फित्काैली डटकमकवितामा बुवा विषयक साहित्यिक कार्यक्रम सम्पन्न
कार्यक्रममा मन्तव्य, कृति लोकार्पण, आदर्श बुवा सम्मान र बढी चाहिँ 'कवितामा बुवा' विषयलाई चरितार्थ पार्न बुवाप्रति सम्मान गरिएका कवितावाचनलाई प्राथमिकतामा राखिएको थियो ।

झापा, २०८१ वैशाख १९ झापा जिल्लाको शिवसताक्षी नपास्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको सभा हलमा एउटा फरक किसिमको भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।
१३५ औँ विश्व श्रमिक दिवससमेत भएको उक्त दिनको कार्यक्रममा आफ्ना पति / पिता कुवेरनाथ नेपालको प्रथम वार्षिक स्मृतिदिवसको अवसर पारेर आमा मनमाया नेपाल र छोराहरू स्रष्टाद्वय प्राडा देवी नेपाल तथा ज्ञानु विद्रोही एवम् समस्त नेपाल परिवारको संयोजन रहेको थियो । कार्यक्रममा मन्तव्य, कृति लोकार्पण, आदर्श बुवा सम्मान र बढी चाहिँ ‘कवितामा बुवा’ विषयलाई चरितार्थ पार्न बुवाप्रति सम्मान गरिएका कवितावाचनलाई प्राथमिकतामा राखिएको थियो ।
आमा मनमाया नेपालको अध्यक्षता, सञ्चारकर्मी चन्द्र भण्डारीको प्रमुख आतिथ्य र शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ को विशिष्ट आतिथ्य रहेको थियो भने आदर्श बुवाले सम्मानित स्रष्टाद्वय कोमलप्रसाद पोखरेल र पण्डित नारायणप्रसाद भट्टराई पनि मञ्चासिन रहेका थिए ।
देशलाई र दिवङ्गत स्रष्टाहरूलाई सम्झने कार्य पनि क्रमशः राष्ट्रगान गाएर तथा मौनधारण गरेर गरिएको थियो ।
कार्यक्रममा दिवङ्गत पिता कुवेरनाथ नेपालको तस्बिरमा माल्यार्पण गरी दीप प्रज्ज्वलनसँगै व्यानर पढेर कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटनपछि पं. नारायणप्रसाद भट्टराईद्वारा लिखित ‘सङ्क्षिप्त सूक्तिसुधाकर’ नामक कृतिको पनि सार्वजनिक गरिएको थियो ।
इलामको तोरीबारीमा जन्मिएर झापाको सुरुङ्गामा आफ्ना साहित्यिक कर्मथलो बनाउँदै आउनु भएका मूलतः हास्यव्यङ्ग्य विधा, समालोचना, कविता, निबन्ध र शोक महाकाव्यसमेतका सर्जक कोमलप्रसाद पोखरेल र साहित्य स्रष्टा पं.नारायणप्रसाद भट्टराईलाई मूल आयोजकको तर्फबाट आदर्श बुवाको सम्मानस्वरूप खादामालाका साथ मायाको चिनोले सम्मान गरिएको थियो । साथमा रचना वाचन गर्ने स्रष्टाहरूलाई पनि ‘कवितामा बुवा ‘ लेखिएको स्टिकर अङ्कित डायरी प्रदान गरेर सम्मान जनाइएको थियो ।
इलाम , मोरङ तथा छिमेकी राष्ट्र भारत र स्थानीय स्रष्टाहरूको समेत बाक्लो उपस्थिति रहेको यो भव्य कार्यक्रमको दोस्रो चरणमा मन्तव्य र रचनावाचन रहेको थियो । यो कार्यक्रम मूलतः साहित्यिक पृष्ठभूमिको विरासतबाट अङ्कुरण भएको हुँदा मूल आयोजकको तर्फबाट कार्यक्रम आयोजना गर्नुको औचित्यको सन्दर्भमा प्राडा देवी नेपालको भनाइ उल्लेख्य रह्यो । एउटा परम्परागत कार्यप्रणालीलाई नयाँ ढङ्गबाट आयोजना गर्नु र प्रस्तुति दिन यस्तो किसिमको कार्यक्रम तय गरिएको बताउनु भयो भने आफू हौसला भन्दा बढी खबरदारीको पक्षपोषक भएको पनि जानकारी दिँदै सञ्चारकर्मी चन्द्र भण्डारीप्रति सम्मान जनाएका थिए । साथै पिता कुवेरनाथ नेपालप्रति सम्मान जनाउदै कुवेर मनका अनुभूति नामक पुस्तकको पनि चर्चा गर्दै बुवाप्रति समर्पित कविता वाचन गरेपश्चात कवितावाचनको श्रृङ्खला अगाडि बढेको हो ।
यसैबिचमा छोरी अनुज्ञा नेपालद्वारा पेन्सिल स्केच गरिएको हजुरबुवा कुवेरनाथ नेपालको तस्विर पनि सार्वजनिक भएको थियो । छोरीहरू अनुज्ञा, प्रविज्ञाबाट शुरु भएको कवितावाचनको श्रृङ्खला लामै रह्यो । अजम प्रधान, नदी भट्टराई, गीता सुवेदी नेपाल, तीला लेकाली, भिजन गुरागाईँ, हरि नेउपाने, डिल्लीमाया नेपाल गौतम, मोक्ष खतिवडा, देवीचरण भण्डारीलगायत करिब चार दर्जन कविकवियत्रीहरूले बुवाप्रति केन्द्रित कविता वाचन गरेका थिए ।
नगरप्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ को तर्फबाट पनि अत्यन्तै समसामयिक र सान्दर्भिक भनाइहरूका साथ सकारात्मक आश्वासन प्रस्तुत भएको थियो । यसै क्रममा पारिवारिक परिचयअन्तर्गत छोराछोरी पटिका सदस्यहरूको काम, कर्तव्य, सद्भाव र अभिभावकत्वसमेत परिचय गराइएको थियो ।
अन्त्यमा आयोजकको तर्फबाट धन्यवाद ज्ञापन र कार्यक्रमको समापन कवि ज्ञानु विद्रोहीले गरेका थिए । अत्यन्तै स्थापित स्रष्टाहरूको बाक्लो उपस्थितिले कार्यक्रम भव्य र सभ्य हुनुका साथै सङ्ख्यात्मक र गुणात्मक पनि देखियो ।
प्राडा देवी नेपाल / ज्ञानु विद्रोही एवम् सम्पूर्ण नेपाल परिवारको मूल आयोजना र सताक्षीधाम साहित्य सङ्गमको सह- आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा उमानाथ दाहालको स्वागत मन्तव्य तथा प्राडा देवी नेपालको कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश तथा कवि खगिन्द्रा खुशीको सहजीकरण रहेको थियो ।
०००
– मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































