साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माधव प्याकुरेलको उपन्यास कृति ‘गौना’ सार्वजनिक

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि फुयालले उपन्यासकार माधव प्याकुरेलको पहिलो उपन्यास ‘गुलरको फूल’ र ‘गौना’ दुबै कृति पढ्न पाएको बताउनु भयो ।

Nepal Telecom ad

काठमाडौँ, २०८० फागुन ११ । उपन्यासकार माधव प्याकुरेलको उपन्यास कृति ‘गौना’ सार्वजनिक गरिएको छ । शुक्रबार नेपाल बार एसोसिएसनको सभाहलमा आयोजित एक भव्य कार्यक्रमकाबीच सो उपन्यास कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रमका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि फुयाल, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ, समालोचक डा. तुलसीप्रसाद गौतम, समालोचक डा. ज्ञानु अधिकारी लगायतले संयुक्त रुपमा सो कृतिको विमोचन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि फुयालले उपन्यासकार माधव प्याकुरेलको पहिलो उपन्यास ‘गुलरको फूल’ र ‘गौना’ दुबै कृति पढ्न पाएको बताउनु भयो । उपन्यासको विषयवस्तु प्रस्तुत गर्दै उहाँले तराईमा बसोबास गर्ने एक मानिसले नागरिकता पाउन गरेको प्रयास र नागरिकता नहुँदा पाएको हण्डरको कथा रहेको बताउनु भयो । यो महत्वपूर्ण आख्यान भएको भन्दै उहाँले उपन्यासकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उपन्यासकारलाई बधाई दिँदै यो उपन्यासले समाजको सुन्दर पक्षको जानकारी दिनसकेको बताउनु भयो । नेपाली समाज मिलेर बसेको छ भन्ने कुरा उपन्यासमा आएको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले उपन्यासकारलाई बधाई दिँदै दुबै उपन्यास एक अर्कासँग जोडिएको र यो श्रृङ्खलालाई अझै अघि बढाउन आग्रह गर्नुभयो । यस्ता यथार्थपरक विषयहरु फेरि पनि उठाइदिन उहाँले आग्रह गर्नुभयो ।

आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै उपन्यासकारको अघिल्लो उपन्यास ‘गुलरको फूल’ मा भोजपुरी भाषीहरुको सामाजिक चित्रण भएको र यो दोस्रो संस्करणको रुपमा ‘गौना’ आएको बताउनु भयो । यी कृतिले उपन्यासकारलाई जिवित राख्ने पनि उहाँले बताउनु भयो ।

कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा. तुलसी गौतमले यो उपन्यासले छरिएका कथाहरुलाई एकठाउँ बटुलिदिएको बताउनु भयो । यो उपन्यासले वीरगञ्ज वरिपरिको कथा व्यक्त गरेको बताउनु भयो । उपन्यासले मधेसको परिवेशलाई ऐनाको रुपमा अघि सारेको पनि उहाँको भनाई छ ।

उपन्यासमाथि समीक्षा गर्दै डा. ज्ञानु अधिकारीले उपन्यासको शीर्षकले नै तराईको परिवेश व्यक्त गर्ने बताउनु भयो । विषयवस्तु नै नौलो रहेको भन्दै उहाँले भारतीयहरु पनि नेपालमा बसोबास गर्न लालायित हुँदा रहेछन् भन्ने थाहा पाइने बताउनु भयो ।

उपस्थित सम्पूर्णलाई स्वागत गर्दै प्रकाशक ओरेन्टल पब्लिकेसनका सञ्चालक हरि गौतमले महाभूकम्पअघि ‘गुलरको फूल’ प्रकाशन गरिएको र अहिले ‘गौना’ प्रकाशन गर्न सकिएको उल्लेख गर्नुभयो ।

उपन्यासकार माधव प्याकुरेलले कार्यक्रम समापन गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । ‘गुलरको फूल’ ले प्रश्न खडा गरेको र ‘गौना’ले ती प्रश्नको उत्तर दिएको उहाँले उल्लेख गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x