कवि दीपक मुडभरी ‘मित्र’को निधन
दीपक मुडभरीले निधन हुनुभन्दा अघि लेखेकाे ‘अन्तिम कविता’ एमपी पाण्डे पाण्डे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । प्रस्तुत छ मुडभरीकाे त्याे ‘अन्तिम कविता’:
मेरिल्याण्ड (अमेरिका), २०८१ असार २०। मकवानपुर हेटौंडाका कवि दीपक मुडभरी ‘मित्र’ को मेरिल्याण्डको एक अस्पतालमा उपचारको क्रममा ३ जुलाईका दिन निधन भएको छ ।
२०१८ साल पुस ८ गते मकवानपुरको हेटौंडामा जन्मिएका उनी कविता विधामा सकृय थिए । नेपालमा रहँदा उनले ‘अठोट’ त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित गरेर धेरै साहित्यकारलाई सो पत्रिका मार्फत् प्रकाशनको मञ्च प्रदान गरेका थिए ।
अठोट पत्रिकामा राष्ट्रिय स्तरका स्थापित लेखकका रचनाका साथै र स्थानिय साहित्यकारका रचनाहरुलाई समेत प्रोत्साहन दिएका थिए । उनले ‘स्थानीय कविता अङ्क’ का रुपमा केही अङ्क प्रकाशन गरेका थिए ।
उनी मकवानपुर साहित्य परिषदका संस्थापक महासचिव थिए ।
मुडभरीको कविता सङ्ग्रह भने अमेरिका गएपछि मात्र प्रकाशन हुन सक्यो । उनको एकमात्र कविता सङ्ग्रह ‘केही अस्पष्ट रेखाहरु’ २०७४ साल माघमा प्रकाशित भएको थियो ।
उनले आफ्नो कविता सङ्ग्रह प्रकाशनको सिलसिलामा नेपालमा रहँदा आफ्ना दिवंगत पिता माताको नाममा मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले व्यवस्थापन गर्ने गरी ‘सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार’ स्थापना गरेका थिए र यो बर्सेनि प्रदान गरिँदै आएको छ ।
उनलाई साहित्य संगम नुवाकोटले ‘संगम साहित्य पुरस्कार एवम् सम्मान २०८१’ प्रदान गरिएको थियो र सो सम्मान साहित्यकार एमपी पाण्डेले नुवाकोटमा ग्रहण गरेका थिए ।
उनी आफ्नो दोश्रो कवितासङ्ग्रह “केही अतृप्त स्पर्शहरु” प्रकाशनको तयारीमा थिए ।
दीपक मुडभरीले निधन हुनुभन्दा अघि लेखेकाे ‘अन्तिम कविता’ एमपी पाण्डे पाण्डे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । प्रस्तुत छ मुडभरीकाे त्याे ‘अन्तिम कविता’:
अन्तिम कविता
दिपक मुडभरी
आजसम्म
कविताको नाममा
जे जति लेखेँ, जे जस्तो लेखेँ
त्यो मेरो रहर थियो
त्यो मेरो बानी थियो
त्यही त मेरो जिन्दगानी थियो।
तर हिजोआज
आफ्नै मुटु थामेर बस्नु परेको छ
संंसारभरीका भिन्नभिन्न
छिन्नभिन्न मुटुहरूलाई
कविता मार्फत जोड्न रहर गरिरहने
मेरा रहर लाग्दा,रहरहरूलाई….।
खोइ !
कुन हरफ अन्तिम हुने हो ?
मेरा कविताहरूको
क्षतिग्रस्त मुटुको अवरुद्ध गति
लय भाँडिएको धड्कनले
मेरो श्वासप्रश्वास सुचारु गर्न नसकिरहेको बर्तमानमा
यो दिग्भ्रमित अधुरो मगजले
सकि नसकी
विम्ब र प्रतिबिम्बहरूको
शल्यक्रिया गरिरहँदा।
लेख्न त मन छैन
नलेखी पनि भएको छैन
अन्तिम कविताका हरफ
अन्तिम यात्राको संकेत
उ बेला सानोमा कपर्दी खेल्दै गर्दा
धाँजा धाँजा पाछिएको जाघ्या झै
पाछिएको मुटुलाई
डाक्टरहरूको चुच्चो सियोले
सिलाउने प्रयास गर्दागर्दैको
फुर्सदिलो समयमा
एक तमास धड्किरहेछन्, धड्की नै रहेछन्
मेरा अर्धमुर्छित सिरा र धमनीहरू
जीवन र मृत्युको अन्तिम युद्धमा
स्वयमका संवेदित आँखाहरूले पत्याउनै नसकिने गरी।
अन्तत:
मैले लेख्ने निधो गरेँ
जिन्दगीका कटु सत्य
तितामिठा भोगाईहरू
मिठा नमिठा अनुभूतिहरू
आँखाको डिल नाघेर
भीर,पाखो,छॅागो हुँदै बगेको
कालीगण्डकीको अन्तिम रहस्य
एवम
आफ्नै ताल, आफ्नै सुर
आफ्नै लयमा जलिरहेको दिपकको
दियालोमाथि तेल सकिँदै गरेको शाश्वत सत्य
जीवन-मरणका वर्णमालाबाट
अकल्पनिय मृत्युको प्रतीक टिपेर
हाँसीहाँसी जित्न खोज्दैछु त्यहीँ मृत्युलाई
कस्लाई के थाहा जय पराजयका कुरा त
आखिर
रहरले को लेख्दो हो
कस्लाई लेख्न रहर लाग्दो हो
आफ्नै जिन्दगीका
अन्तिम वाक्य
अन्तिम हरफ
अन्तिम कविता।
०००
२०८१/०३/०५
मकवानपुर, हेटौडा
हाल, अमेरिकाको मेरील्याण्ड
(एमपी पाण्डेकाे सहयाेगमा फित्काैली डेस्क)
Subscribe
Login
0 Comments
Oldest