फित्काैली डटकमखेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रा. गौतम, प्रा.डा. माथेमा र चाम्लिङ पुरस्कृत
वि. सं. २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई, पद्मश्री साधना सम्मान पवनकुमार चामलिङलाई तथा पद्मश्री गौरव प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

काठमाडौं, २०८१ कार्तिक ७ । वि. सं. २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई, पद्मश्री साधना सम्मान पवनकुमार चामलिङलाई तथा पद्मश्री गौरव प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरिएको छ ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भए पनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको ठहर गर्दै “अद्वैत”लाई पुरस्कृत गर्ने निर्णय गरिएको थियो ।
त्यस्तै, नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहुनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक पवनकुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गरिएको छ ।
त्यसैगरी समतामूलक समाज निर्माणका लागि निरन्तर योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदार भक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गरिएको छ ।
यी पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समर्पण गर्नुभएको थियो । तीनै पुरस्कार तथा सम्मानको राशि तीन लाख रुपैयाँ रहेको छ ।
‘पद्मश्री साहित्य पुरस्कार’द्वारा पुरस्कृत कृष्ण गौतम:
ज्ञानको कुनै सीमा हुँदैन, यो बहुआयामिक हुन्छ । एकतर्फी ज्ञान मात्रले ज्ञानको गहिराई नाप्न सकिदैन । समालोचक एवं प्राध्यापक कृष्ण गौतमले ज्ञानका बहु आयाम छिचोल्नु भएको तथ्य उहाँको आख्यानात्मक कृति ‘अद्वैत’ पढेपछि स्पष्ट हुन्छ । पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका विज्ञ गौतमको यो कृतिले नेपाली आख्यान विधाकै उचाई तथा गरीमा बढाएको छ । द्वैत,अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एकै रहेको तथा विश्वास, मत र मार्गहरु अनेक भए पनि मुहान एक रहेको व्याख्या उहाँको उपन्यासको परिशुद्ध नौनी हो । मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापनाको विषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा ‘अद्वैत’ उपन्यास लेखिएको छ । समालोचनात्मक र आख्यानात्मक दर्जन बढी पुस्तक लेख्नुभएका सर्जक गौतमले नेपाली साहित्यलाई लगाउनु भएको गुन चीर कालसम्म स्मरणीय रहनेछ । समालोचक, सर्जक र साधक गौतमको कृति ‘अद्वैत’लाई पद्यमश्री साहित्य पुरस्कारबाट सम्मानित गर्न पाउँदा हर्षित रहेकाे सन्दर्भ जीव लामिछानेले उल्लेख गर्नु भएकाे छ ।
‘पद्मश्री गौरव पुरस्कार’बाट सम्मानित केदारभक्त माथेमाः
पद्मश्री गौरव पुरस्कारबाट पुरस्कृत हुनुहुने त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत, नागरिक समाजका अभियन्ता आदरणीय गुरु श्री केदारभक्त माथेमा समतामूलक समाज निर्माणका लागि समर्पित अथक शिक्षासेवी हुनुहुन्छ । २३ वर्षको उमेरदेखि नै त्रिचन्द्र कलेजमा पढाउन थाल्नुभएका ‘माथेमा सर’ कालान्तरमा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको प्रमुख बन्नुभयो ।
२०४७ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति रहँदा गुणस्तरीय शैक्षिक विकास र प्राज्ञिक स्वतन्त्रताको पक्षमा योगदान गर्नुभएका प्राध्यापक माथेमाले दलिय वफादारिता र भागबण्डालाई कहिल्यै प्रश्रय दिनुभएन ।
चार महान शहीदमध्येका एक धर्मभक्त माथेमाकै परिवारको सदस्य भएकाले प्राध्यापक माथेमामा विद्रोही चेत पनि झल्कन्छ र शैक्षिक सुधारका पक्षमा उहाँको बोली र व्यवहार प्रखर रुपमा प्रकट भइरहेको हुन्छ । अहिले पनि हाम्रो दृष्टिमा उहाँ एक असल, कुशल, निर्भिक र सहृदयी ‘गुरु’ हुनुहुन्छ । आफ्नो विचारमा स्पष्ट रहने ज्ञानका खानी, चिन्तनका चास्नी र विचारका बेजोड प्रतिभा प्राध्यापक केदारभक्त माथेमालाई ‘पद्मश्री गौरव पुरस्कार’ प्रदान गर्न पाउँदा हामी आफै गौरवान्वित भएकाे जीवा लामिछानेले बताउनु भएकाे छ ।
‘पद्मश्री साधना सम्मान’द्वारा सम्मानित पवनकुमार चाम्लिङः
भूगोल या राजनीतिले मानिसलाई भिन्न तुल्याउनसक्छ । तर, भाषा र संस्कृतिले मानिसको मन, भावना र आत्मालाई सदा जोडिरहेको हुन्छ । विश्वभरीका नेपाली भाषीले सम्मानपूर्वक लिने र गौरव गर्ने नाम हो, श्री पवनकुमार चामलिङ ।
सर्जक चामलिङको सिंगो जीवन नै साधनाको पयार्य बन्न पुगेको छ । भारत, सिक्कीम राज्यमा लगातार २४ वर्ष मुख्यमन्त्री रहँदा लेखक, कवि एवं चिन्तक चामलिङकै पहलमा स्थापना भएको ‘निर्माण प्रकाशन’ले नेपाली भाषा र साहित्यको श्रवृद्धिमा पुर्याएको योगदान अतुलनीय छ, जसको साहित्यिक सुवास विश्वभरीका नेपालीमाझ फैलिएको छ ।
नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा अनवरत रुपमा सक्रिय रहनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक पवनकुमार चामलिङलाई पद्मश्री साधना सम्मानबाट सम्मानित गर्न पाउँदा अत्यन्त खुशी लागेकाे लामिछानेले बताउनु भएकाे छ ।
०००






































आहा कति राम्रो काम !
धेरै बधाई छ पुरस्कृत हुने र पुरस्कृत गर्ने सबैलाई