साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाना कविताका पहिलो सर्जक तुल्सी थापाको निधन

साहित्य संगम मकवानपुरले ३१२औं नियमित साहित्य सन्ध्याको अवसरमा अमेरिकानिवासी गौरव थपलियाद्वारा ५१ हजार १ सय ११ रुपैयाँसहित उहाँलाई सम्मानित हुनुभएको थियो भने २०७९ मङ्सिरमा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अगुवाईमा १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्त रुपमा थापा सरलाई २ लाख रुपैयाँसहित अभिनन्दन गरेको थियो ।

Nepal Telecom ad

“संजय बाहिर केही देखिन्छ ?
देखिन्छ सरकार
सर्वत्र अन्धकार !”

साहित्यकार एलबी क्षेत्रीले गहकिला शब्दसहित लेख्नु्भयो । “तुल्सी थापा सर भन्नुहुन्थ्यो- ‘एल बी सर तपाईँले चितवन र मकवानपुरका साहित्यकारहरूलाई जोड्ने काम गर्नु भएको छ ।’ उहाँ अब हामीबीच रहनु भएन । उहाँको सम्झना सदा जीवित रहने छ ।”

साहित्यकार भुपिन लेख्दै हुनुहुन्थ्यो- हिजो साँझ नाजुक हालतमा अग्रज लेखक तुल्सी थापा सरलाई भेटेथेँ- सिएमसी भरतपुरको आइसियुमा । उहाँको छेउमा धेरै बेर उभिएँ, मौन मौन उहाँको छटपटी नियालिरहेँ, केही बोल्नै सकिन ।
अकस्मात मतिर सरले हेर्नु भएपछि मैले हात जोडेँ, ’भूपिन बाबु ।’ उहाँ प्रेमले मलाई यही नामले बोलाउनु हुन्थ्यो ।
उहाँले चिनेको भावमा टाउको हल्लाउनु भयो ।
(पछि मलाई लाग्यो, मैले यत्ति दुई शब्द पनि नबोलेको भए हुने ।)
राती तुल्सी सरको निधन भएको सपना देखेँ ।
र अहिले उहाँको निधनको अत्यन्त दुखद खबर आयो विपनामै ।
हार्दिक श्रद्धाञ्जली प्रिय अग्रज ।

तपाईँले आविष्कार गर्नु भएको दाना कविता र बहु विधामा यहाँले पुर्यानउनु भएको विशेष योगदान सदा स्मरणमा रहिरहने छन् । दुख लाग्छ- तपाईँलाई देशले जति चिन्नु पर्थ्यो, चिनेन । तपाईँलाई देशले जति सम्मान गर्नु पर्थ्यो, गरेन ।

“संगीतकार भीमविरागपछि आफ्नै सिर्जनाले मकवानपुरमा उच्च स्थान बनाएको कुनै नाम छ भने त्यो नाम तुल्सी थापा नै हो ।” लेखक संघ छवि अनित्यका शब्दहरू यसरी बर्सिए ।

लामो समयदेखि थापा सरसँगै थुप्रै साहित्यिक गोष्ठी, विमर्श, विमोचन र रचना वाचन गरिरहनु भएका तथा साहित्य सिर्जनामा लागिरहनु भएका सर्जकहरू निमेष निखिल, भावना सापकोटा, सुवास खनाल, अनिता न्यौपानेका साथै रमेश प्रभात, राजकुमार लामिछाने, दीपक गौतम, हयग्रिव आचार्य आदिले सामाजिक सञ्जालमार्फत् उहाँप्रति श्रद्धाञ्जलीका शब्दगुच्छाहरू प्रकट गर्नुभयो ।

नेपाली कला क्षेत्रका विश्वज्ञानकोष उपनामले चिनिने प्रकाश सायमी लेख्नुभयो ’साहित्यकार तुल्सी थापा रहनु भएन, हार्दिक श्रद्धाञ्जली ।’ कलाकर्मी उज्वल शर्मा भण्डारी, नारायण कँडेल, देव श्रेष्ठ आदिले उहाँको निधनमा शोक व्यक्त गर्नु भएको छ ।

सामाजिक सञ्जालमा सुधीर श्रेष्ठले भावुक विचार लेख्नुभयो- “करिब दुई वर्ष अघि मेरो बुवाको देहावसनको केही समय पछि आफैँ आउनु भएर मेरो पुरानो साथीको बारेमा केही लेखेको छु, सुधिर बाबु भनेर आफ्नो हस्तलिखित सामग्री मलाई दिएर जानु भएको थियो । यो मेरो लागि धेरै मूल्यवान रहने छ तुल्सी सर !! माथि बुबासँगै फेरि पालुङका रमाइला कुराहरू स्मरण गर्दै बस्नु होला ।”

गजलकार धनराज गिरी लेख्नुहुन्छ-
“आँगनको तुलसी नै अलप भयो आज !!
मकवानपुर, धेरै रोयो तिम्रो धनराज !!”

