फित्काैली डटकमआख्यानकार पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ लोकार्पण
कार्यक्रममा अधिकारीको नवीनतम कथासङ्ग्रह आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, स्रष्टा एवं समीक्षक सुमन वर्षालगायतले लोकार्पण गरेका हुन्।

काठमाडाैं, २०८१ असार १९ । आख्यानकार पंचम अधिकारीको नवीनतम कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ काठमाडौँमा लोकार्पण भएको छ।
उक्त कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, स्रष्टा एवं समीक्षक सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन्।
साहित्यकार एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता सुशीला ढकाल अधिकारीको कुशल उद्घोषण, शिखा बुक्सका पुष्पराज पौडेलको स्वागत मन्तव्य र साहित्यकार एवम् समीक्षक चन्द्रा न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा आख्यानकार पाण्डेले प्रवासबाट धेरै स्रष्टाहरूका कृतिहरू आउन थालेको सन्दर्भमा पंचमको कथासङ्ग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे। उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामर्थ्य हो।’ प्रवासका एकाध स्रष्टाहरूमा मात्र यस्तो सामर्थ्य देखेको उनले प्रष्ट पारे।
त्यस्तै, समीक्षक बानियाँले हत्तपत्त कसैको प्रशंसा नगर्ने आफूले अधिकारीको कथासङ्ग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए। ‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ,’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बीजारोपण गरेको छ।’
त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन्। ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अति यथार्थवाद र जादुयी यथार्थवाद अनि अधिआख्यान (मेटाफिक्सन) को प्रयोग यस कृतिमा सफलतापूर्वक गरिएको छ।’
सङ्ग्रहमा १४ वटा कथा समावेश छन्। युरोपको सेरोफेरोमा रहेर लेखिएको यस सङ्ग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कहानी छ।
अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर, हाइस्कुले आइकन ‘लोकल हिरो’, नेताकी छोरीको गुन्डासँगको प्रेमप्रसंग ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, राजा महाराजाको कथा भन्ने ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त्य ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपिसेन्टर पालुङटार’, तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोँगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस सङ्ग्रहमा समेटिएका छन्।
शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ। यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) उपन्यास प्रकाशित छ।
०००
– दुर्गा अधिकारी भमरकाेटेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































