फित्काैली डटकमस्रष्टा भेषजराज शर्माको २१औँ स्मृति दिवस शर्माकै घरमा
कार्यक्रमको प्रमुख अतिथि स्व. भेषजराज शर्माकी भाउजू लिलावती आर्यालले शर्मा साहित्य र शिक्षामा निकै राम्रो दक्षता भएको हुनुहुन्थ्यो भन्दै उहाँको नाममा प्रतिष्ठान दर्ता भएर सञ्चालन भएका गतिविधिले हामीहरूलाई खुसी तुल्याएको कुरा व्यक्त गर्नु भयो ।

स्याङ्जा, ०८० असाेज १३ । नेपाली साहित्यका बहुमुखी प्रतिभा स्व.भेषजराज शर्माको २१ औँ स्मृति दिवस वालिङ- ११ स्थित उहाँकै जन्मघरमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
प्रतिष्ठानको नियमित रचनावाचनको ६५ औँ शृङ्खला पनि सम्पन्न गरियो ।
कार्यक्रमको प्रमुख अतिथि स्व. भेषजराज शर्माकी भाउजू लिलावती आर्यालले शर्मा साहित्य र शिक्षामा निकै राम्रो दक्षता भएको हुनुहुन्थ्यो भन्दै उहाँको नाममा प्रतिष्ठान दर्ता भएर सञ्चालन भएका गतिविधिले हामीहरूलाई खुसी तुल्याएको कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नं ११ का वडाध्यक्ष दण्डु पंगेनीले भेषजराज शर्मा यस ठाउँकै गौरव गर्न लायक व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अर्का अतिथि वडा सदस्य एवम् शर्माका सहकर्मी पूर्व शिक्षक आनन्दकुमार खाँणले शर्मा विद्वान् कुशल अध्यापक हुनुहुन्थ्यो भन्नुभयो ।
कार्यक्रममा शम्भु अर्याल, मिलन समीर, दमकल बगाले र ध्रुवप्रसाद पंगेनीले कविता वाचन गर्नुभएको थियो भने लेखनाथ काफ्ले र कमल बगालेले लघुकथा वाचन गर्नुभयो । शर्माका परिवारका सदस्यहरू, स्थानीय व्यक्तिहरू, समाजसेवी पुण्यप्रसाद अर्याल, प्रदीप रेग्मी बगाले, श्याम थापा, रमेश अर्याल लगायतका व्यक्तिहरूको विशेष उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले गर्नुभएको थियो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए ।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका प्लस टु इन्चार्ज मधुसूदन आचार्यले आजीवन सदस्यता लिनुभएको थियो भने अध्यता हरिप्रसाद ढकालले भेषजबिन्दु साहित्यिक अक्षयकोषका लागि रु ५००० रुपैयाँ सहयोग गर्नुभयो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. अच्युतशरण अर्यालले पठन संस्कृति र प्रतिष्ठान स्थापनाको महत्त्वबारे जानकारी गराउनुभयो ।
यस्तैगरी शर्माका उत्तराधिकारी उमेश अर्यालले प्रतिष्ठानले घरमै कार्यक्रम आयोजना गरेकामा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
०००
श्यामप्रसाद ढुङ्गानाद्वारा प्रेषित
Subscribe
Login
0 Comments
Oldest







































