साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमरज्योति साहित्य सम्मान समर्पण गर्दै वसन्त काव्य गोष्ठी

गजलकार धीरेन्द्र प्रेमर्षिको प्रमुख आतिथ्यतामा संचालन भएको सो कार्यक्रममा विद्युतकर्मी साहित्य समाजका पूर्व उपाध्यक्ष राजु शर्माको यात्रा संस्मरणात्मक कृति ‘गन्तव्यतिर’ को लोकार्पण गरिएको थियो।

Nepal Telecom ad

काठमाडाैं, २०८१ वैशाख २३ । नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा ‘अमरज्योति सम्मान – २०८१ समर्पण’को कार्यक्रम आयोजना गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’को सभाध्यक्षतामा  नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयस्थित रुफटप हलमा सो कार्यक्रम सम्पन्न भएको हो।

संस्कृतिविद्, पत्रकार एवम् गजलकार धीरेन्द्र प्रेमर्षिको प्रमुख आतिथ्यतामा संचालन भएको सो कार्यक्रममा विद्युतकर्मी साहित्य समाजका पूर्व उपाध्यक्ष राजु शर्माको यात्रा संस्मरणात्मक कृति ‘गन्तव्यतिर’ को लोकार्पण गरिएको थियो।

सोही समारोहमा नेपाल विद्युत प्राधिकरणको सेवामा आबद्ध रहँदै साहित्य, कला र गीत/सङ्गीत क्षेत्रको स्तरोन्नतिमा समेत महत्वपूर्ण योगदान पुर्‍याएबापत तीन विधाका चार जना स्रष्टाहरूलाई सम्मानित गरिएको थियो।

उक्त कार्यक्रममा ‘अमरज्योति साहित्य सम्मान- २०८१’ बाट कवि शान्ता सुवेदी र कथाकार/ नियात्राकार राजु शर्मालाई सम्मान गरिएको थियो भने ‘अमरज्योति कला सम्मान- २०८१’ बाट उपेन्द्र शिवाकोटी र ‘अमरज्योति सङ्गगीत सम्मान- २०८१’बाट गायक रुद्रबहादुर पालुङ्वालाई सम्मान गरिएको थियो। प्रमुख अतिथि संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिले माला,दोसल्ला, सम्मान पत्र र नगद रु. पाँच हजार पाँच सहित सर्जकहरूलाई सम्मान गर्नु भएको हो।

सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिना, निर्देशक बेलप्रसाद शर्मा लगायत ने.वि. प्रा. का उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू- कुलप्रसाद पराजुली, विष्णुबहादुर सिंह, वीरेन्द्र पाठक, पुण्य घिमिरे र रामेश्वर राउत ‘मातृदास’ तथा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल समेतको उपस्थिति रहेको थियो।

सो समारोहमा आयोजित ‘वसन्त काव्य गोष्ठी’मा नेपाल विद्युत प्राधिकरण बाहिरका आमन्त्रित अतिथि कविहरू- प्रज्ज्वल अधिकारी, दुर्गाकिरण तिवारी, नारायण निरासी,अन्जना पौडेल, सोझो गाउँले, ज्ञानराज सुवेदी, पद्म दाहाल लगायतले रचना वाचन गरेका थिए।

त्यस्तै नेपाल विद्युत प्राधिकरणको सेवामा कार्यरत लक्ष्मण मण्डल, रीता खत्री र अनिल पौडेल तथा विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष त्रय- कुलप्रसाद पराजुली, पुण्य घिमिरे र रामेश्वर राउत ‘मातृदास’ को उक्त समारोहमा काव्यिक प्रस्तुति रहेको थियो। सो अवसरमा सम्मानित स्रष्ट्राहरूको तर्फबाट राजु शर्मा र रुद्रबहादुर पालुङ्वाले सङक्षिप्त मन्तव्य सहित रचना वाचन गरेका थिए।

सो कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार धीरेन्द्र प्रेमर्षिले राजनीति लडखडाउँदा साहित्यले सम्हाल्ने गरेको दृष्टान्त प्रस्तुत गरेका थिए। उन ले साहित्यिक सुकर्महरूले विविध भाषाभाषीलाई भावात्मक रूपले जोड्न सक्ने धारणा समेत राखेका थिए।

त्यस्तै ने.वि.प्रा.का कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतकर्मी साहित्यिक समाजले निरन्तर नौलो साहित्यिक कार्यक्रम आयोजना गरेर कर्मचारी वृत्तमा उदाहरणीय काम गरेकोमा प्रसन्नता जाहेर गर्दै यस्ता कार्यक्रमहरूमा आफूले सक्दो साथ र समर्थन दिँदै आएको कुरा बताएका थिए। अर्का वक्ता विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष केशवप्रसाद रुपाखेतीले राजु शर्माकृत विमोचित काव्यकृति ‘गन्तव्यतिर’ माथि सङ्क्षिप्त समीक्षा गरेका थिए।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले ‘भौतिक र भावात्मक बिजुलीको एकसाथ प्रवर्द्धन: हाम्रो अभियान’ भन्ने मूल नारालाई साकार रूप दिन विद्युतकर्मी साहित्यिक समाज निरन्तर प्रतिबद्ध रहेको विचार व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथिहरूलाई न्यानो स्वागत गरेका थिए।

यस अघि’तीन तियाँ’,’गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’ ‘लेखन प्रशिक्षण कार्यशाला’ , ‘पर्यटन साहित्य’, ‘त्वदियं वस्तु गोविन्द तुभ्ययमेव समर्पणम्’ लगायत विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रमहरू संचालन गरिसकेकोले यसपटक कर्मचारीहरूमा सिर्जनशील उत्प्रेरणा अभिवृद्धि गर्ने हेतुले सम्मान र रचना वाचनको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले सो अवसरमा जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि धीरेन्द्र प्रेमर्षि र ने.वि.प्रा.का स्रष्टा लक्ष्मण मण्डलले मैथिली भाषाका साहित्यिक सामग्री पस्किएर कार्यक्रममा बहुभाषिकता र समावेशिताको स्वाद थपेका थिए। करिब ३ घन्टासम्म सन्चालन भएको सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले गरेका थिए।

कार्यक्रमको अन्त्यमा भाषाआयोगका माननीय सदस्य मातृका पोखरेलले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए। सो अवसरमा रचना वाचनका लागि आमन्त्रण गरिएका नेपाल विद्युत प्राधिकरण बाहिरका अतिथि स्रष्टाहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x