फित्काैली डटकमनवसर्जक चौतारीको कार्यशाला र एकाइ समिति घोषणा
कार्यक्रमको मुख्य आकर्षण लघुकथा लेखन कार्यशालाको सहजीकरण सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् संस्थाका सल्लाहकार निमेष निखिलद्वारा गरियो ।
मकवानपुर, ०८१ जेष्ठ ९। नवसर्जक सहित्य चौतारी नेपालको आयोजनामा लघुकथा लेखन कार्यशाला एवम् एकाइ समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
चौतारीकी सचिव युकिसा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका, ४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सामुदायिक एवम् संस्थागत गरी मकवानपुरका २३ विद्यालयको सहभागिता रह्यो ।
कार्यक्रमको मुख्य आकर्षण लघुकथा लेखन कार्यशालाको सहजीकरण सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् संस्थाका सल्लाहकार निमेष निखिलद्वारा गरियो । अन्तरक्रियात्मक कार्यशालामा देश / विदेशका उत्कृष्ट लघुकथाको उदाहरण दिँदै लघुकथामा सूत्रात्मक, रहस्यमूलक र व्यङ्ग्यात्मक/व्यञ्जनात्मक लेखनलाई प्राथमिकता दिनुपर्ने प्रशिक्षक निखिलले बताउनुभयो ।
कार्यशालामा उपस्थित नवसर्जकले दिइएको विषयवस्तुमा आआफ्नो मौलिक कथ्यशैली प्रयोग गरी कार्यक्रम स्थलमा नै लेखिएका लघुकथा सुनाएका थिए ।
दोस्रो सत्रमा संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमले एकाइ समिति घोषणालाई सहजीकरण गर्नुभयो । यो सत्रमा तुल्सीमेहर मा.वि., बालज्योति मा.वि., आधुनिक राष्ट्रिय मा.वि., जनजागृति मा.वि., हेटौँडा एकेडेमी, प्रगति मा.वि., तासिर इङ्लिस बोर्डिङ स्कुल, नवोदय शिशु सदन, अमर मा.वि., जी.एस. निकेतन मा.वि., चन्द्रोदय मा.वि., मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, वनदेवी मा.वि., ज्योति मा.वि., हेटौँडा मोर्डन आवासीय मावि, सिद्धार्थ मा.वि., सिद्धार्थ शिशु सदन, जनज्योति मा.वि., श्रमिक मा.वि., बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल, जनप्रिय मा.वि. र ब्रह्मदिक् एकेडेमी गरी २३ विद्यालयका एक/एक जना सम्पर्क शिक्षक र एक जना विद्यार्थी संयोजक रहने गरी हरेक विद्यालयको नाममा ७ सदस्यीय नवसर्जक एकाइ समिति’ गठन गरियो ।
यसै सत्रमा संस्थाले आगामी शुक्रबारबाट जुममार्फत् सञ्चालन गर्ने नवसर्जक पाठशाला (अनलाइन प्रशिक्षण कार्यक्रम) को आइडी र पासकोड पनि प्रदान गरियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सल्लाहकार एवम् ब्रह्मदिक् एकेडेमीकी सहायक प्रधानाध्यापक अर्चना दाहालले राख्नुभयो । साहित्यिक संस्थाको तर्फबाट सिस्नुपानी मकवानपुर नेपालका अध्यक्ष राजकुमार लामिछानेले मन्तव्य राख्नुभयो । सहयोगी विद्यालय ब्रह्मदिक् एकेडेमीका प्रधानाध्यापक रामबाबु सापकोटा, प्रमुख अतिथि नवीन सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम करिब तीन घण्टा सञ्चालन भयो ।
संस्थाका महासचिव समर्पण न्यौपानेद्वारा सञ्चालन गरिएको कार्यक्रममा सल्लाहकार एवम् साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डि.बी. बर्तौलाले आभार मन्तव्य राख्नुभयो । सहजकर्ता र सहयोगी विद्यालयलाई आभार पत्र वितरण गरिएको थियो ।
ब्रह्मदिक् एकेडेमीको सभाहलमा आयोजित कार्यक्रममा सहभागीका लागि आवश्यक स्टेशनरी सौजन्य जी.एस. निकेतन मा.वि.ले गरेको थियो । चौतारीले यही जेठ ११ गते शुक्रबारदेखि तेस्रो चरणको अनलाइन साहित्यिक प्रशिक्षण अभियानलाई पुनः सञ्चालन गर्न लागिएको जानकारी गराएको छ ।
०००
– संप्रस पाैडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































