फित्काैली डटकमअनुपम सिर्जना प्रतिष्ठानकाे १३४ औँ नियमित शृङ्खला सम्पन्न
संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल एवं वरिष्ठकवि समीक्षक गोविन्दप्रसाद घिमिरे वेदमणिको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

काठमाडाैं, २०८० चैत १७ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १३४ औँ नियमित प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल एवं वरिष्ठकवि समीक्षक गोविन्दप्रसाद घिमिरे वेदमणिको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा क्रियाशील साहित्यिक संस्था अनुपमले विगत ११ वर्षादेखि नियमित सिर्जनावाचन कार्यक्रम गर्दै आएको छ ।
आजकाे शृङ्खलामा कविहरूले बसन्तकेन्द्रित कविताहरू प्रस्तुत गरेका थिए । प्राय सबै कविता छन्द संरचनामा संरचित थिए । कवितामा देशकाे अवस्था, नागिरकाे मनाेदशा र युवाहरूकाे विदेश पलायन जस्ता विषयमा उत्कृष्ट कविता प्रस्तुत गरिए ।
सो अवसरमा सिर्जना प्रस्तुत गर्ने कविहरूमा भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, गोविन्दप्रसाद घिमिरे वेदमणि, नरनाथ लुइँटेल, हरिप्रसाद रिमाल, बिन्दु दाहाल मुकदर्शी, नारायण निरासी, जगदीश्वर पोखरेल, वीरबहादुर लोहनी, सुधा बाँस्कोटा ढकाल, उत्तम भेटुवाल, सुशील रिजाल, बिनुबाबा घिमिरे, दुर्गा अधिकारी लगायत हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको बताउँदै सर्जकहरूलाई रचना वाचन गर्ने नियमित अवसर प्रदान गरेको, छन्दको संरक्षणमा याेगदान दिँदै आएकाे उल्लेख गर्नु भयो ।
उहाँले गोष्ठीमा सहभागीहरूले आफ्ना उकृष्ट कविता वाचन गरेकाे बताउँदै हामीले नयाँ पुस्तालाई आकर्षण गर्न सकेका छैनौँ , यसतर्फ पनि ध्यान दिनुपर्छ भन्नु भयाे । नयाँ पुस्ता दिनानुदिन विदेसिएकोमा भाषा साहित्यको विकास कसले गर्ने भन्ने समस्या आएको छ भन्नु भयो ।
समीक्षक गोविन्दप्रसाद घिमिरे वेदमणिले वाचित रचनाहरूको केस्रा केस्रा केलाएर सारगर्भित र सुललित ढङ्गले समीक्षा गर्नु भएको थियो ।
उहाँले कवितामा वर्तमान समयलाई विम्ब बनाएर रचना गर्नुपर्ने, वसन्तको वर्णनमा परम्परागत राग आएकाे, आजकाे शहरिया नयाँपुस्ताले वसन्त आएकाे कसरी बुझ्ने भन्ने प्रश्न उठाउनु भएको थियो ।
सभाध्यक्ष भुवनहरि सिग्देलले आज वाचित कविता गुणस्तरका थिए, गोष्ठी गरिमामय भएकाे, सभ्य, भव्य र नव्य भएकाे बताउनु भयो । कवितामा अर्को स्रष्टाको पदावली सापट लिनुलाइ राम्राे मानिन्न त्यही कुरा नवीन ढङ्गले प्रस्तुत गर्न सक्नु पर्दछ- सिग्देलले बताउनु भयाे।
उहाँले कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
कार्यक्रममा अनुपमकी महासचिव सुधा बाँस्कोटा ढकालले स्वागत गर्दै कुशलतापूर्वक गोष्ठीको संयोजन एवम् सञ्चालन गनु भएको थियो ।
०००
– जगदीश्वर पाेखरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































