सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजल तथा गीतकार प्रकट पगेनी ‘शिव’काे असामयिक निधन

जण्डिस र निमोनियाबाट गम्भीर बिरामी भई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका पगेनीको आज दिउसो ३ बजेतिर निधन भएको हो ।

Nepal Telecom ad

पोखरा, २०८१ वैशाख ४ । ख्यातिप्राप्त गजल स्रष्टा एवम् गीत प्रकट पगेनी ‘शिव’को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी भई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका पगेनीको आज दिउसो ३ बजेतिर निधन भएको हो ।

आइसियु हुँदै भेन्टीलेटरमा राखेर उपचार भइरहेकोमा अन्ततः उनको निधन भएको साहित्यकार रुपिन्द ्रप्रभावीले जानकारी दिएका छन् ।

७० वर्षीय प्रकट पगेनी कास्कीको रुपा गाउँपालिका वडा नं ५ का स्थायी वासिन्दा हुन् । उनका पत्नी, एक छोरा र एक छोरी छन् ।

प्रकट पगेनीका कविता र गजलका कृतिहरू प्रकाशित भएका छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीतहरू चर्चित रहेका छन् ।

उपचार प्रक्रियामा अधिकतम रकम लाग्ने देखिएकाले मङ्गलबारदेखि पोखरेली स्रष्टाहरूको सक्रियतामा आर्थिक संकलन अभियान थालिएको थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले रु. १ लाख उपलब्ध गराउने निणर्य गरेको थियो ।

पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले रु २५ हजार प्रदान गरी उपचार कोष स्थापना गर्दै सार्वजनिक अपील गरेका थिए ।

दिवङ्गत प्रकट पगेनी ‘शिव’को अन्तिम संस्कार बुधवार गरिने जानकारी उनको पारिवारिक श्रोतले दिएको छ ।

०००

प्रकट पगेनी  ‘शिव’काे  एउटा कविता

‘कालीगण्डकी’
प्रकट पगेनी ‘शिव’

फरक हुन्छन्
बग्ने खोलाका धारहरू
बग्ने नदीका सिमानाहरू र
माटोलाई स्पर्श गर्दै हिँड्ने पानीका लयहरू

पानीले लिएर बग्ने संस्कार
खोलाले दिएर बग्ने उद्गार

नदीले जुनीजुनी जिएर बग्ने ओमकारहरू

त्यो पानी
त्यो खोला
त्यो भिन्दै नदीको मुहान भएर बग्ने
उनी कालीगण्डकी हुन्
उनै नदीका छालहरूले पिट्दै
आकार लिएको शालिग्राम
र आदिम युगको दस्ताबेज बनेर
हाम्रो शिरमा उभिएको मुक्तिनाथ
हाम्रो धरोहर हो

वैदिककालको सूत्रधार
कालीगण्डकी पवित्रधामले
कागबेनी, गलेश्वर, मोदीवेणी, जैमिनी
रिडी, रुद्रवेणी, उत्तरबाहिनी, राम्दी, देवघाट
सभ्यता, संकृति, जीवन र जगतसँग आबद्ध कालीगण्डकीलाई
आफ्नै लयमा बग्न देऊ
आफ्नै वयमा रम्न देऊ

होसियार-
कालीगण्डकीमाथि
कुनै कुशासनको नजर नपरोस् ।

०००
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x