साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. बस्ताकोटीको ‘पानीको रङ’ कविता कृति विमोचित

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञहरू बाबा बस्नेत र डा. कृष्णराज अधिकारी र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले कविता सङ्ग्रह विमोचन गरेका हुन् ।

Nepal Telecom ad

काठमाडौं, ३० कात्तिक । साहित्यकार डा. ऋषि बस्ताकोटीको कविता सङ्ग्रह ‘पानीको रङ’ विमोचन गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञहरू बाबा बस्नेत र डा. कृष्णराज अधिकारी र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले कविता सङ्ग्रह विमोचन गरेका हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताए । कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताए ।

उनले अगाडि थपे, ‘कवि भएपछि कविता कोर्न छाड्न हुँदैन र सकिंदैन पनि, यसकै परिणाम हो ‘पानीको रङ’ ।’

साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेका कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएको बताए । ‘म आफैँ पर्यावरणसम्बन्धी पेसामा आबद्ध भए पनि मेरो परिवारको सहयोग र साथीभाइको हौसलाले यो सङ्ग्रह निकाल्न सकेको हुँ । मैले विभिन्न समय र कालखण्डमा लेखिएका कवितालाई अबचाहिँ पुस्तकको स्वरूप दिनुपर्छ भन्ने लागेर सङ्ग्रह निकालेको हुँ । यसले मलाई कविको रूपमा अगाडि बढाउन मद्दत गर्छ भन्ने विश्वास छ’, उनले भने ।

कविता सङ्ग्रह ‘पानीको रङ’ का विषयमा हरिहर तिमिल्सेना, राजकुमार बानियाँ र राधिका कल्पितले समीक्षा गरेका थिए । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा कृष्णराज अधिकारीले कविता सङ्ग्रहको चर्चा गर्दै शुभकामना दिएका थिए ।

शिखा बुक्सले प्रकाशन गरेको कविता सङ्ग्रहमा ४० वटा कविताहरू सङ्ग्रहित छन् । बस्ताकोटीका कवितामा जीवन दर्शन, प्रकृति प्रेम, प्रवास लगायतका विषय समेटिएका छन् ।

सामाजिक यथार्थवादी धारका लेखक बस्ताकोटी प्रकृति संरक्षणका एक अभियन्ता पनि हुन् । कवि, गजलकार तथा मुक्तककारको परिचय बनाएका उनका दर्जन बढी गीतहरू रेकर्ड भइसकेका छन् ।

क्यानडाको क्यालगेरी विश्वविद्यालयबाट क्यानडा सरकारको प्रतिष्ठित भ्यानियर छात्रवृत्तिसहित वातावरणीय नीति विषयमा विद्यावारिधि गरेका बस्ताकोटी अहिले अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रूपमा कार्यरत छन् ।

यसअघि उनका ‘ज्वालाका रापहरू’ गजल सङ्ग्रह, ‘स्पर्श गजल’ एल्बम र ‘विसंगत बस्ती’ मुक्तक सङ्ग्रह प्रकाशित छन् । बस्ताकाेटी फित्काैली डटकमकाे प्रारम्भदेखि नै बेलाकाे बाेली स्तम्भमा नियमित व्यङ्ग्यात्मक मुक्तकहरू लेखिरहेका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x