सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लालबन्दी साहित्य महोत्सव-२०८१मा चार कृतिको लोकार्पण, घिमिरे, भण्डारी र श्रेष्ठ पुरस्कृत

'लालबन्दी साहित्य महोत्सव-२०८१'का प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गर्नु भएको थियो।

Nepal Telecom ad

सर्लाही, लालबन्दी । २०८१ मङ्सिर १५ । लालबन्दी नगर वाङ्‌मय परिषद्द्वारा आयोजित ‘लालबन्दी साहित्य महोत्सव-२०८१’का प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गर्नु भएको थियो।

उक्त महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले अहिले देशभर खुलेका प्रतिष्ठानहरू जनताको लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको गणतन्त्रात्मक व्यवस्थाको परिणाम भएको बताउनु भएको थियोे । उहाँले प्रज्ञा-प्रतिष्ठानको ६७ वर्षे इतिहासमा केही भएन भन्ने गुनासाहरूलाई चिर्न आफैँले विद्यार्थीसँग कुलपति कार्यक्रमलाई अघि सारेको बताउनु भएको थियो।

उहाँले स्थानीय तहमा गठन भएका प्रतिष्ठानहरूलाई केन्द्रसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउँदै स्थानीय स्तरका अध्येयताहरूलाई अघि सारेर भाषा, साहित्य, कला र संस्कृतिको प्रबर्द्धनमा लाग्न आग्रह गर्नु भएको थियोे। उहाँले स्थानीय तथा प्रदेश स्तरमा गठन भएका विभिन्न प्रतिष्ठानलाई केन्द्रीय प्रतिष्ठानसँग जोड्न आवश्यक रहेको र त्यसको लागि कार्य अघि बढाइएको बताउनुभएको थियो। तिनलाई जोड्न निकै चुनौतीपूर्ण रहेको कुरा कुलपति राईले उल्लेख गर्नु भएको थियो।

महोत्सवमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति राई, लालबन्दी नगरपालिकाका नगरप्रमुख एवम् लालबन्दी नगर वाङ्गय परिषद्‌का प्रमुख संरक्षक बासुदेव अधिकारी र लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले संयुक्त रूपमा रचना द्वैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य रोचक घिमिरे र अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक तथा उपन्यासकार अखण्ड भण्डारीलाई पुरस्कार तथा पत्रकार शङ्कर श्रेष्ठलाई सम्मान समर्पण गरिएको थियो।

वाङ्मय परिषद्ले घिमिरेलाई ५० हजार राशिको कृष्णलाल स्मृति पुरस्कार र भण्डारीलाई ‘बोरा’ उपन्यासका लागि नगद ५० हजार राशिको भाषा साहित्य पुरस्कार तथा श्रेष्ठलाई २५ हजार राशिको स्थानीय प्रतिभा सम्मान -२०८१ समर्पण गरिएको थियो ।

पुरस्कृत प्रतिभा घिमिरेले कृष्णलाल अधिकारीको योगदान र अखण्ड भण्डारीले ‘बोरा’ उपन्यास लेखन, परिवेश र पात्रबारे धारणा राख्नु भएको थियो ।

महोत्सवका विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले आफ्नो शुभकामना मनतव्यमा लालबन्दी वाङ्मय परिषद् गठन भएयता महत्त्वपूर्ण प्राज्ञिककर्म र गतिविधि गर्दै प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीको नाममा पुरस्कार स्थापना गर्नु भनेको यस परिषद्ले महत्त्वपूर्ण कार्य गरेको बताउनु भएको थियो। धमलाले आफ्नो धारणा राख्ने क्रममा साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कारबाट पुरस्कृत वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र उक्त बाङ्मय पुरस्कारबाट पुरस्कृत ‘बोरा’ उपन्यास र तिनका सर्जक पत्रकार एवम् उपन्यासकार अखण्ड भण्डारी र वाचित रचना बारे लघुत्तम टिप्पणी गर्नुभएको थियो ।

अर्का विशिष्ट अतिथि बर्दघाट प्रज्ञा-प्रतिष्ठानका कुलपति प्राडा घनश्याम न्यौपाने परिश्रमीले गजल वाचन गर्दै लालबन्दी वाङ्मय परिषद्का प्राज्ञिक कामलाई आफूले आत्मसात् गर्दै अनुशरण गर्ने बताउनु भएको थियो ।

उक्त महोत्सवका सभाध्यक्ष,नगर वाङ्मय परिषद्का प्रमुख संरक्षक, लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले स्थानीय भाषा, साहित्य ,संस्कृति र कलालाई केन्द्रसँग जोड्न नगर वाङ्मयले अहम भूमिका खेलेको बताउनु भएको थियो। उहाँले स्थानीय वाङ्मयसँग जोडिएका यहाँका साहित्यकारहरूले लालबन्दीलाई सङ्घीय केन्द्रसँग मात्रै नभई देश विदेशमा समेत परिचित गराउन भूमिका खेलेको बताउनु भएको थियो ।

उक्त महोत्सवमा सुमन घिमिरे अग्रिमको कवितास‌ङ्ग्रह ‘प्यालासँग कविता’ र जीवनीसङ्ग्रह ‘समाजसेवामा अधिकारी’, विवश पौडेलको गजलसङ्ग्रह ‘धर्तीको जून’, देवराज पौडेलको कथास‌ङ्ग्रह ‘मानवता हराएका सहरहरू’को लोकार्पण गरिएको थियो।

लालबन्दी साहित्य महोत्सवका अतिथिहरू रोचक घिमिरे, भूपिन खड्का, निमेष निखिल, प्रतीक घिमिर, सुरेश सुवेदी, निरन्जना चन्द, भाष्कर कार्की, रमेश भट्टराई सहृदयी, पूर्णकला घिमिरे, यस लामा, गजलकार सुमित्रा आचार्य, कुमार दाहाल कुसुम र केशव समर्पण लगायतले कविता तथा गजल वाचन गर्नु भएको थियो । उक्त महोत्सवमा विभिन्न सांस्कृतिक झाकीहरू समेत प्रदर्शन गरिएको थियो ।

लालबन्दी वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले लालबन्दी साहित्य महोत्सव-२०८१ , यसको गठन, उद्देश्य, प्रबर्द्धित पुरस्कार, सम्मान र प्राज्ञिक कार्य बारे जानकारी दिनु भएको थियो । स्वागत मनतव्य लालबन्दी नगर बाङ्मय परिषद्का कोषाध्यक्ष विवश पौडेल र उद्घोषण कम्युनिटी वेयलफियर एकेडेमी स्कुलका संस्थापक प्रिन्सिपल सुदीप कार्कीले गर्नु भएको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x