहेको छ । हल्का अस्वस्थताको बाबजुद यो भौतिक शरिरलाई अनेकन पारिवारिक, सामाजिक, सांस्कृतिक र सांगीतिक कामहरू गर्ने रहर जागेको छ । मलाई आखिर किन यसरी रहर जाग्नु थाल्यो । अरुले केही गरेको देख्यो कि आफूलाई पनि त्यस्तै गर्न मन लाग्नु भनेको जाँगर बढ्नु नै हो ।
हिन्दीमा गुन नदेख्ने मानिसलाई यहसान फरामोस भनिन्छ क्यार । यहाँ नेपालमा अझै यो खाल्का मान्छेहरू प्रशस्त छन् । बाटो देखायो जाउञ्जेललाई मात्र ठाउँमा पुगेपछि आफै आएको भन्छन् । मान्छे स्वार्थी भएपछि समाज स्वार्थी हुन्छ, समाज स्वार्थी भएपछि त वित्यासै परिगो नि । दियो युगौ बलिरहोस् जस्तो त लाग्छ तर हत्केलाले हुरी छेक्दैन ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































