फित्काैली डटकमनीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा-प्रवाह’ ग्रन्थ लोकार्पित
लाेकार्पण समाराेह नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको हो ।

धादिङ, २०८०, माघ २७ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ग्रन्थ ‘प्रज्ञा-प्रवाह’ एक समारोह बीच लोकार्पण गरिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको हो ।
लोकार्पण समारोहमा हास्यव्यङ्ग्यकार एवम् फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेल, नगर उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी, सहायक प्रजिअ र प्रहरी उपरीक्षक गौतम मिश्र लगायत विशेष अतिथि रहनु भएको थियो ।
दीप प्रज्ज्वलन र शान्ति स्वस्तिवाचन गरी प्रतिष्ठानका उपाध्यक्षद्वारा स्वागत मन्तव्यपछि आरम्भ भएको समारोहमा ‘प्रज्ञा-प्रवाह’मा के कस्ता सामग्रीको संयोजन गरिएको छ भन्नेबारेमा अध्यक्ष दाहालले प्रकाश पार्नुभएको थियो ।
नाट्य समाट बालकृष्ण सम र सरस्वतीको तस्विरमा पुष्पगुच्छा अर्पणपछि ग्रन्थ विधिवत लोकार्पण गरियोे भने डा. रामहरी लम्सालले लोकर्पित ग्रन्थमा समाविष्ट सामग्रीमा केन्द्रित रहेर समीक्षा प्रस्तुत गर्नु भएको थियो ।
नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले धादिङको वाङमयिक विकासलाई देशव्यापी रुपमा परिचित गराउन नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अझ बढी सक्रिय हुन सकोस् र साहित्यिक प्रतिभा प्रस्फुटनका निम्ति सहज वातावरण सिर्जना गर्न सक्षम होस् भन्ने धारणा व्यक्त गर्नु भयो ।
त्यसै गरि हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले दश वर्ष धादिङ बसाइको स्मरण गर्दै प्रतिष्ठानले बौद्धिक वेदीको रुपमा आरम्भ गरेको यो अभियान सफल रहोस् भनि शुभकामना व्यक्त गर्नु भयो ।
त्यसै गरी नगर उपप्रमुख दिपक विश्वकर्मा, पुरुषोत्तम सुवेदी, राजाराम सुवेदी लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियोे ।
लोकार्पित ग्रन्थ ‘प्रज्ञा-प्रवाह’मा नेपाली वाङमयमा आधारित १० वटा अनुसन्धानात्मक लेखहरू, २६ वटा विविध विषयकेन्द्रित आलेखहरू, ११ वटा पद्यात्मक सिर्जना सहित नीलकण्ठ प्रज्ञा प्रतिष्ठान स्थापना पछिका गतिविधिमाथि प्रकाश पार्ने सामग्रीहरू संयोजन गरिएको छ ।
धादिङका स्रष्टा सर्जकहरूको उल्लेख्य सहभागितामा सम्पन्न लोकार्पण समारोहलाई प्रतिष्ठानका सदस्यसचिव प्रकाश पौडेलले सहजीकरण तथा सञ्चालन गर्नुभएको थियो ।
०००
– प्रकाश पौडेल र सृजना अर्यालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































