फित्काैली डटकममोती जयन्तीको अवसरमा विविध साहित्यिक कार्यक्रम
संस्थाका अध्यक्ष कवि इन्द्रनारायण सुवेदीको अध्यक्षता, आमन्त्रित अतिथि आख्यानकार पुण्य खरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा तोयानाथ भट्ट्राई, सञ्चारकर्मी चन्द्र भण्डारी, लेखनाथ पुस्तकालयका कार्यबाहक अध्यक्ष कवि खगिन्द्रा खुशीलगायतकाे सहभागिता थियाे ।

इलाम / १७ भदौ २०८१ अर्थात् २ सेक्टेम्बर २०२४ सोमबार इलाम नगरपालिकास्थित अरनिको सङ्ग्रहालयको सभा कक्षमा एउटा साहित्यिक कार्यक्रम सम्पन्न भयो ।
नेपाली साहित्यका माध्यमिककालीन स्रष्टा युवा कवि मोतीराम भट्टको १५९ औँ जन्मजयन्तीको अवसरमा कृति लोकार्पण, स्रष्टा सम्मान र रचनावाचन पनि सम्पन्न भयो ।
संस्थाका अध्यक्ष कवि इन्द्रनारायण सुवेदीको अध्यक्षता, आमन्त्रित अतिथि आख्यानकार पुण्य खरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा तोयानाथ भट्ट्राई, सञ्चारकर्मी चन्द्र भण्डारी, लेखनाथ पुस्तकालयका कार्यबाहक अध्यक्ष कवि खगिन्द्रा खुशी, प्रलेशका महासचिव डा.देवी क्षेत्री दुलाल, इलाम नगर भाषा, साहित्य – कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ, प्राज्ञद्वय कोमल निरौला र रविमान लम्जेल, सूर्योदय सामाजिक प्रतिष्ठान फिक्कलका अध्यक्ष देवीप्रसाद गौतम, तेराख प्रतिष्ठान, धूलाबारी झापाका अध्यक्ष शिव पौड्याल, कवि डिल्लीप्रसाद सुवेदी, कवि नदी भट्टराई, विमल वैद्य, तुलाराम पुरी, मरब क्याम्पसका सेवा निवृत्त उपप्राध्यापक केशबहादुर राई, कवि गणेश निरौला, दीवाकर भण्डारी, कुलप्रसाद ढकाल , कवि टीका घिमिरेलगायत विशिष्ट अतिथि तथा अतिथि रहेका थिए ।
अतिथि आशनग्रहणपछि समूहबाट राष्ट्रगान गाएर देशलाई सम्झने काम भयो । स्वस्तिक वाचनसहितको दीप प्रज्ज्वलन र बुद्धिप्रसाद घिमिरेको तस्बिरमा माल्यार्पण गरी मञ्चासिन अतिथिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने भर्खरै दिवङ्गत हुनुभएका सङ्गीतकार राम दीयाली र ज्ञातअज्ञात स्रष्टाहरूको नाममा करिब एक मिनट मौनधारण गरिएको थियो ।
बुद्धि घिमिरे स्मृति प्रतिष्ठानकी संरक्षिका कवि टीका घिमिरेद्वारा लिखित छैटौँ कृति “अनुस्मृति ” कवितसङ्ग्रहको विमोचन भयो । त्यसो त कार्यक्रममा तीन जना व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरूमा मरब क्याम्पसको स्नातक कक्षाबाट नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याई पास गर्ने छात्रा विष्णुमाया घिमिरे र स्रष्टाद्वय होम सुवेदी र खोलाघरे साहिँलो अर्थात् गङ्गाप्रसाद अधिकारी रहेका थिए । यी तीन जना र मोतीराम भट्टकोसमेत परिचय कवि दीवाकर भण्डारीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्यसहितको रचनावाचन पनि सम्पन्न भयो । सञ्चारकर्मी चन्द्र भण्डारीले सिर्जनालाई सीमाले छेक्दैन त्यसैले भारतीय भूमिका नेपाली स्रष्टाहरूलाई पनि उपस्थिति गराउनुपर्नेमा जोड दिँदै कृतिकार टीका घिमिरेलाई शुभकामना दिएका थिए । तेराख प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद पौड्याल, प्रकाश थाम्सुहाङ र देवी क्षेत्रीले आफ्ना ओजपूर्ण भनाइ राखेका थिए ।
सूर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमले साहित्यमा आफू सामान्य पाठक भएको र यसरी साहित्यिक कार्यक्रममा सहभागी हुन पाएकोमा गर्वबोध गर्दै पञ्चचामर छन्दको एउटा रचना प्रस्तुत गरे ।
सम्मानित व्यक्ति खोलाघरे साहिँलोबाट मन्तव्य राखिएको थियो भने प्राज्ञ कोमल निरौलाट गीत प्रस्तुत गरिएको थियो । कवि कुलप्रसाद ढकालबाट पनि मोतीराम भट्टको बारे विचार प्रस्तुत भएको थियो ।
अनुस्मृति कवितासङ्ग्रहको आवरण निर्माण गर्ने भाइ आरोह घिमिरेको शुभजन्मोत्सवको अवसरमा सबैले सिर्जनशील तथा जन्मदिनको शुभकामना प्रदान गरिएको थिए । त्यसैगरी रचना प्रस्तुत गर्नेहरूमा – रेनुका पोखरेल, पवित्रा घिमिरे, टीका घिमिरै, डिल्लीप्रसाद सुवेदी, नदी भट्टराई, खगिन्द्रा खुशी, गणेश निरौला, ईश्वरी तामाङ, कुमार पौड्याल, विमल वैद्य र प्रतिभा पौड्याललगायतका करिब दुई दर्जन स्रष्टाहरू रहेका थिए ।
समग्रमा कार्यक्रम ठीकै भयो । आमन्त्रित स्रष्टाहरूको यात्रा दूरी, बोल्ने विषयवस्तु , र समय मितव्ययीता आदिको बारेमा भने बौद्धिक वर्गबाट नै उल्लङ्घन भने नगरिएको होइन । आफैँ आदर्शको पाठ सिकाउनेहरूले समय र विषयवस्तुको फजुल खर्च गरेर अरू टाढाबाट आउनेहरूलाई तालीको खेताला मात्र सम्झने मानसिकताको प्रवृत्ति कहिले परिवर्तन होलान् ? ठुलाले विषयेत्तर भएर बोल्दा खर्च भएको समय सारगर्भित भनाइ सानाले सामान्य परिचय दिँदा लागेको समय चाहिँ फजुल खर्च ? वाहा ! समय राम्रै सिकाएर जान्छौ र म मख्ख परेको छु । सम्मानित व्यक्तिहरू , सिर्जनशील भाइ आरोह र कृतिकार आदरणीय कवि टीका घिमिरेलाई पनि यो पङ्तिकारको तर्फबाट हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।
बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठान इलामको आयोजनामा सम्पन्न कार्यक्रममा कवि इन्द्रनारायण सुवेदीको अध्यक्षता, लोकगायक देवी गौतमको स्वागत मन्तव्य र सचिव स्रष्टा जीवनहरि शर्माको सहजीकरण रहेको थियो ।
०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest





