शालिन र मिजासका धनी तुल्सी थापा शिक्षा र साहित्य क्षेत्रमा ’थापा सर’ नामले परिचित हुनुहुन्थ्यो । ४० वर्ष अध्यापन पेशामा बिताउनु भएका उनै थापा सर, जसले नेपालमैं पहिलो पटक दाना कविता संग्रह ’एक निमेष अनन्तको (२०५८)’ लेख्नुभयो । यस्तै ’अमरसिंहको खोजीमा-अमरसिंह नाटक (२०६१) र ’फरक आकाश-कथा संग्रह’ (२०७२) प्रकाशन गर्नु भएका उहाँले गोरखा दक्षिणबाहु चौथो पुरस्कार प्राप्त गर्नुभयो । नारायणी वाङ्मय पुरस्कार (२०५८), नेपाल राष्ट्रिय अभिभावक संघ सम्मान, शिक्षा दिवस पुरस्कार (२०५२), साहित्य संगम पुरस्कार (२०६८) तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा नागरिक अभिनन्दित (२०७५) लगायत उहाँ थुप्रै सम्मान तथा पदकले सम्मानित हुनुहुन्थ्यो ।

साहित्य संगम मकवानपुरले ३१२औं नियमित साहित्य सन्ध्याको अवसरमा अमेरिकानिवासी गौरव थपलियाद्वारा ५१ हजार १ सय ११ रुपैयाँसहित उहाँलाई सम्मानित हुनुभएको थियो भने २०७९ मङ्सिरमा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अगुवाईमा १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्त रुपमा थापा सरलाई २ लाख रुपैयाँसहित अभिनन्दन गरेको थियो ।

अघिल्लो वर्ष मात्रै साहित्यकारहरू एलबी क्षेत्री (अध्यक्ष), उदय अधिकारी (उपाध्यक्ष), भुपिन, ईश्वर कँडेल, रमेश प्रभात आदिले कविडाँडा साहित्य समाज चितवनमार्फत् पोखरा निवासी साहित्यकार तीर्थ श्रेष्ठबाट उहाँलाई सम्मानित गरिएको थियो । जहाँ हेटौंडाका साहित्य सर्जकहरू उहाँको सम्मानमा जम्मा भएका थिए । आजै नेपाली लेखक संघ नेपालका अध्यक्ष, गीत/गजलकार, कवि तीर्थ श्रेष्ठले थापा सरप्रति श्रद्धाञ्जली अर्पण गर्दै साथ लेख्नुभयो- “कविडाँडा साहित्य समाज चितवनबाट संगसंगै सम्मान ग्रहण गर्ने अवसर पाएका थियौं । नेपाली लेखक संघ मकवानपुरबाट आयोजित मेरो एकल कविता वाचनमा उहाँको स्नेहपूणर् उपस्थिति सम्झिरहेको छु ।”

मकवानपुरको हालको भीमफेदी गाउँपालिका भैंसेमा जन्मनु भएका शिक्षासेवी थापा चेपाङ समुदायको विकासमा चेपाङ भाषाको पत्रिका प्रकाशन गरेर योगदान दिनु भएकाले कृष्ण माविद्वारा आयोजित कार्यक्रममा पालिका अध्यक्ष हिदम लामामार्फत् अभिनन्दित हुनुभयो । उहाँले चेपाङ विकास अधिकृतका रूपमा समेत काम गर्नुभयो । उहाँका आफ्ना कर्मका कारण उहाँ जहाँ जहाँ रहनु भयो, जीवनभर सम्मानित भएरै रहनु भयो ।

उहाँ जीवनकालमा भीमविराग साहित्य कला प्रतिष्ठान अध्यक्ष तथा आफ्नो जीवनकालमा नेपाल मगर संघ जिल्ला समिति अध्यक्षमा रहनु भयो । सहीद स्मारक, साहित्य संगम लगायत केही शिक्षालयहरूमा सल्लाहकार रहनु भएको उहाँका तीन दाना कविताः

१.
योग्यताः
“म यति योग्य छु कि
आफूले आफैंलाई
अयोग्य घोषणा गर्न सक्छु ।”

२.
कमिशनः
“रानीपोखरी दङ्ग परेको छ
एक क्युसेक पानीको मोल बुझ्न
प्रताप मल्ल नगरपालिकाको हाकिम ढुकिरहेछ ।”

३.
बिरामी देशः
“दिवसहरूमा चलमलाउँछ
त्यसपछि थाहै हुन्न
कतिखेर अचेत पल्टिन्छ ।”

उनै साहित्यकार ‘थापा सर’ निमोनिया, मधुमेह, रक्तचाप तथा मृगौलासम्बन्धी समस्याग्रस्त हुनुहुन्थ्यो । यही भाद्र ८ गते शुक्रबार बिहान ७८ वर्षको उमेरमा चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको असामयिक निधन भएको छ ।

अन्त्यमा,
स्वर्गीय साहित्यकार तुल्सी थापाप्रति नवसर्जक नेपालका महासचिव समर्पण न्यौपानेका श्रद्धा भावहरूः
“नेपाली साहित्यका एक मानक व्यक्तित्व ‘दाना कविता’ लेखनका प्रणेता आदरणीय साहित्यकार तुल्सी थापा सरको निधनको खबरले स्तब्ध छु । आजदेखि शिक्षा र साहित्यले एक निस्वार्थ साधक मात्र गुमाएको छैन, मकवानपुरे साहित्यले आफ्नो अभिभावक पनि गुमाएको छ । साहित्यमा जीवनका सामान्य घटनालाई पनि असामान्य लेखनशैलीका साथ प्रस्तुत गर्न सक्ने थापा सरको जीवनबाट हामीले धेरै कुरा सिक्नु छ ।”

फित्कौली परिवार उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजन र सम्पूर्ण शुभेच्छुकहरूप्रति धैर्यधारणको कामना प्रकट गर्दछ ।

०००
– हेटौडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x