फित्काैली डटकमप्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई हस्तान्तरण
नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई "प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार" हस्तान्तरण गरियाे ।

काठमाडौँ, २०८० पुस २९ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच
वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई “प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार” हस्तान्तरण गरियाे ।
यसै गरी अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका “थौंकन्हे” का सम्पादक रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’-२०८० नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा समारोहका सभाध्यक्ष भूपाल राईले वितरण गर्नुभएको थियोे ।
उक्त जनही पचास हजार (५०,०००) राशि रहेको साहित्यिक पत्रकारिता विधाको पुरस्कारलाई समावेशी रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक ६५ वर्षपछि २०७९ चैत्रमा स्थापना गरेको थियोे ।
यसैगरी घिमिरेको प्रधान सम्पादकत्व तथा प्रकाशकत्वमा विस २०१८ साल, जेष्ठ महिनादेखि “रचना”साहित्यिक द्वैमासिक पत्रिका प्रकाशित हुँदै आएको छ ।
पुरस्कृत श्रेष्ठ वि.सं. २००८ वैशाखमा प्रकाशित नेपालभाषाको साहित्यिक मासिक “थौंकन्हे” मा २०४५ सालमा आबद्ध हुनुभएको थियो । साथै श्रेष्ठको सम्पादकत्व तथा प्रकाशकत्वमा २०६२ मा जिप्रका काठमाडौँमा दर्ता भएयता “थौंकन्हे”को प्रकाशन हुँदै आएको पाइन्छ ।
यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकारितामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई पहिलोपटक “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”वितरण गर्न पाउँदा आफूलाई गौरव महसुस हुनु स्वाभाविक हो । मूलतः साहित्यिक पत्रकारिता स्रष्टा उत्पादनशाला र प्राज्ञिक खुराक हो। जसले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विचार र चिन्तनको उत्पादन गर्न सक्षम साहित्यिक पत्रकारितामा जीवन जिएका व्यक्तित्वको योगदानलाई चम्काउन “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”को स्थापना गरेको बताउनुभएको थियोे ।
समारोहमा पुरस्कृत व्यक्तित्व रोचक घिमिरेले प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरी आफूलाई पहिलोपटक प्रदान गरेकोमा आभार व्यक्त गर्दै कतिपय राम्रा र रचनात्मक कार्यमा वर्तमान नेतृत्व अघि बढेको छ, त्यसमा सधैँ साथ रहिरहने बताउनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले धन्यवाद ज्ञापन, सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्य र प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले पुरस्कृत प्रतिभाबारे परिचयात्मक मन्तव्य राख्नुभएको थियो ।
यसैक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवाल, भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल र मधेसी आयोगका सदस्य आभासेतु सिंहले आआफ्नो मन्तव्य राख्नुभएको थियोे ।
समारोहको सहजीकरण एवं सञ्चालन प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































